चुनौतीलाई अवसरमा बदल्न सफल श्रीधर
सारांश
- श्रीधर अधिकारी, एक गायक र संगीतकार, कोभिड महामारीको समयमा काठमाडौं गएर चुनौतीलाई अवसरमा परिणत गरे।
- उनले आफ्नो पहिलो लोकदोहोरी गीत 'ख्याल ख्यालमै पिरती' र अन्य हिट गीतहरू बजारमा ल्याए, जसले उनलाई प्रसिद्धि दिलायो।
- अहिले, उनी गीत-संगीतको साथै काठमाडौंमा 'चिया संगीत' क्याफे व्यवसायमा पनि सक्रिय छन्, जहाँ कलाकारहरूको जमघट हुन्छ।
बुटवल । गीत–सङ्गीत क्षेत्रमा सक्रिय श्रीधर अधिकारी चुनौतीलाई अवसरमा बदल्न सफल एक सर्जक हुन् । गायन, गीत लेखन र सङ्गीतमा पनि उत्तिकै क्रियाशील उनी निरन्तरको सङ्घर्षबाट मात्र कुनै पनि क्षेत्रमा सफलता हात पार्न सकिन्छ भन्ने मान्यता बोक्छन् ।
२०५४ सालमा स्याङ्जाको गल्याङ नगरपालिका–११ मा जन्मिएका उनी सानैदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा रुचि राख्थे । २०७२ सालमा स्याङ्जाबाट बुटवल झरेपछि लुम्बिनी कला केन्द्रमा उनले सौगात सागरसँग सङ्गीत सिक्न थाले । सोही समयमा उनी लुम्बिनी वाणिज्य क्याम्पसमा बीबीएस अध्ययन थाले ।
त्यसपछि बुटवलमा आफ्नै कला केन्द्र सञ्चालनदेखि उनले सङ्गीतका अन्य काम गरिरहेका थिए । यत्तिकैमा विश्वव्यापी रूपमा कोभिड महामारी सुरु भयो । कोरोनाले धेरै क्षेत्रमा प्रत्यक्ष असर पर्यो । त्यसबाट श्रीधरको कला केन्द्र पनि अछुतो रहेन ।

त्यसअघि उनको ‘सप्तसङ्गीत कला केन्द्र’ राम्रैसँग चलिरहेको थियो । लकडाउनका कारण लामो समय कला केन्द्र बन्द राख्नुपर्ने भएपछि उनी दोधारमा परे । केही समय आर्थिक भार थेगेर बुटवलमै बस्ने वा अवस्था अलि सामान्य भएपछि काठमाडौँ गएर सङ्घर्ष गर्ने भन्ने दोधारमा आफू परेको उनले सुनाए ।
‘त्यसपछि मलाई काठमाडौँमै गएर केही गर्नुपर्छ भन्ने सोच आयो,’ श्रीधरले भने, ‘काठमाडौँ भनेको समुन्द्र हो । समुन्द्रमा हामफालेपछि कि डुबिन्छ कि तैरन सफल भइन्छ भन्ने लाग्यो ।’
चुनौतीलाई अवसर बदल्ने अठोटका साथ उनी कोभिड महामारी साम्य भएपछि काठमाडौँ पसे । सानो ठाउँमा सीमित दायरामा रहेर सङ्घर्ष गर्नुभन्दा ठुलो ठाउँमा केही न केही गरौँला भन्ने आँट लिएर उनी काठमाडौँ पुगेका थिए ।

२०७५ मा आफ्नै स्वर र सङ्गीतमा उनले पहिलो लोकदोहोरी गीत ‘ख्याल ख्यालमै पिरती’ बजारमा ल्याए । पूर्णकला बीसीसँगको स्वरमा ल्याएको उक्त गीत गण्डकी र लुम्बिनीसहित सुदूरपश्चिम क्षेत्रमा निकै रुचाइयो ।
त्यसपछि श्रीधरले तीज गीत ‘सुन मायाले’ बजारमा ल्याए । उक्त गीतबाट उनी थप चर्चित भए । यसपछि उनले क्रमशः ‘मनकी रानी’ बोलको रोइला गीत, ‘लाली जोवन’बोलको तीज गीतमार्फत आफूलाई प्रख्यात बनाए ।
‘काठमाडौँको परिवेश मेरालागि नयाँ थियो,’ सफलताको राज खोल्दै श्रीधरले भने, ‘तर चुनौतीमा पनि अवसर पाउन सकिन्छ । मेहनत गर्ने हो भने जहाँ पनि सम्भावना हुन्छ भन्ने राम्रोसँग बुझेको थिएँ ।’
काठमाडौँमा उनले आफ्नो सम्बन्ध र विस्तारसँगै लोकदोहोरी, आधुनिक, लोक आधुनिक र फिल्मी गीतहरूमा शब्द, सङ्गीत र स्वर भर्न सफल भए । त्यसमध्ये केही गीतले राम्रो चर्चासमेत पाए ।
एलिना चौहान र विष्णु सापकोटाको स्वरमा रहेको ‘बाजा तालमा’बोलको गीत श्रीधरकै सिर्जना हो । उनी र शान्तिश्री परियारको स्वर रहेको गीत ‘बाडुल्की ला होला’पनि चर्चामा छ । उनको शब्द–सङ्गीत रहेको ‘संसारकी प्यारी, प्यारी आमा’पनि चर्चित नै छ ।

श्रीधरले प्रमोद खरेल, मेलिना राई, रचना रिमाल, समीक्षा अधिकारीसम्मका कलाकारहरूसँग सहकार्य गरिसकेका छन् । सांगीतिक क्षेत्रमा आफू एउटा विधामा मात्र केन्द्रित नभएको बताउँदै उनले बजारको मागअनुसार काम गर्नुपर्ने प्रस्ट पारे । ‘सङ्गीत क्षेत्रमा भएपछि बजार बुझेर काम गर्नुपर्छ भन्ने लाग्छ’, उनले भने ।
२८ वर्षीय श्रीधरले अहिलेसम्म १५० बढी गीतमा स्वर, शब्द सङ्गीत भरिसकेका छन् । सामाजिक सञ्जालबाट चर्चामा आएकी कलाकार कल्पना विष्ट र श्रीधरको स्वरमा सार्वजनिक भएको गीत ‘मनै मरिगो’, श्रीधरको सङ्गीतमा कल्पना विष्ट र रचना रिमालले स्वर दिएको ‘दिदीबहिनी’गीत पनि चर्चामा छन् । सामाजिक सञ्जालबाटै चर्चामा आएकी गायिका सिम्रन परियारको स्वरमा श्रीधरले ल्याएको ‘मुटुमै घाउ छ’ भन्ने गीत निकै चर्चामा छ ।
‘कलेजी कटक्कै’, ‘हुन्न र मायालु’, ‘बागलुङ पञ्चकोट’, ‘चाहियो भन्छिन् आमाले बुहारी’, ‘राजा–रानी’, ‘तिमी पनि उस्तै रहिछौ’ लगायत उनी जोडिएका अन्य धेरै गीत रुचाइएका छन् ।

भजनबाट आकर्षित
श्रीधरको सानो छँदा भजनमा निकै रुचि राख्थे । उनको जन्म थलोमा भजन तथा लोक गीतका धेरै कार्यक्रम हुन्थे ।
श्रीधर क्यारिकेचर (अरूको नक्कल गर्ने) पनि गर्दथे । सानैदेखि गाउने, क्यारिकेचर गर्ने तथा वाद्यवादनमा पनि उस्तै रुचि भएका उनलाई बुटवलको औद्योगिक व्यापार मेला हेर्न थालेपछि कलाकार बन्न रहर जागेको हो । त्यहीँबाट उनले आफूलाई गीत–सङ्गीत क्षेत्रमा अघि बढाउने निधो गरे । आफूभित्रको खुबी देखाउन मञ्चमा कलाकार चढेको देख्दा, उनीहरूले पाएको सम्मान देख्दा आफूलाई पनि यस्तै बन्न रहर जागेको उनले बताए ।
गीत–सङ्गीतबाट सबैतिर चिनिने, मान–सम्मानका साथै दाम पनि कमाइने श्रीधर बताउँछन् । उनी अहिले गीत–सङ्गीतमा मात्र होइन, व्यवसायमा पनि सक्रिय छन् । उनले साथीसँग मिलेर काठमाडौँमा ‘चिया सङ्गीत’ क्याफे व्यवसाय सुरु गरेका छन् ।
‘गीत–सङ्गीतको तयारीबारे साथीहरूसँग क्याफेमै भेटघाट हुन्थ्यो,’ श्रीधरले भने, ‘आफ्नै क्याफे खोल्न पाए हुन्थ्यो भन्ने सोच पहिल्यैदेखि आउँथ्यो ।’
गीत–सङ्गीतमा हरेक दिन व्यस्त हुन नपर्ने भएकाले व्यवसाय सुरु गरेको उनको भनाइ छ । ‘चिया सङ्गीत’ अहिले काठमाडौँको शंखमूल र थापाथलीमा सञ्चालित छ । श्रीधरको चिया सङ्गीतमा सङ्गीत क्षेत्रका व्यक्तिहरूको पनि राम्रो जमघट हुने गरेको छ । शंखमूलस्थित चिया सङ्गीतमा श्रीधरले साप्ताहिक रूपमा कार्यक्रम नै राख्ने गरेका छन् । जसअन्तर्गत शनिबार हुने आरतिमा चर्चित कलाकार, खेलाडीदेखि राजनीतिज्ञ समेतलाई बोलाउने गरेका छन् ।
निर्माता तथा अभिनेता दीपकराज गिरी, गायक थानेश्वर गौतम, गायिका शान्तिश्री परियार, रचना रिमाल, समीक्षा अधिकारी लगायत उनको चिया सङ्गीतमा पुगिसकेका छन् ।

आउँदा दिनमा चिया सङ्गीतमा अन्य कार्यक्रम पनि राख्ने उनको योजना छ । काठमाडौँको सामाखुसीमा पनि यसको शाखा खोल्ने तयारी भइरहेको उनले बताए ।
कलाकारले मेहनत गर्दा जीवन गुजारा सहजै हुने भए पनि अर्थतन्त्रमा समेत ध्यान दिँदै चियाग्रामतिर केन्द्रित भएको श्रीधर बताउँछन् । उनले आफ्नो करियरका लागि अन्य कलाकारसँग भेटघाट गर्ने उपयुक्त स्टेसन आफूले निर्माण गरिदिएको दाबीसमेत गरे । आफ्नो चिया–सङ्गीतमा आएर करिब एक दर्जनले गीत–सङ्गीत क्षेत्रका विभिन्न कलाकार भेटेर करिअर विकासका लागि आधार निर्माण गरेको उनको भनाइ छ । यसका साथै चिया–सङ्गीतमै प्रत्यक्ष रोजगारी पाउनेको संख्या पनि निकै रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण