खोला किनारामा २० मिटर खाली ठाउँ छाड्ने फैसलाको पुनरावलोकन रिटमा सुनुवाइ हुँदै
सारांश
- सर्वोच्च अदालतले खोला किनारामा २० मिटर खाली छाड्ने फैसलाको पुनरावलोकन रिटमा सुनुवाइ हुने भएको छ।
- सरकारले फैसला कार्यान्वयन गर्न नसकिने भन्दै तीन कारण दिएको छ, जसमा आर्थिक, सामाजिक र व्यावहारिक जटिलता रहेका छन्।
- सरकारले ८ हजारभन्दा बढी घर टहरा र ४२ हजार नागरिक विस्थापित हुनसक्ने भन्दै क्षतिपूर्ति दिन नसकिने जनाएको छ।
काठमाडौँ । सर्वोच्च अदालतले खोला किनारामा २० मिटर खाली ठाउँ छाड्ने गरी गरेको फैसलाको पुनरावलोकन रिटमा सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
उपत्यकाको बागमती, विष्णुमती लगायतका नदी किनारामा २०–२० मिटर खाली छाडेर संरचना निर्माण गर्नुपर्ने भनी २०८० पुस २० मा गरेको फैसला कार्यान्वयन गर्न नसक्ने भन्दै सरकारका तर्फबाट तत्कालीन कानुन सचिव फडिन्द्र गौतमले फैसला पुनरावलोकनको निवेदन दिएका थिए ।
सरकारले काठमाडौँ उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा विभिन्न तीन कारणले जटिलता हुने जिकिर गरेको छ ।
सो फैसला कार्यान्वयन गर्न आर्थिक रूपमा सम्भव नहुने सरकारको दाबी छ । काठमाडौँ उपत्यकामा १९ वटा खोला रहेको भन्दै सरकारले उक्त फैसला कार्यान्वयनमा जाँदा ती खोलाको दायाँ बायाँ ८ हजार ३०४ घर टहरा र ४२ हजार नागरिक विस्थापित हुने दाबी गरेको छ । सर्वोच्चको फैसला कार्यान्वयन गर्दा ती घर क्षतिपूर्ति दिएर भत्काउनुपर्ने तर त्यो आर्थिक रूपमा सम्भव नहुने सरकारको तर्क छ ।
उक्त फैसला कार्यान्वयनमा जाँदा सामाजिक रूपमा समेत अस्वीकार्य हुने सरकारको तर्क छ । ‘अतः उक्त परमादेशको आदेश जारी हुने गरी भएको फैसला पुनरावलोकन हुन सादर निवेदन गर्दछु,’ सरकारको निवेदनमा भनिएको छ ।
फैसला कार्यान्वयनमा संवैधानिक, कानुनी र व्यावहारिक समस्या सिर्जना हुने तथ्यसमेत प्राप्त भएको निवेदनमा दाबी गरिएको छ । संवैधानिक सीमाभित्र रही सरकारले नागरिकको हित र मुलुकको विकासका लागि स्रोत र साधनको समुचित व्यवस्थापन गर्दै क्रमशः कार्यान्वयन गर्नु पर्ने सरकारको तर्क छ ।
फैसला कार्यान्वयनमा जाँदा के कति घर, जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ र यसरी अधिग्रहण गर्दा सोको क्षतिपूर्ति बापत के कति रकम आवश्यक पर्छ भन्ने पनि हेरिनुपर्ने सरकारले जिकिर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
-
भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार
-
त्रिविको पीएचडीसम्बन्धी नयाँ निर्देशिकाः यस्तो छ सुपरभाइजर हुन चाहिने शोधार्थीको योग्यता
-
सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या
-
घाँस काट्न रूख चढेकी बालिकाको खसेर मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण