आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

कांग्रेसले सबैलाई समेटेर देश सम्हाल्छ : गगन थापा

मङ्गलबार, २७ माघ २०८२, १९ : ५६
मङ्गलबार, २७ माघ २०८२

सिरहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र समुदायलाई समेटेर देश सम्हाल्ने जिम्मेवारी कांग्रेसले पूरा गर्ने बताएका छन् । मंगलबार सिरहाको लहानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा मुलुकलाई सही दिशा दिन कांग्रेसजस्तो जिम्मेवार शक्तिको आवश्यकता रहेको उल्लेख गरे।

सम्बोधनका क्रममा उनले कांग्रेस केवल राजनीतिक दल मात्र नभइ सङ्कटको सारथी भएको दाबी गरे । “हामी नयाँ सोच र सङ्कल्पका साथ आएका छौँ,” सभापति थापाले भने, “कुनै उत्तेजना, झगडा वा घृणा नफैलाई सबैलाई मिलाएर लैजाने र देश सुधार्ने सामर्थ्य कांग्रेससँग मात्र छ ।” त्यसकारण आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गर्नसमेत उहाँले आह्वान गरे ।

बिपी कोइरालाको मेलमिलाप नीति र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेसले खेलेको भूमिका स्मरण गर्दै उनले भने, “२०३३ सालमा बिपीले ज्यानको बाजी लगाएर देश जोगाउन खोज्नु वा सशस्त्र युद्धमा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु कांग्रेसको राष्ट्रिय चरित्र थियो । आज फेरि देशलाई त्यस्तै सम्हाल्ने शक्तिको खाँचो छ ।” उहाँले कांग्रेसले कहिल्यै प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पारे ।

नागरिकमा राज्यका संस्थाप्रति चरम अविश्वास रहेको स्वीकार गर्दै महामन्त्री थापाले अबको मुख्य एजेन्डा भ्रष्टाचार अन्त्य हुनुपर्नेमा जोड दिए। “नागरिक रिसाएका छन् किनकि उनीहरूले हरेक समस्याको जडमा भ्रष्टाचार देखेका छन्,” उनले भने, “नेताको सफा नियत र ठीक नीति भयो भने नेपालबाट भ्रष्टाचार हट्छ र मुलुक अगाडि बढ्छ । त्यसैले आफ्नो बारेमा नसोची नागरिकहरूले के भन्न खोजिरहेका छन्, भन्ने बुझ्ने प्रयास गरौँ । अनि जनतामा आशा जगाउन सकिन्छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप