घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको गणना सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घको आयोजनामा आजदेखि तीन दिनसम्म हरिहाँसको गणना गरिनेछ ।
गणना टोलीमा आठ जना सहभागी छन् । तीन वटा उपसमूह बनाएर तीन वटा ब्लकमा एकसाथ गणना सुरु गरिएको नेपाल पन्छी संरक्षण सङ्घका स्थलगत परियोजना अधिकृत हिरुलाल डगौराले जानकारी दिए ।
उनका अनुसार घोडाघोडी सिमसार क्षेत्रमा प्रत्येक वर्ष जाडो र गर्मीयाममा सूचक प्रजाति हरिहाँसको गणना गरिँदै आइएको छ । जाडोयामको तुलनामा गर्मीयाममा हरिहाँसको सङ्ख्यामा कमी आउने उनले बताए ।
डगौराका अनुसार कैलालीको भजनी नगरपालिकास्थित लौकाहा–भौकाहा, घोरताल तथा सोनियाँ–रुपियाँलगायत सिमसार क्षेत्रमा हरिहाँसले प्रजनन (ब्रिडिङ) गर्ने गर्दछन् । प्रजननका लागि हरिहाँस जिल्लाका विभिन्न सिमसार क्षेत्रमा फैलिने भएकाले गर्मीयाममा घोडाघोडी क्षेत्रमा यसको सङ्ख्या जाडोयामको तुलनामा कम देखिने गरेको उनले बताए ।
गर्मीयामको गणनाअनुसार सन् २०२३ मा २१२, सन् २०२४ मा २२५ र सन् २०२५ मा १६४ वटा हरिहाँस यहाँ अभिलेख भएका छन् । जाडोयाममा भने सन् २०२२ मा ३९४, सन् २०२३ मा ३१६ र सन् २०२४ मा ४११ पुगेको थियो ।
सन् २०२५ मा यो सङ्ख्या घटेर ३७२ मा झरेको थियो । सन् २०२६ को जाडोयाममा भने हरिहाँसको सङ्ख्या ४२९ पुगेको तथ्याङ्क छ । सोही अवधिमा अन्य जलपंक्षीको सङ्ख्या भने क्रमशः घट्दै गएको तथ्याङ्कले देखाएको छ ।
यस वर्षको गर्मीयामको गणना सम्पन्न भएपछि हरिहाँसको वास्तविक अवस्था, वितरण तथा सङ्ख्याको विस्तृत विवरण सार्वजनिक गरिने पन्छी संरक्षण सङ्घका अधिकृत डगौराले बताए । हरिहाँससँगै घोडाघोडी सिमसार क्षेत्रमा पाइने अन्य जलपन्छीको पनि गणना गरिने उनले जानकारी दिए ।
घोडाघोडी ताल तराइकै ठूलो सिमसार क्षेत्रका रूपमा रहेको छ । सन् २००३ मा घोडाघोडीलाई विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको हो । त्यतिबेला हरिहाँसको सङ्ख्या एक हजार थियो ।
घोडाघोडी संरक्षणका लागि विभिन्न निकायले काम गर्दै आएका छन् । चराको उचित बासस्थान रहेकाले पनि यस क्षेत्रलाई २०७८ फागुन २७ फागुन गते नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो । घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर गोही, हरिहाँस र जङ्गली धान हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान
-
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसै वर्ष स्वदेश फर्कन्छु’
-
सहकारी समस्या समाधान: मापदण्डले ल्याएको उत्साह व्याख्याले सेलायो
-
भदौ २४ पछि प्रतिगामी चलखेल बढ्यो, वाम एकतामा पूर्वप्रधानमन्त्रीहरूको जोड
-
सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि फेला परेपछि बजार अनुगमन तीव्र
-
कारागारमा अवैध असुली प्रकरण : थप ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण