आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति

आइतबार, १४ असार २०८३, १२ : ४९
आइतबार, १४ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनबाट स्वतन्त्र, सन्तुलित र राष्ट्रिय हित केन्द्रित परराष्ट्र नीति अङ्गीकार गरेको छ ।
  • रास्वपाले कुनै पनि अन्तर्राष्ट्रिय शक्ति केन्द्रप्रति अनावश्यक झुकाव वा निर्भरता नराख्ने स्पष्ट पारेको छ ।
  • बदलिँदो विश्व परिवेशमा जलवायु परिवर्तन, ऊर्जा सुरक्षा जस्ता मुद्दाहरूमा नेपाललाई विश्व मञ्चमा सक्रिय र प्रभावकारी आवाजका रूपमा स्थापित गर्ने उल्लेख छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनबाट स्वतन्त्र, सन्तुलित र राष्ट्रिय हित केन्द्रित परराष्ट्र नीति अङ्गीकार गरेको छ । 

चितवनमा सम्पन्न महाधिवेशनमा पार्टीका सभापति रवि लामिछानेले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन तथा प्रस्तावमा अन्तर्राष्ट्रिय मामिला र विदेश नीतिका सम्बन्धमा नेपालको संविधानले परिभाषित गरेका राष्ट्रिय हित र स्वाभिमानलाई नै वैदेशिक नीतिको मुख्य मार्गदर्शक मानिएको उल्लेख छ । 

नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय सम्मानको प्रवर्द्धनलाई परराष्ट्र नीतिको रणनीतिक साधन बनाइनुपर्नेमा सभापति लामिछानेले जोड दिएका छन् । रास्वपाले कुनै पनि अन्तर्राष्ट्रिय शक्ति केन्द्रप्रति अनावश्यक झुकाव वा निर्भरता नराख्ने स्पष्ट पारेको छ । बहुविविध साझेदारी, रणनीतिक सन्तुलन र स्वायत्त निर्णय क्षमतामार्फत विश्व मञ्चमा नेपालको भूमिकालाई सुदृढ बनाइने प्रतिवेदनमा उल्लेख छ । 

संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त, असंलग्न आन्दोलनको भावना र अन्तर्राष्ट्रिय कानुनप्रति प्रतिबद्ध रहँदै सबै मित्र राष्ट्रहरूसँग सार्वभौमिक समानताका आधारमा सम्बन्ध विस्तार गरिने पार्टीको नीति रहेको छ ।

बदलिँदो विश्व परिवेशमा उब्जिएका नयाँ र गम्भीर चुनौतीहरूमा नेपालले नेतृत्वदायी भूमिका खेल्नुपर्ने प्रतिवेदनमा उल्लेख गर्दै सभापति लामिछानेले जलवायु परिवर्तन, ऊर्जा सुरक्षा, आपूर्ति शृङ्खला, प्रविधि शासन, साइबर सुरक्षा र आप्रवासन जस्ता मुद्दाहरूमा नेपाललाई विश्व मञ्चमा एक सक्रिय र प्रभावकारी आवाजका रूपमा स्थापित गर्ने उल्लेख गरेका छन् । 

विश्वभर फैलिएका प्रवासी नेपालीहरूलाई रास्वपाले नेपालको सौम्य शक्तिको सबैभन्दा महत्त्वपूर्ण स्रोतका रूपमा व्याख्या गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप