सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु

२५ लाख बिरुवा रोप्ने लक्ष्य
आइतबार, १४ असार २०८३, १३ : ०२
आइतबार, १४ असार २०८३

सारांश

  • लुम्बिनी प्रदेशमा २५ लाख बिरुवा रोप्ने लक्ष्यसहित बृहत् वृक्षारोपण अभियान सुरु भएको छ।
  • अभियानको शुभारम्भ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको महदेवा सामुदायिक वनमा बिरुवा रोपेर गरेका हुन्।
  • मुख्यमन्त्री आचार्यले वृक्षारोपणसँगै संरक्षणमा जोड दिएका छन् भने वनबाट प्रदेश सरकारले करिब एक अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

बुटवल । लुम्बिनी प्रदेशमा बृहत् वृक्षारोपण अभियान सुरु गरिएको छ । आइतबार वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी तथा विभिन्न सामुदायिक वनको सहकार्यमा अभियानको शुभारम्भ गरिएको हो।

त्यसका लागि प्रदेशभर २५ लाख बिरुवा उत्पादन गरिएको छ भने ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको छ। साथै सरकारी, निजी तथा सार्वजनिक स्थानमा बिरुवा रोपिने जनाइएको छ।

अभियानको शुभारम्भ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको गढवा गाउँपालिका–२ महदेवास्थित महदेवा सामुदायिक वनमा बिरुवा रोपेर गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बिरुवा रोप्नु मात्र पर्याप्त नभई त्यसको संरक्षण सबैभन्दा महत्त्वपूर्ण पक्ष भएको बताए । उनले हरेक वर्ष लाखौँ बिरुवा रोपिए पनि संरक्षणको अभावमा अपेक्षित परिणाम हासिल हुन नसकेको उल्लेख गर्दै संरक्षण अभियानमा सबै नागरिकको साझा जिम्मेवारी रहेको बताए ।

वन संरक्षण आयआर्जनको महत्त्वपूर्ण माध्यमसमेत बनेको उल्लेख गर्दै उनले जडीबुटी, काठ तथा दाउराको सदुपयोगबाट स्थानीय समुदाय आत्मनिर्भर बन्दै गएको बताए । वन क्षेत्रबाट प्रदेश सरकारले करिब एक अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको उल्लेख गर्दै वनलाई विकासको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

डिभिजन वन कार्यालय देउखुरीका प्रमुख गणेश खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारुले प्रकृतिको अस्तित्व मानवभन्दा पुरानो भएकाले यसको विनाशले मानव सभ्यतामै सङ्कट निम्त्याउने चेतावनी दिए । उनले वन तथा वातावरण संरक्षणलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले यस वर्षको वृक्षारोपण अभियानमा जैविक विविधतालाई प्राथमिकता दिइएको जानकारी दिए । उनका अनुसार पानी जम्ने क्षेत्रमा जामुन, अन्य स्थानमा मौवा, डाले घाँस, फूल फुल्ने तथा सांस्कृतिक महत्व बोकेका विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् । 

बिरुवा रोपेर मात्र नहुने त्यसको नियमित संरक्षण र हेरचाह आवश्यक रहेको भट्टराईले बताए । लमही नगरपालिकाका कार्यवाहक नगरप्रमुख लक्ष्मी योगीले वन संरक्षणलाई आयआर्जन र उद्यमसँग जोड्नुपर्ने आवश्यकता औँल्याइन्।

त्यस्तै, डिभिजन वन कार्यालय कपिलवस्तु (गौतम बुद्ध) का प्रमुख महेन्द्रराज वाग्लेले वृक्षारोपण सफल बनाउन वन क्षेत्रमा चरिचरण नियन्त्रण, डढेलो व्यवस्थापन, गोडमेल, झाडी सफाइ तथा नियमित स्याहार–सुसारमा विशेष ध्यान दिनुपर्ने बताए।

सामुदायिक वन उपभोक्ता महासङ्घ दाङका अध्यक्ष हरिप्रसाद भुसालका अनुसार महदेवा सामुदायिक वनको १८ हेक्टर क्षेत्रफलमा यसअघि ३० हजारभन्दा बढी बिरुवा रोपिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप