शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलन

ब्याचलर पढ्ने सपना बोकेका अनिकेत डेढ महिनादेखि अस्पतालको बेडमै

हजुरबुबा भन्छन्– उसको उपचार र भविष्यको जिम्मा राज्यले लिनुपर्छ
आइतबार, ०९ कात्तिक २०८२, ०८ : ३६
आइतबार, ०९ कात्तिक २०८२

सारांश

  • झापाका अनिकेत शर्मा जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका छन् र नोबेल अस्पतालमा उपचाररत छन्।
  • आन्दोलनमा सहभागी हुँदा घाइते भएका शर्मा आफ्नो भविष्य र देशको अवस्थाप्रति चिन्तित छन्, र उनको पढाइ अवरुद्ध भएको छ।
  • अनिकेत र उनका हजुरबुबा दुवै राज्यले घाइतेहरूको उपचारको जिम्मा लिनुपर्ने र शिक्षा तथा रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग गर्छन्।

विराटनगर । १२ कक्षा सकेर ब्याचलर पढ्ने सपना बुन्दै गरेका झापा, बुद्धशान्ति–६ का अनिकेत शर्मा चम्लागाईंको दैनिकी विगत डेढ महिनादेखि विराटनगरस्थित नोबेल अस्पतालको बेडमा बितिरहेको छ ।

जेनजी आन्दोलनमा सहभागी हुँदा गत भदौ २३ गते प्रहरीको गोली लागेर घाइते भएका उनी आफ्नो भविष्य र देशको अवस्थालाई लिएर चिन्तित छन् ।

देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनमा उत्रिँदा उनको जीवनले एउटा दर्दनाक मोड लियो । ‘हामीले राम्रो माग राखेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका थियौँ,’ अनिकेतले भने, ‘एक्कासि प्रहरीले गोली चलाउन थाल्यो, र एउटा गोली मलाई लाग्यो ।’

आन्दोलनमा सँगै रहेका साथीभाइले उनलाई तत्कालै बीएण्डसी अस्पताल पुर्‍याएका थिए, तर अवस्था गम्भीर भएपछि थप उपचारका लागि नोबेल अस्पतालमा ल्याइयो । यहाँ उनको शरीरबाट गोली निकाल्न धेरै पटक शल्यक्रिया गरिएको छ ।

यो घटनाले उनको पढाइ अवरुद्ध भएको छ । १२ कक्षाको एउटा विषयमा ‘ब्याक पेपर’ दिन बाँकी थियो, तर अब त्यो परीक्षा नै छुटेको छ । ‘अब त्यो त छुटिसक्यो, अर्को वर्ष पाइन्छ कि भन्ने आशा छ’, उनले निराश हुँदै सुनाए ।

सानैदेखि हजुरबुबा उदयचन्द्र कोइरालाको संरक्षणमा हुर्किएका अनिकेत परिवारका लागि एउटा आशा थिए । नातिको अवस्थाबारे बोल्दा उदयचन्द्र भक्कानिन्छन् । ‘सानैदेखि मैले नै हुर्काएको हुँ,’ आँसु पुछ्दै उनले भने, ‘आन्दोलनमा नजा भन्न सकिएन, तर जोगिएर बस्नु भनेको थिएँ । साँझ ८ बजेमात्रै उसलाई गोली लाग्यो भन्ने खबर पाएँ ।’

अस्पतालको बेडबाटै देशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका अनिकेत जेनजी अभियन्ताहरूबिच देखिएको मनमुटावप्रति दुःखी छन् । ‘हामी सबै मिलेर देश बनाउन उत्रिएका हौँ, तर अभियन्ताहरू नै आपसमा झगडा गर्नुभएन,’ उनले भने ।

अनिकेतको उपचारमा अहिलेसम्म कति खर्च भयो भन्ने यकिन छैन । तर, अहिलेसम्म औषधिमा मात्रै ४ लाखभन्दा बढी उधारो छ । त्यो ऋण कसरी तिर्ने भन्ने चिन्ता परिवारलाई छ । ‘अहिले हामी अस्पतालमा छौँ, घाउको उपचार भइरहेको छ, तर डिस्चार्ज भएर घर गएपछि के हुन्छ ?,’ अनिकेत प्रश्न गर्छन्, ‘भोलि संक्रमण भएर खुट्टा नै काट्नुपर्ने अवस्था आयो भने ? हाम्रो जीविकोपार्जन, पढाइ र भविष्यको ग्यारेन्टी कसले लिन्छ ?’

उनी र उनका हजुरबुबा दुवैको एउटै माग छ– राज्यले घाइतेहरूको पूर्ण उपचारको जिम्मा लिनुपर्छ र शिक्षा तथा रोजगारीको सुनिश्चितता गर्नुपर्छ ।

‘ऊमात्र होइन, देशका सम्पूर्ण घाइते युवाहरूको भविष्यको जिम्मा राज्यले लिनुपर्छ । ७६ जना सहिदको रगत खेर जानु हुँदैन,’ उदयचन्द्रले भने ।

अस्पतालको बेडबाटै देशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका अनिकेत जेनजी अभियन्ताहरूबिच देखिएको मनमुटावप्रति दुःखी छन् । ‘हामी सबै मिलेर देश बनाउन उत्रिएका हौँ, तर अभियन्ताहरू नै आपसमा झगडा गर्नुभएन,’ उनले भने ।

सरकार फेरिए पनि देशको अवस्था फेरिनेमा उनी ढुक्क छैनन् । उनको माग स्पष्ट छ, ‘शासन व्यवस्था जेसुकै होस्, भ्रष्टाचार अन्त्य हुनुपर्छ र देशको मुहार फेरिनुपर्छ । जनताप्रति सरकार जबाफदेही बन्नुपर्छ ।’

अहिले अनिकेतजस्ता सयौँ युवा शारीरिक र मानसिक पीडा बोकेर अस्पतालको बेडमा छन् । उनीहरूको एउटै प्रश्न छ– देश बदल्न सडकमा उत्रिँदा के उनीहरूले आफ्नो सुन्दर भविष्यलाई नै दाउमा लगाउनुपरेको हो ?

1-Ghaite (1)

यसको जबाफ नयाँ सरकार र राज्यले दिनैपर्छ । घाइते अनिकेतलाई अस्पतालमा भेटेपछि जेनजी आन्दोलनकी अभियन्ता किशोरी कार्कीले सामाजिक सञ्जालमार्फत सरकारको संवेदनहीनतामाथि आक्रोश व्यक्त गरेकी छन् । उनले घाइतेको तस्बिरसहित पीडा र प्रश्न दुवै पोखेकी छन् ।

‘पीडित पक्षका अभिभावक आज पनि न्यायको लागि आवाज उठाइरहेका छन्, तर प्रश्न उठ्छ— सरकार किन मौन छ ? कुर्सीमा बसेपछि पीडितका आँसु हेर्ने साहस किन हरायो ?’

यदि आँसु पुछ्ने हिम्मत छैन भने त्यो कुर्सीमा बस्ने साहस होइन, लाज महसुस गर्न पनि उनले सुझाव दिएकी छन् ।

कार्कीले अनिकेतजस्ता युवाहरू परिवर्तनका प्रतीक भएको र उनीहरूको त्यागलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिएकी छन् । उनले घाइतेहरूको दीर्घकालीन उपचार, शिक्षा र पुनर्स्थापनाको माग गरेकी छन् ।

‘सरकारले यस्ता घाइते र पीडित युवाको दीर्घकालीन उपचार, उचित शिक्षा र पुनर्स्थापनाको व्यवस्था तुरुन्त गर्न जरुरी छ । अनिकेतमात्र होइन, हरेक पीडित जेनजी युवा न्याय र सम्मानका हकदार छन्,’ उनले लेखेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप