रामआशिष यादव : कक्षा कोठादेखि सभामुखको आसनसम्म
सारांश
- मधेस प्रदेश सभाले जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादवलाई सभामुख पदमा निर्वाचित गर्यो, जसमा ७२ सांसदको समर्थन प्राप्त भयो।
- सभामुख यादवले शिक्षक, पत्रकार र सामाजिक अभियन्ताको रूपमा काम गरेका छन्, र उनले मधेस प्रदेशको विधायिकालाई मर्यादित बनाउने जिम्मेवारी पाएका छन्।
- यादवले संघीयतालाई बलियो बनाउन कार्यपालिका र व्यवस्थापिकाबीच सन्तुलन कायम गर्दै प्रदेश सभालाई जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
जनकपुरधाम । पुस ६ गते बसेको मधेस प्रदेश सभा बैठकले जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादवलाई सभामुख पदमा निर्वाचित गर्यो । प्रदेश सभामा उपस्थित ९६ सांसदमध्ये ७२ जनाले उनलाई सभामुख पदका लागि मत दिए भने २४ मत विपक्षमा गयो ।
सत्ता पक्षका सात दलीय गठबन्धनको समर्थनमा उनी सहज बहुमतका साथ सभामुख निर्वाचित भए । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले सोही साँझ उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । यससँगै मधेस प्रदेशको विधायिकालाई मर्यादित, प्रभावकारी र सन्तुलित ढंगले अगाडि बढाउने जिम्मेवारी यादवको काँधमा आइपरेको छ ।
रामआशिष यादवले शिक्षकका रूपमा सार्वजनिक जीवनको पहिलो पहिचान बनाएका थिए । शिक्षक जीवनको प्रारम्भमा उनले काभ्रेपलाञ्चोकको ज्याम्दीस्थित बागदेवी माध्यमिक विद्यालयमा अंग्रेजी विषय पढाए । सरुवा भएर जनकपुरधाम आएपछि उनको जीवनले नयाँ मोड लियो । यहाँ उनले शिक्षणसँगै पत्रकारितालाई सक्रिय रूपमा अघि बढाए ।
रेडियो नेपालसहित विभिन्न सञ्चारमाध्यममा काम गर्दै उनले मधेसका आवाजलाई राष्ट्रिय बहसमा पुर्याउने काम गरे । जनकपुरबाट दैनिक पत्रिका प्रकाशित गर्ने, एफएम रेडियो सञ्चालन गर्ने र टेलिभिजन क्षेत्रमा समेत संलग्न रहँदै उनले पत्रकारितालाई पेसामात्र होइन, सामाजिक हस्तक्षेपको माध्यम बनाए ।
भाषा, पहिचान, अधिकार, शिक्षा सुधार र समावेशी विकास उनका पत्रकारिताका मुख्य विषय थिए । उनले भावनात्मक उग्रताभन्दा तथ्य र तर्कमा आधारित बहसलाई प्राथमिकता दिए । यही कारण २०६७ सालमा उनी नेपाल पत्रकार महासंघ धनुषाको सभापति निर्वाचित भए ।
त्यो समय मधेस आन्दोलनपछिको संवेदनशील कालखण्ड थियो । यादवले पत्रकारितालाई समाज जोड्ने पुलको रूपमा प्रयोग गरे ।

- पारिवारिक जीवन
रामआशिष यादवको सामाजिक र राजनीतिक चेतनाको जग उनको पारिवारिक जीवनमै देखिन्छ । उनी जनकपुरधामबाट करिब तीन किलोमिटर पूर्व कनकपट्टी गाउँका स्थायी बासिन्दा हुन् । गाउँकै विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनले स्नातकसम्म अध्ययन गरेका छन् ।
उनको परिवार सधैँ सामाजिक जिम्मेवारीमा अग्रसर रह्यो । उनका जेठा दाजु प्रधानपञ्च र माइला दाजु गाविस अध्यक्ष थिए । घरमै सार्वजनिक सेवा, मेलमिलाप र नेतृत्वका अभ्यास देखेर हुर्किएका यादवका लागि समाजसेवा स्वाभाविक कर्म बन्यो ।
यादवकी श्रीमती सामाजिक रूपमा सचेत र सहयोगी स्वभावकी छन् । यादवको राजनीतिक र सामाजिक यात्रामा पारिवारिक समर्थन निर्णायक रहेको नजिकका साथीहरू बताउँछन् । परिवारले उनलाई सत्ता होइन, सेवा रोज्न प्रेरित गरेको उनी स्वयं स्विकार्छन् ।
जनकपुर सफाइ अभियान
रामआशिष यादवको सार्वजनिक पहिचान जनकपुर सफाइ अभियानसँग पनि जोडिएको छ । फोहर र अव्यवस्थाको प्रतीकजस्तो बनेको गंगासागर पोखरी सफा गर्ने अभियानमा उनले नेतृत्व लिए ।
साथीहरू, युवाहरू र स्थानीय बासिन्दालाई संगठित गर्दै उनले चलाएको अभियानले गंगासागरको रूपमात्र बदलिएन, जनकपुरको सामूहिक चेतना नै रूपान्तरण गर्यो ।
२०७१ जेठ २५ गते गंगा दशहराको अवसरमा सुरु गरिएको गंगा आरती अहिले जनकपुरको धार्मिक, सांस्कृतिक र पर्यटकीय पहिचान बनेको छ । हरेक साँझ आयोजना हुने आरतीमा स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखनीय उपस्थिति हुन्छ ।
- राजनीतिक जीवन
२०४५ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेका यादव पछि संघीय समाजवादी फोरम (हाल जसपा नेपाल)मा आबद्ध भए । सामाजिक अभियानपछि उनको राजनीतिक सक्रियता अझ स्पष्ट र संगठित बन्यो ।
पहिलो प्रदेश सभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएपछि पार्टीले उनलाई संसदीय दलको उपनेताको जिम्मेवारी दियो । उनले सदनमा सामाजिक बेथिति, वातावरणीय समस्या, शिक्षा र मातृभाषाका विषयमा निरन्तर आवाज उठाए ।
उनको कामलाई जनताले रुचाए । परिणामस्वरूप उनी दोस्रो पटक पनि प्रत्यक्ष निर्वाचित भए । पार्टीले उनलाई प्रमुख सचेतक बनायो, जहाँ उनले संसदीय अनुशासन, रणनीति र समन्वयमा महत्त्वपूर्ण भूमिका खेले ।
- चुनौतीपूर्ण जिम्मेवारी
यसअघिका सभामुख रामचन्द्र मण्डललाई पदअनुकूल आचरण नगरेको आरोपमा सात दलले दुई तिहाई बहुमतका साथ पदमुक्त गरेका थिए । त्यसपछि रिक्त पदमा यादव निर्वाचित भएका हुन् ।
अब उनको काँधमा सदनको गरिमा बढाउने, सबै पक्षलाई समेटेर अघि बढ्ने र सदनका काम–कारबाहीलाई प्रभावकारी बनाउने जिम्मेवारी छ । यो जिम्मेवारीलाई आफूले इमानदार भएर पूरा गर्ने उनको भनाइ छ ।
‘संघीयतालाई बलियो बनाउन कार्यपालिका र व्यवस्थापिकाबिच सन्तुलन आवश्यक छ,’ सभामुख यादवले भने, ‘प्रदेश सभा जनताको भरोसायोग्य संस्था बन्नुपर्छ ।’
जनकपुरका सामाजिक अभियन्ता सुरेश शर्माका अनुसार सभामुख यादव शिक्षा, समाज सुधार र वातावरणमा स्पष्ट दृष्टिकोण भएको नेता हुन् ।
परिवारबाट पाएको संस्कार, शिक्षक पेसामा रहँदा सिकेको धैर्य, पत्रकारका रूपमा विविध क्षेत्रमा प्रश्न उठाउने र अभियन्ताका रूपमा समाजलाई सुधार गर्न र बेथिति हटाउन निर्वाह गरेको भूमिकाबाट बहुआयामिक अनुभव सँगालिसकेका रामआशिष यादव अब मधेस प्रदेशको विधायिकाको नेतृत्वमा छन् । उनको कार्यकालमा प्रदेश सभा कति मर्यादित, प्रभावकारी र जनमुखी हुन्छ, त्यसको मूल्याङ्कन समयले गर्नेछ, तर उनको यहाँसम्मको यात्रा मधेसकै राजनीतिमा एउटा सशक्त उदाहरण बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण