शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सामुदायिक वनमा आगजनी : ३० घन्टे प्रयासपछि नियन्त्रण,१० हजार क्युफिट काठ जलेको अनुमान

शनिबार, ०२ फागुन २०८२, ०९ : ०५
शनिबार, ०२ फागुन २०८२

सारांश

  • रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको सामुदायिक वनमा लागेको आगो ३० घण्टापछि नियन्त्रणमा आएको छ।
  • आगलागीमा करिब ८ देखि १० हजार क्युफिटभन्दा बढी सालको गोलिया काठ जलेको प्रारम्भिक अनुमान गरिएको छ।
  • आगलागी नियतवश गराइएको हुन सक्ने आशंका गरिएको छ र घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेलास्थित नमुना सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा अज्ञात समूहले लगाएको आगो करिब ३० घन्टापछि नियन्त्रणमा आएको छ। बिहीबार दिउँसो सुरु भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनकर्मी तथा सुरक्षाकर्मीको संयुक्त प्रयासमा शुक्रबार साँझ नियन्त्रणमा लिइएको हो।

घटनास्थलमा गौरस्थित नारायणदल गणबाट दमकलसहित नेपाली सेनाको टोली खटिएको थियो। त्यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन सुरक्षा टोली र वन कार्यालयका कर्मचारीहरू निरन्तर परिचालन भएका थिए। डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमन्त कुमार साहका अनुसार संयुक्त टोलीको लगातारको प्रयासपछि आगो नियन्त्रणमा लिन सफल भएको हो।

आगलागीमा २७ स्थानमा घाटगद्दी गरी राखिएको करिब ८ देखि १० हजार क्युफिटभन्दा बढी सालको गोलिया काठ जलेको प्रारम्भिक अनुमान गरिएको छ। उक्त काठ २०७६ सालमा ४ सय केभी प्रसारण लाइन विस्तारका क्रममा काटिएको र पछि सोही वनक्षेत्रमा संकलन गरी राखिएको थियो।

प्रदेशका वन मन्त्री शंकर चौधरी, वन निर्देशक जगरनाथ प्रसाद जैसवाल, रौतहटका सिडिओ दिनेश सागर भुषाल, नेपाली सेनाका कर्णेल विश्वास बिष्ट, प्रहरी प्रमुख (एसपी) सिताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी तथा राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक कुमार बुढाथोकी लगायत सुरक्षा अधिकारीहरू घटनास्थल पुगेर आगो नियन्त्रणमा चासो लिएका  थिए।

डिभिजन प्रमुख साहले आगलागी नियन्त्रणमा समय लाग्नुमा सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरूको निष्क्रियता पनि एक कारण रहेको गुनासो गरे। “समुदायले जिम्मा लिएको वनमा कुनै अप्रिय घटना हुँदा सर्वप्रथम उपभोक्ता समितिका पदाधिकारी नै अग्रसर हुनुपर्छ,” उनले भने, “तर यस घटनामा जिम्मेवार पक्षको सक्रियता नदेखिँदा क्षति बढ्न पुगेको हो।”

उनका अनुसार उपभोक्ता समूहले लामो समयदेखि लेखापरीक्षण तथा साधारणसभा नगरेका कारण काठ बिक्री प्रक्रिया अघि बढ्न सकेको थिएन। सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको उनले जानकारी दिएका छन्।

आगलागी नियतवश गराइएको हुन सक्ने आशंका गरिएको छ। घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गौरबाट ल्याइएको नेपाली सेनाको दमकल हाल पनि वन कार्यालयमै राखिएको छ। आवश्यक परे पुनः निरीक्षण गरी पानी हाल्ने तयारी राखिएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप