‘दसैँले साहित्यलाई बिम्ब, प्रतीक, कथा र चरित्रहरू दिएर समृद्ध बनाएको छ’
दसैँ केवल एक धार्मिक चाडमात्र होइन, यो नेपाली समाजको सांस्कृतिक, सामाजिक र भावनात्मक जीवनको अभिन्न अङ्ग हो । परापूर्व कालदेखि चल्दै आएको यो पर्वले आफ्नो छुट्टै सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको छ । यसको प्रभाव केवल पूजापाठ र पारिवारिक जमघटमा मात्र सीमित छैन । यसले नेपाली साहित्यको सिर्जना, विषयवस्तु र बिम्ब निर्माणमा पनि गहिरो र बहुआयामिक प्रभाव पारेको छ ।
लोकसाहित्यदेखि आधुनिक सिर्जनासम्म दसैँले नेपाली वाङ्मयलाई विभिन्न रूपमा समृद्ध बनाएको छ– कहिले उत्सवको उल्लास बनेर, त कहिले सामाजिक यथार्थको तितो ऐना बनेर ।
साहित्यमा दसैँको प्रभाव बुझ्नुअघि यसको सांस्कृतिक जरा बुझ्न आवश्यक छ । दसैँको महत्त्व धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणबाट स्थापित छ । यसका पछाडि मुख्य दुई पौराणिक आख्यान जोडिएका छन् । देवताहरूको आग्रहमा महाकाली, महासरस्वती र महालक्ष्मीको संयुक्त शक्तिबाट प्रकट भएकी दुर्गा माताले महिषासुर नामक राक्षसको वध गरी सत्यको विजय स्थापना गरेको प्रसङ्ग दसैँको मूल आधार हो । यही विजयको उत्सवका रूपमा दुर्गाको आराधना गर्दै दसैँ मनाइन्छ ।
अर्को प्रसङ्गअनुसार, भगवान् रामले रावणसँगको युद्धमा विजय प्राप्त गर्न दुर्गा देवीको आराधना गरेका थिए र दशमीकै दिन रावणको वध गरेका थिए । यसरी असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा पनि दसैँ मनाउने परम्परा रहेको मानिन्छ । यी दुवै प्रसङ्गले ‘असत्यमाथि सत्यको विजय’ को साझा सन्देश दिन्छन्, जुन नेपाली साहित्यमा बारम्बार प्रयोग हुने एक शक्तिशाली बिम्ब हो ।
दसैँको साहित्यिक सम्बन्ध सबैभन्दा पहिले लोकजीवनमा रचिएका गीत, उखान र लोककथामा भेटिन्छ । यी सिर्जनाले दसैँप्रतिको सामाजिक दृष्टिकोणलाई सरल र स्पष्ट रूपमा व्यक्त गर्छन् ।
‘दसैँ आयो, खाउँला पिउँला, कहाँबाट ल्याउँला, चोरी ल्याउँला...’ यो लोकगीतले दसैँको आगमनसँगै आउने खुसी र खानपिनको रहरलाई देखाउँछ, तर सँगसँगै त्यसका लागि स्रोत जुटाउनुपर्ने बाध्यतालाई पनि व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्छ ।
‘आयो दसैँ ढोल बजाइ, गयो दसैँ ऋण बोकाइ’ यो उखानले दसैँको उल्लासपूर्ण आगमन र उत्सव सकिँदा थपिने आर्थिक भारको यथार्थलाई सटिक रूपमा चित्रण गर्छ । यी लोकसिर्जनाहरूले दसैँ केवल खुसीमात्र नभई सामाजिक र आर्थिक दबाबको प्रतीक पनि हो भन्ने कुरालाई प्राचिन समयदेखि नै स्विकारेको देखाउँछ ।
नेपाली साहित्यको विकासक्रमसँगै दसैँको चित्रण पनि परिष्कृत र बहुआयामिक हुँदै गएको छ । माध्यमिककालीन साहित्यमा लेखनाथ पौड्यालले आफ्नो कवितामा ‘हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा, भवानीको भयो पूजा, चल्यो आनन्दको वर्षा’ भन्दै दसैँको रमणीय परिवेशलाई उतारेका छन् । यो मालश्री धुनमा आधारित रचना आज पनि दसैँको पर्याय बनेको छ ।
यस्तै, आधुनिक कालमा भूपि शेरचनको ‘दसैँ’ कविताले दसैँलाई हेर्ने दृष्टिकोणमा क्रान्तिकारी परिवर्तन ल्यायो । उनले दसैँलाई हुनेखाने वर्गको उत्सव र हुँदाखाने वर्गका लागि ‘दशा’ का रूपमा चित्रण गर्दै सामाजिक यथार्थको पर्दाफास गरे । यसबाहेक, वर्तमान समयका चलचित्रका गीतहरूमा पनि दसैँको उल्लासलाई प्रमुख विषय बनाइएको पाइन्छ ।
बालकृष्ण सम, भीमनिधि तिवारीजस्ता नाटककारहरूले आफ्ना सिर्जनामा दसैँको परिवेशलाई जीवन्त बनाएका छन् । भीमनिधि तिवारीको एकाङ्की ‘टीका’ मा दसैँको पारिवारिक जमघट, मान्यजनबाट टीका थाप्ने परम्परा र त्यसभित्रको सामाजिक सम्बन्धलाई मार्मिक रूपमा देखाइएको छ । दसैँ साहित्यका लागि बिम्ब र प्रतीकको उर्वर भूमि बनेको छ । दुर्गा, महिषासुर, राम, रावणजस्ता पात्रहरू सत्य–असत्य र धर्म–अधर्मका प्रतीकका रूपमा प्रयोग हुन्छन् । ‘अष्टमीको बोको हुनु’ भन्ने उखानले कुनै निश्चित सङ्कटको सिकार हुनुपर्ने नियतिलाई दर्शाउँछ, जुन दसैँसँगै विकसित भएको शक्तिशाली बिम्ब हो ।
_i9LCGkw4pv.jpg)
समयसँगै साहित्यकारहरूले दसैँको उल्लासपूर्ण पाटोमात्र नभई यसभित्र लुकेका सामाजिक विकृति र आर्थिक दबाबलाई पनि उजागर गर्न थालेका छन् । दसैँले कसरी सामाजिक असमानतालाई प्रगाढ बनाउँछ भन्ने विषय यथार्थवादी साहित्यको प्रमुख चिन्ता बनेको छ । ऋण काढेरै भए पनि दसैँ मनाउनुपर्ने सामाजिक बाध्यताले धेरै परिवारलाई सङ्कटमा पार्छ । यो विषयलाई साहित्यकारहरूले आफ्ना कथा, कविता र निबन्धमार्फत उठाएका छन् । दसैँलाई सामाजिक प्रतिष्ठा देखाउने माध्यमका रूपमा प्रयोग गर्दा यसले अनुत्पादक खर्च र अनावश्यक प्रतिस्पर्धा बढाएको छ । हुनेखाने वर्गका लागि दसैँ उल्लासको प्रतीक बन्दा निमुखा र गरिब वर्गका लागि यो पीडा र अभावको समय बन्न पुग्छ । भूपि शेरचनको कविताले यही यथार्थलाई सशक्त रूपमा प्रस्तुत गर्छ ।
यसरी साहित्यले दसैँलाई केवल ‘महान् चाड’ का रूपमा मात्र नभई एक सामाजिक र आर्थिक परिघटनाका रूपमा विश्लेषण गरेको छ, जसले समाजको वास्तविक चित्र देखाउन मद्दत गर्छ । दसैँले नेपाली साहित्यमार्फत आफ्ना सांस्कृतिक पहिचानहरूलाई जीवित राखेको छ । जमरा, टीका, लिङ्गे पिङ, रोटे पिङ, चङ्गा, चाकाचुली जस्ता दसैँसँग जोडिएका सांस्कृतिक अवयवहरू कथा, कविता र विशेषगरी बालसाहित्यमा प्रशस्त मात्रामा भेटिन्छन् । जब साहित्यले यी विषयलाई समेट्छ, तब नयाँ पुस्ताले आफ्नो संस्कृति र परम्पराबारे जानकारी पाउँछ । यसरी साहित्यले दसैँको सांस्कृतिक महत्त्वलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने पुलको काम गरेको छ ।
अन्त्यमा भन्नुपर्दा दसैँ र नेपाली साहित्यको सम्बन्ध अन्योन्याश्रित र गहिरो छ । साहित्यले दसैँलाई विषयवस्तु मात्र बनाएको छैन, दसैँले पनि साहित्यलाई बिम्ब, प्रतीक, कथा र चरित्रहरू दिएर समृद्ध बनाएको छ । उल्लास, पुनर्मिलन र सद्भावको पर्वका रूपमा दसैँको महिमागानदेखि लिएर यसले सिर्जना गर्ने सामाजिक–आर्थिक दबाब र विकृतिको आलोचनासम्म, नेपाली साहित्यले दसैँका सबै रङहरूलाई कुशलतापूर्वक समेटेको छ । त्यसैले, दसैँ नेपाली समाजको ऐना हो भने, साहित्य त्यो ऐनालाई थप प्रस्ट र विस्तृत रूपमा देखाउने शक्तिशाली माध्यम हो । समय बदलिँदो छ र भविष्यमा पनि साहित्यले दसैँप्रतिको परिवर्तित सामाजिक दृष्टिकोणलाई इमानदारीपूर्वक अभिलेखीकरण गर्दै जानेछ ।
(समालोचक तथा सहित्यकार कट्टेलसँगको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
-
सुदूरपश्चिम कांग्रेसभित्रको विवाद सुल्झाउन केन्द्रीय नेता धनगढीमा
-
पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण
-
के हुन्छ दिनहुँ कागती पानी पिउँदा ?
-
डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण