मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

जनकपुर चुरोट र मेटल कम्पनीको सम्पत्ति मूल्याङ्कनका लागि परामर्शदाता छनोट

दुई उद्योगमा कुनै पनि कम्पनी आएनन्
शुक्रबार, ०४ पुस २०८२, १७ : ४६
शुक्रबार, ०४ पुस २०८२

सारांश

  • अर्थ मन्त्रालयले चार वटा बन्द उद्योगको सम्पत्ति मूल्याङ्कनका लागि परामर्शदाता छनोट गरेको छ।
  • नेपाल मेटल कम्पनी र जनकपुर चुरोट कारखानाको मूल्याङ्कनका लागि परामर्शदाता छनोट भएका छन्।
  • ओरिण्ड म्याग्नेसाइट र बुटवल धागो कारखानाका लागि भने पुनः प्रक्रिया सुरु हुनेछ।

काठमाडौँ। अर्थ मन्त्रालयले सरकारी व्यवस्थापनमा रहेका विभिन्न चार वटा रुग्ण तथा बन्द उद्योगहरूको सम्पत्ति मूल्याङ्कनका लागि परामर्शदाता छनोट प्रक्रिया अगाडि बढाएको छ ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक र आर्थिक प्रस्तावको मूल्याङ्कनका आधारमा दुई वटा कम्पनीका लागि परामर्शदाता छानिएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार नेपाल मेटल कम्पनी लिमिटेडको मूल्याङ्कनका लागि जीन एण्ड एसोसिएट्स छनोट भएको छ ।

 त्यसैगरी, जनकपुर चुरोट कारखाना लिमिटेडको सम्पत्ति मूल्याङ्कनका लागि एस. सुवेदी एण्ड एसोसिएट्स’ छानिएको छ ।

तर, नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालि र बुटवल धागो कारखाना लिमिटेडको मूल्याङ्कनका लागि परेका प्रस्तावहरू मध्ये कुनै पनि प्रस्तावक छनोट हुन नसकेको मन्त्रालयले जनाएको छ । यी दुई उद्योगका लागि मन्त्रालयले पुनः प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

मन्त्रालयले पुस ३ गतेको निर्णयअनुसार दुई उद्योगको लागि सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को व्यवस्था बमोजिम परामर्शदाता छनोट गरेको जनाएको छ ।

मन्त्रालयले छनोट भएका दुई परामर्शदाता कम्पनीहरू जीन एण्ड एसोसिएट्स र एस. सुवेदी एण्ड एसोसिएट्स लाई व्यावसायिक एवं आर्थिक सर्तका विषयमा वार्ता गर्न बोलाएको छ । मन्त्रालयका अनुसार आगामी पुस १३ गते दिउँसो २ बजे वार्ताका लागि बोलाएको छ ।

सरकारले लामो समयदेखि बन्द वा रुग्ण अवस्थामा रहेका यी उद्योगहरूको वास्तविक सम्पत्ति र दायित्व यकिन गर्न मूल्याङ्कन प्रक्रिया थालेको हो । यस प्रक्रियाले यी उद्योगहरूको भविष्य (निजीकरण, पुनः सञ्चालन वा खारेजी) बारे ठोस निर्णय लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप