शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
खुलापत्र

सुदन गुरुङलाई एक मतदाताको खुलापत्र

सोमबार, १२ माघ २०८२, ०६ : २४
सोमबार, १२ माघ २०८२

सारांश

  • पत्रकारले गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार सुदन गुरुङलाई प्रश्नहरू सोधेका छन्, जसमा उहाँको विगत र वर्तमान गतिविधिहरूबारे प्रश्न उठाइएको छ।
  • लेखमा सुदन गुरुङको सामाजिक अभियन्ताको छवि र उनको विभिन्न विवादास्पद पक्षहरूबारे प्रश्नहरू छन्, जसमा आर्थिक कारोबार र राजनीतिक सम्बन्धहरूबारे पनि उल्लेख छ।
  • लेखकले सुदन गुरुङलाई पारदर्शिता, जवाफदेहिता र राष्ट्रिय हितका प्रश्नहरूमा जवाफ दिन आग्रह गरेका छन्, साथै उनले मतदाताको चेतना र इमान्दारिताको महत्वलाई जोड दिएका छन्।

आदरणीय सुदन गुरुङज्यू,

प्रतिनिधि सभा उम्मेदवार, गोरखा क्षेत्र नम्बर– १

म पेसाले पत्रकारिता गर्छु र गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को साधारण तर जिम्मेवार मतदाता हुँ। म यो खुलापत्र पेसागत रूपमा भन्दा पनि तपाईंको निर्वाचन क्षेत्रको मतदाताका रूपमा लेख्दै छु।

यो खुलापत्र कुनै व्यक्तिगत आक्रोश, पूर्वाग्रह, दलगत आग्रह वा योजनाबद्ध राजनीतिक आक्रमण होइन। यसलाई त्यसरी बुझ्नुहुने छैन भन्ने आशा लिएको छु। यो पत्र एउटा नागरिकले आफ्नो मत प्रयोग गर्नुअघि उम्मेदवारसँग सार्वजनिक रूपमा सोध्नैपर्ने प्रश्नहरूको दस्तावेजका रूपमा रहनेछ। लोकतन्त्रमा मतदाता भीड होइन, चेतनशील नागरिक हो।

चेतनशील नागरिकले प्रश्न नगरे लोकतन्त्र खोक्रो हुँदै जान्छ। त्यसैले यो पत्र तपाईंलाई कोर्दै छु। आशा छ तपाईंले म र म जस्ता प्रश्नकर्ता मतदातालाई जवाफ दिनुहुनेछ। तपाईंको जवाफ उम्मेदवार हुनुभएको निर्वाचन क्षेत्रका मतदातालाई मात्र नभई आम नागरिकका लागि हुने विश्वास लिएको छु।

यो चुनाव केवल उम्मेदवारहरूको भीड, भाषण, पोस्टर र सामाजिक सञ्जालको लोकप्रियता मापन गर्ने प्रक्रिया होइन। यो नैतिकता, जवाफदेहिता र राष्ट्रप्रतिको जिम्मेवारीको परीक्षण पनि हो। तपाईं यो परीक्षामा सहभागी हुनुभएको छ। त्यसैले यो पत्र तपाईंको व्यक्तिगत जीवनमाथि आक्रमण होइन, तपाईंले सार्वजनिक रूपमा रोज्नुभएको भूमिकाप्रति सोधिएको उत्तरदायित्वको प्रश्न हो।

तपाईं बारम्बार आफूलाई ‘जेनजी अभियन्ता’, ‘सामाजिक अभियन्ता’ र ‘परिवर्तनको प्रतिनिधि’ भन्नुहुन्छ। यी शब्दहरू सुन्दा आकर्षक लाग्छन् र शब्दहरू आफैँमा भारी छन्। यी शब्दहरूले बलिदान, पारदर्शिता र निरन्तर जवाफदेहिता माग्छन्। तर उत्तर नदिएमा तपाईंले प्रयोग गर्ने शब्दहरू खोक्रा साबित हुनेछन् र यो देशका लागि अभिशाप हुन सक्छ। नेपाल आज जुन संकटमा छ, त्यसको ठूलो कारण शब्द र व्यवहारबीचको खाडल हो।

तपाईं गोरखाको दुर्गम चुमनुब्रीमा जन्मिनुभएको तथ्य कसैले नकार्दैन। दुर्गम ठाउँमा जन्मिनु संघर्षको सुरुवात हुन सक्छ तर राजनीतिक वैधताको अन्तिम प्रमाण भने होइन। प्रश्न यो हो कि तपाईंले त्यो भूमिबाट के सिक्नुभयो र आज यो भूमिलाई के फर्काउन खोज्दै हुनुहुन्छ? जन्मथलोको नाम प्रयोग गरेर भावनात्मक सहानुभूति बटुल्नु सजिलो हुन्छ, तर त्यो भूमिमा समस्या समाधान गर्न कठिन हुन्छ। मतदाताले सहानुभूति होइन, समाधान खोजिरहेका छन्।

गाउँबाट चितवन, त्यसपछि काठमाडौं, ठमेल, क्लब उद्योग, सामाजिक सञ्जाल, नेटवर्किङ र अहिले राजनीति। यो यात्रालाई तपाईं संघर्षको कथा भन्नुहुन्छ। तर धेरै नागरिकका आँखामा यो सेवाभन्दा अवसरको खोजी, आन्दोलनभन्दा पहुँच विस्तार र विचारभन्दा नेटवर्क निर्माणको कथाजस्तो देखिन्छ। यदि यो बुझाइ गलत हो भने, त्यसलाई स्पष्ट पार्ने दायित्व तपाईंको हो। किनकि मौनता कमजोरी होइन, शंका जन्माउने कारक हो।

भूकम्प र कोभिड–१९ जस्ता राष्ट्रिय विपत्तिका बेला तपाईं सक्रिय देखिनुभयो। त्यसैक्रममा ‘हामी नेपाली’ संस्था स्थापना गर्नुभयो। सेवा भावनाबाट संस्था खोलिनु आफैँमा सकारात्मक कुरा हो। तर सेवा भनेको भावना मात्र होइन, प्रणाली पनि हो। पछिल्ला पाँच वर्षमा उक्त संस्थाले करिब ५४ करोड रुपैयाँ सहयोग संकलन गरेको तथ्य सार्वजनिक भएका छन्। यति ठूलो रकम उठ्नु सामान्य कुरा होइन। यहीँबाट तपाईंमाथि गम्भीर प्रश्न सुरु हुन्छ।

तपाईंको नाम फ्री तिब्बत मुभमेन्टसँग जोडिएर आउनु अर्को गम्भीर विषय हो। नेपालको परराष्ट्र नीति स्पष्ट छ– एक चीन नीति। यो कुनै दलको, कुनै सरकारको वा कुनै नेताको नीति होइन। यो राष्ट्रको आधिकारिक नीति हो।

त्यो ५४ करोड रुपैयाँ कहाँबाट आयो? कुन देश, कुन संस्था र कुन व्यक्तिबाट आयो? कुन उद्देश्यले आयो र कसरी खर्च भयो? यी सबै प्रश्नको तपाईंबाट स्पष्ट, दस्तावेजसहित सार्वजनिक उत्तर आजसम्म आएको छैन। पारदर्शिता सामाजिक सेवाको आत्मा हो। आत्मा नभएको शरीर जिउँदो देखिए पनि मृत हुन्छ। अडिट रिपोर्ट सार्वजनिक नगर्नु, दाताको विवरण लुकाउनु र खर्चको स्पष्ट विवरण नदिनु पारदर्शिताको अपमान हो। यदि तपाईं साँच्चै नि:स्वार्थ अभियन्ता हुनुहुन्छ भने, यी प्रश्न तपाईंका लागि बोझ होइन सहज बन्नुपर्ने थियो।

तपाईंको नाम फ्री तिब्बत मुभमेन्टसँग जोडिएर आउनु अर्को गम्भीर विषय हो। नेपालको परराष्ट्र नीति स्पष्ट छ– एक चीन नीति। यो कुनै दलको, कुनै सरकारको वा कुनै नेताको नीति होइन। यो राष्ट्रको आधिकारिक नीति हो। यस्तो संवेदनशील विषयमा तपाईंको मौनता खतरनाक छ। यहाँ अस्पष्टता चल्दैन। तपाईं यो नीतिमा प्रतिबद्ध हुनुहुन्छ कि हुनुहुन्न? स्पष्ट भन्नुपर्छ।

यदि प्रतिबद्ध हुनुहुन्छ भने, फ्री तिब्बत मुभमेन्टसँगको सम्बन्धबारे खुला र स्पष्ट प्रष्टीकरण दिनुपर्छ। यदि प्रतिबद्ध हुनुहुन्न भने, मतदाताले तपाईंलाई राष्ट्रिय हितका लागि जोखिमका रूपमा हेर्नु स्वाभाविक हुन्छ। राष्ट्रको सार्वभौमिकता भावनात्मक नारा होइन, व्यवहारिक प्रतिबद्धताबाट जोगिन्छ।

अर्को महत्वपूर्ण कुरा के हो भने गोरखा जिल्लाको सीमा पूर्व, पश्चिम र उत्तरमा तिब्बतसँग जोडिएको छ। तपाईंले उम्मेदवारी दिनुभएको मेरो निर्वाचन क्षेत्र पनि तिब्बतको सीमासँग जोडिएको छ। अर्कोतर्फ इतिहासदेखि नै गोरखा र तिब्बतबीचको आफ्नै व्यापारिक र जनस्तरको सम्बन्धबारे तपाईं जानकार नै हुनुहुन्छ होला भन्ने अपेक्षा लिएको छु। यदि तपाईंले फ्री तिब्बत मुभमेन्टसँगको सम्बन्धबारे स्पष्ट जवाफ दिनुभएन भने भोलि फ्री तिब्बतका लागि मेरो निर्वाचन क्षेत्र मात्र नभई समग्र गोरखा जिल्लालाई नै प्रयोगशाला बनाउन खोजिरहनु त भएको छैन? एउटा सचेत मतदाताले तपाईंलाई यो प्रश्न किन नगर्ने?

दीपक भट्ट, सुलभ अग्रवालजस्ता विवादास्पद व्यापारीहरूसँग तपाईंको निकटता र सहकार्यबारे सार्वजनिक रूपमा प्रश्न उठेका छन्। यी नामहरू स्वच्छ व्यापार, पारदर्शी लगानी र नैतिक पुँजीका प्रतीक होइनन् भन्ने आमधारणा छ। सामाजिक सेवा यदि स्वार्थी पुँजीपतिसँग गाँसियो भने, त्यो सेवा रहँदैन, त्यो सेवाको व्यापार बन्छ। धर्म, नैतिकता र नागरिक चेतनाले यस्तो व्यापारलाई पाप भन्छ। तपाईंले यस्ता सम्बन्ध संयोग हुन् कि सचेत सहकार्य, त्यसबारे स्पष्ट जवाफ दिनैपर्छ।

पीडितप्रति तपाईंको धारणा के हो? क्षतिप्रति तपाईंको सार्वजनिक आत्मालोचना छ कि छैन? पुनर्निर्माणको वित्तीय भारबारे तपाईंको भूमिका के हुन्छ?

जेनजी आन्दोलनपछि देशले भोगेको क्षति असाधारण छ। ८४ अर्बभन्दा बढीको भौतिक नोक्सानी, ५४ जिल्ला र सयौँ स्थानीय तह प्रभावित, हजारौँ भवन र सवारी साधन ध्वस्त। सँगसँगै सरकारी, निजी र सामुदायिक संरचना तहसनहस भए। जेनजी आन्दोलनमा भौतिक क्षति मात्रै ८४ अर्ब ४५ करोडको भएको छ। ५४ जिल्लाका दुई सय ६२ स्थानीय तह प्रभावित भए र दुई हजार एक सय ६८ निकाय र संस्था, दुई हजार ६ सय ७१ भवन, १२ हजार ६ सय ५९ सवारीसाधन क्षतिग्रस्त भएका छन्। भवनहरूको क्षति मात्रै ३९ अर्ब ३१ करोड बराबरको छ। सवारी साधनमा भएको नोक्सानी १२ अर्ब ९३ करोड नाघेको छ।

कुल क्षतिमा सार्वजनिक क्षेत्रमा ४४ अर्ब ९३ करोड र निजी क्षेत्रमा ३३ अर्ब ५४ करोड, सामुदायिक क्षेत्रमा ५ अर्ब ९७ करोडको क्षति भएको मूल्यांकन गरिएको छ। जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। यस्तो अवस्थामा आफूलाई जेनजी अभियन्ता भन्ने व्यक्ति मौन बस्नु लज्जास्पद मात्र होइन, गैरजिम्मेवार पनि हो। आन्दोलनले क्षति गर्‍यो कि गरेन, त्यो बहसको विषय हुन सक्छ। तर क्षति भएपछि त्यसप्रति जिम्मेवारीबोध नदेखाउनु नैतिक अपराध हो।

त्यस्तै पीडितप्रति तपाईंको धारणा के हो? क्षतिप्रति तपाईंको सार्वजनिक आत्मालोचना छ कि छैन? पुनर्निर्माणको वित्तीय भारबारे तपाईंको भूमिका के हुन्छ? यी प्रश्नको उत्तर आजसम्म नआउनु गम्भीर कमजोरी हो। धर्मशास्त्रले भन्छ– जसले आगो लगायो, उसैले निभाउने जिम्मा पनि लिन्छ। तपाईंले आगो लगाउनुभयो कि भएन भन्ने बेग्लै प्रश्न हो तर आगोबाट जलेको घर देखेर मुख अन्यत्रै फर्काउनु पाप हो।

काठमाडौं र पोखरामा तपाईंको नाम ठेक्का, व्यापारिक अवसर र राजनीतिक पहुँचसँग जोडिएर आउँछ। राजनीति सेवा हो भने, व्यवसाय र ठेक्काबाट दूरी राख्नुपर्छ। नत्र राजनीति सेवा होइन, स्वार्थको शासन बन्छ। सांसद बन्न चाहने व्यक्तिले आफ्नो आर्थिक स्वार्थ सार्वजनिक रूपमा स्पष्ट गर्नुपर्छ। कुन–कुन व्यवसायमा संलग्न हुनुहुन्छ, ती व्यवसायले राज्यका ठेक्का पाएका छन् कि छैनन्, सांसद बनेपछि ती सम्बन्धबाट पूर्ण रूपमा अलग हुनुहुन्छ कि हुनुहुन्न? यी सबै प्रश्नको जवाफ मतदाताले पाउनुपर्छ।

जेनजी आन्दोलनका बेला प्रत्यक्ष कार्यकारी र संविधान संशोधन प्रमुख एजेन्डा बनाइएको थियो। तर तपाईंले यी एजेन्डा छोडेर किन प्रतिनिधि सभा निर्वाचनमा सम्झौता गर्नुभयो?

राजनीतिक प्रश्नको पनि उत्तर दिनुहुनेछ भन्ने अपेक्षा लिएको छु। तपाईं जेनजी युवाहरूको प्रदर्शनमा पानी बाँड्दै हिँड्नुभएको थियो। एक्कासि सरकार बनाउने र गिराउनेसम्मको राजनीतिक हैसियतमा कसरी पुग्नुभयो?

कहिले ‘दलहरू आवश्यक छैनन्’ भन्ने, कहिले बहुदलीय लोकतन्त्रको वकालत गर्ने, कहिले नेताहरूलाई चुनावमा आउन नदिने घोषणा गर्ने, अनि अन्ततः तिनै दललाई ‘अन्तिम विकल्प’ का रूपमा प्रस्तुत गर्ने। यस्ता विरोधाभासपूर्ण अभिव्यक्तिले तपाईंको राजनीतिक विश्वसनीयतामाथि नै प्रश्न खडा गरेको छ। कहिले ‘संसद् भंग गरिदिउँ’ भन्ने त कहिले ‘संसद् पुनःस्थापना गरिदिउँ’, कहिले ‘चुनाव हुनै दिँदैनौँ’ त कहिले ‘यो व्यवस्था नै फालिदिउँ’ भन्दै मनपरी धारणा राख्ने गर्नुहुन्छ। तपाईं यस्ता अभिव्यक्ति किन र के उद्देश्यसाथ राख्नुहुन्छ?

त्यस्तै जेनजी आन्दोलनका बेला प्रत्यक्ष कार्यकारी र संविधान संशोधन प्रमुख एजेन्डा बनाइएको थियो। तर तपाईंले यी एजेन्डा छोडेर किन प्रतिनिधि सभा निर्वाचनमा सम्झौता गर्नुभयो? अब आउने प्रतिनिधि सभाले पनि संविधान संशोधन गर्न सक्दैन किनभने संविधान संशोधन गर्न राष्ट्रिय सभाको पनि आवश्यक पर्छ, जहाँ तपाईंहरूको प्रतिनिधित्व छैन। यदि राष्ट्रिय सभाले संविधान संशोधनको एजेन्डालाई स्वीकार नगरे फेरि आन्दोलन गर्नुहुन्छ?

जेनजी आन्दोलनको माग सम्बोधन हुन सक्ने अवस्था थिएन र त्यही संरचना हुने थियो भने संसद् विघटन किन र केका लागि? केवल एक व्यक्तिको सत्ता गिराउनका लागि राज्यको यति ठूलो क्षति आवश्यक थियो र? यसप्रति आत्मसमीक्षा गर्नुभयो?

गोरखा–१ ले धेरै देखिसकेको छ। नारा, क्रान्ति, आश्वासन र धोका। अब मतदाता थाकेका छन्। अब यो क्षेत्रलाई चमत्कार होइन, इमानदार चाहिएको छ।

महत्वपूर्ण प्रश्न के हो भने अभियन्ताको परिचय बनाइरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य हुन पुग्नुभयो। किन तपाईं दलको कार्यकर्ता बन्न जानुभयो? राजनीतिक दलको सदस्य बन्नु तपाईंको अधिकार होला। तर रास्वपाको नेता बन्नु थियो वा सांसद बन्ने रहर नै थियो भने जेनजी आन्दोलन किन आवश्यक पर्‍यो? जेनजी आन्दोलनको पहिलो दिनको प्रदर्शनमा भएको हिंसा दुःखद र खेदजनक छ। तर दोस्रो दिन भएको हिंसा र संसद्, सर्वोच्च अदालत, सिंहदरबारलगायत राज्यका बहुमूल्य सम्पदामा लगाइएको आगो र त्यसको क्षतिको जिम्मेवारी तपाईंले र रास्वपाले किन नलिने? एउटा अभियन्ता कुनै राजनीतिक एजेन्डा र उद्देश्य बेगर केवल क्षणिक लोकप्रियताको आडमा सांसद बन्ने लोभमा फसेको आशंका गरिरहँदा जेनजी आन्दोलनलाई गलत उद्देश्यले किन प्रयोग गर्नुभयो? यसको स्पष्ट जवाफ पनि दिनुहोला।

सारांशमा भन्दा तपाईंको छवि दुईतर्फी देखिन्छ। एकातिर समाजसेवी, अर्कोतिर विवादास्पद आर्थिक र राजनीतिक नेटवर्कको खेलाडी। तपाईंका गतिविधिहरूले व्यक्तिगत महत्वाकांक्षा, आर्थिक स्वार्थ र राजनीतिक सञ्जाललाई सामाजिक सेवाको आवरणमा प्रस्तुत गरेको आरोपलाई बलियो बनाउँछ। वर्तमान राजनीतिक-सामाजिक परिदृश्यमा आफूलाई केन्द्रबिन्दुमा राख्ने रणनीतिक चाल चलाइरहनुभएको स्पष्ट देखिन्छ। जसले तपाईंको वास्तविक उद्देश्य र चरित्रबारे प्रश्न उठाएको छ।

गोरखा–१ ले धेरै देखिसकेको छ। नारा, क्रान्ति, आश्वासन र धोका। अब मतदाता थाकेका छन्। अब यो क्षेत्रलाई चमत्कार होइन, इमानदार चाहिएको छ। यस क्षेत्रले कुनै भगवान् खोजिरहेको छैन, जिम्मेवार प्रतिनिधि खोजिरहेको छ। त्यसैले अन्तिम प्रश्न यही हो– सुदनजी, तपाईं अरूभन्दा फरक कसरी हो? गल्ती गरे स्वीकार गर्ने साहस छ कि छैन? नैतिकता र राष्ट्रप्रतिको निष्ठा भाषणमा मात्र हो कि व्यवहारमा पनि छ?

यदि यी प्रश्नको जवाफ दिन सक्नुहुन्न भने, उम्मेदवार हुनु तपाईंको अधिकार हुन सक्छ, तर मत माग्ने अनैतिकता तपाईंसँग रहनेछैन। मतदाता अब दृष्टिविहीन छैनन्। दृष्टि भएका मतदाताहरू आँखा चिम्लेर मत दिँदैनन् बरु उनीहरू त प्रश्न गर्छन्। इतिहास साक्षी छ, प्रश्नको जवाफ नदिने सत्ता टिक्दैन।

सत्य बोलेर मत माग्नुभयो भने हार पनि सम्मानजनक हुन्छ। तर असत्य, मौनता र छलको भरमा जित्नुभयो भने त्यो जित अभिशाप बन्छ। केवल तपाईंका लागि होइन, तपाईंले प्रतिनिधित्व गर्न खोजेको समाज र त्यस क्षेत्रका जनताका लागि पनि।

अन्त्यमा, सार्वजनिक क्षेत्रमा उठेका प्रश्नहरूलाई मैले लिपिबद्ध रूपमा उठाए पनि यी प्रश्नहरू मेरा मात्र होइनन्, सबै मतदाता र नेपालीका प्रश्न हुन्। त्यसैले सार्वजनिक रूपमै यसको उचित जवाफ दिनुहुनेछ भन्ने अपेक्षा लिएको छु।

जिल्लावासीका नाताले तपाईंसँग सोधिनुपर्ने अन्य केही प्रश्न पनि छन्, यी प्रश्नहरूको जवाफ दिएपछि म अर्को पत्रमार्फत तपाईंलाई ती प्रश्नहरू सोध्नेछु। आशा छ तपाईं भित्र जवाफदेहिताको दियो मरेको छैन र तपाईंले मेरा प्रश्नहरूको जवाफ दिनु नै हुनेछ।

धन्यवाद।

सन्तोष धिताल

मतदाता, गोरखा– १

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सन्तोष धिताल
सन्तोष धिताल
लेखकबाट थप