शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलन : कास्कीमा ५ अर्बको क्षति, अपराध गर्नेहरूलाई कारबाही गर्न माग

मङ्गलबार, ११ कात्तिक २०८२, १९ : ५९
मङ्गलबार, ११ कात्तिक २०८२

पोखरा । जेनजी आन्दोलनका क्रममा कास्की जिल्लाभर १ सय १६ वटा सरकारी कार्यालयमा क्षति पुगेको थियो । 

सङ्घीय कार्यालय २६ वटा, प्रदेशका ३३ वटा, स्थानीय तह सहित भवन र सवारी साधनमा २ अर्ब १८ करोड बराबरको क्षति भएको प्रारम्भिक रिपोर्ट छ ।

१ सय १९ चार पाङ्ग्रे सवारी र २ सय १० वटा दुई पाङ्ग्रे सहित ३ सय २९ वटा सवारी साधनमा क्षति पुगेको कास्की प्रशासनको रेकर्ड छ । 

यसबाहेक २७ वटा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको रेकर्ड छ । होटल र नेताका घर समेत जोड्दा २ अर्ब ७३ करोड रुपैयाँको निजी सम्पत्ति क्षति भएको विवरण प्राप्त भएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

‘यो विवरण प्रारम्भिक र टिपोटका आधारमा सङ्कलन भएको हो । अझै प्राविधिक रूपमा डिटेल सर्भे हुन बाँकी छ,’ उनले भनिन्, ‘प्रहरीमा टिपाइएको आधारमा हेर्दा जिल्लाभर ४ अर्ब ९१ करोडको क्षति देखिन्छ । डिटेल अध्ययन भएपछि अझै बढ्न सक्छ ।’ 

उनका अनुसार, जिल्ला कारागारबाट ७ सय ७३ जना कैदीबन्दी भागेकामा ५ सय १६ जना फर्किसकेका छन् । १३ विदेशी सहित २ सय २१ जना अझै फरार रहेकाले उनीहरूको खोजी भइरहेको शर्माले बताइन् । भदौ २३ र २४ गतेपछि पनि जिल्लामा चोरी र लुटपाटका घटना लगातार भइरहेका छन् ।

केही दोषीहरूलाई प्रहरीले पक्राउ गरेपनि धेरै नियन्त्रणबाहिर छन् । अपराधीहरू खुलेआम हिँड्दा निजी क्षेत्र त्रसित छ भने समाजमा शान्ति सुरक्षा खलबलिएको छ ।

आन्दोलनमा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोग अहिले जिल्ला तहमा छलफलमा निस्किएको छ ।

आयोगका सदस्य विज्ञानराज शर्माले मंगलबार पोखरामा निजी क्षेत्र, सरकारी संयन्त्र र सरोकारवालासँग अन्तरक्रिया गरे । अन्तरक्रियाका क्रममा सहभागीहरूले आपराधिक उद्देश्यले तोडफोड र आगजनीमा संलग्नलाई तुरुन्तै कारबाहीको माग गरेका छन् ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले जाँचबुझलाई निरन्तर राखेर पहिला दोषीमाथि कारबाहीको माग गरे । ‘निजी क्षेत्रमा ठुलो हमला भयो । अपराधीहरू खुलमखुला हिँडिरहेका छन् । दोषीलाई कारबाही गरेर क्षतिपूर्ति दिलाउने काम गर्नुपर्‍यो,’ उनले भने, ‘यही हिसाबले दण्डहीनता हुने र अपराधीलाई कारबाही नभए कसरी लगानी गर्ने र व्यवसाय सञ्चालन गर्ने ?’

पर्यटन व्यवसायी गोपी भट्टराईले तुरुन्त राहत कोष स्थापना गर्न माग गरे । ‘२४ गते नसोचेको घटना भयो । सार्वजनिक सम्पत्ति र निजी सम्पत्तिमाथि हमला भयो । व्यावसायिक प्रतिष्ठान जल्दा नकारात्मक सन्देश गएको छ,’ उनले भने, ‘सबैभन्दा पहिला राज्य छ भने दोषीमाथि कारबाही गर्ने र रिलिफ फण्ड जारी गर्नुपर्‍यो । राज्यले अभिभावकको भूमिका खेल्नुपर्‍यो ।’

उनले कोरला नाका व्यवस्थित गर्न पनि माग गरेका छन् । आयोग र रिपोर्ट यसअघि धेरै बनेको र प्रभावकारी नभएको भन्दै उनले कार्यान्वयनमा जोड दिन आग्रह गरे ।

अपराध गर्नेलाई उन्मुक्ति हुँदैन : शर्मा

आयोगका सदस्य विज्ञानराज शर्माले आन्दोलनका क्रममा अपराध गर्नेलाई उन्मुक्ति नहुने प्रष्ट पारेका छन् ।

‘भोलिपल्ट भएको लुटपाट, आगजनी र तोडफोड जसले गरेपनि आपराधिक कर्म हो । प्रचलित कानुन अनुसार कारबाही हुन्छ,’ उनले भने । आयोगले आग्रह र पूर्वाग्रह विना मिहिन अध्ययन र छानबिन गरेर रिपोर्ट बनाउने भन्दै उनले दोषीमाथि कारबाही हुने बताएका हुन् । 

‘आयोगले आग्रह, पूर्वाग्रह लिँदैन ढुक्क हुनुस् । नगरेको काम गरेको भनेर सिफारिस गर्दैनौँ,’ आयोगको भूमिकामाथि सहभागीले शङ्का गरेपछि उनले भने, ‘बयानका क्रममा आएका प्रमाण र अरू प्रमाणले २३ र २४ गतेका दोषीहरूलाई कारबाही गर भन्छौँ हामी, जोसुकै हुन् ।’ 

उनले अगाडि भने, ‘नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र राष्ट्रिय अनुसन्धानसँग २३ र २४ गतेको अरनखटनको रिपोर्ट मागेका छौँ । को कहाँ छ भनेर सोधेका छौँ,’ अघि भने, ‘समस्या आएका ठाउँमा खटिएकाहरुबाट बयान लिन्छौँ । घटना के हो भन्ने निस्किँदै जान्छ । २४ गतेको घटनाका सिसीटिभी फुटेज सङ्कलन गरेका छौँ। अनुसन्धान गर्न अहिले गाह्रो छैन ।’ 

निष्पक्ष रूपमा पीडितले न्याय पाउने गरी रिपोर्ट बनाउने उनको दाबी छ । ‘अपराधी नउम्किउन् र पीडितले न्याय पाउन् भन्ने भित्री इच्छा छ । कोही कसैप्रति आग्रह पूर्वाग्रह छैन । निष्पक्ष काम गर्छु भन्ने शपथ खाइएको छ, सरकारी वा कुनैपनि पक्षको दबाब हामी लिँदैनौँ,’ उनले थपे । 

आयोगले रिपोर्ट बुझाएपछि दराजमा नथन्क्याउन पनि सरकारलाई उनले ध्यानाकर्षण गराएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप