शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी GROUND ZERO : बारा–४

किसान श्रेष्ठलाई रहबरको चुनौती, कांग्रेसलाई आफ्नै आस

आइतबार, १० फागुन २०८२, ११ : ४५

सारांश

  • बारा क्षेत्र नम्बर ४ मा आगामी निर्वाचनका लागि पुरानो र नयाँ अनुहारबीच प्रतिस्पर्धा हुँदैछ।
  • किसान श्रेष्ठ एमालेमा फर्किएर चुनाव लड्दै छन्, भने रास्वपाबाट रहबर अन्सारी र कांग्रेसबाट श्यामबाबु गुप्ता प्रतिस्पर्धामा छन्।
  • अन्तिम समयमा हुने आर्थिक चलखेल र ग्रामीण भेगको मतले निर्वाचनको नतिजा निर्धारण गर्ने सम्भावना रहेको छ।
00:00 / NaN:NaN
Audio By AI

जितपुर सिमरा । पूर्व–पश्चिम र उत्तर–दक्षिण जोड्ने त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको संगमस्थल बारा क्षेत्र नम्बर ४ मा अहिले प्राकृतिक गर्मीभन्दा बढी राजनीतिक राप बढेको छ। हेटौँडाबाट ओर्लिनेबित्तिकै महसुस हुने मधेसको तातो हावामा अहिले चुनावी चर्चा र दाउपेचको बाक्लो प्रभाव देखिन्छ। 

यसपटकको निर्वाचनमा यहाँ पुराना हस्ती, नयाँ जोस र चर्चित अनुहारबिच रोचक भिडन्त हुँदैछ।

  • किसान श्रेष्ठको व्यक्तिगत साख, तर चुनौती कायमै

तनहुँबाट बारा झरेका कृष्णकुमार श्रेष्ठ (किसान) ले अघिल्लो पटक यसै क्षेत्रमा तत्कालीन पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) बाट चुनाव जितेका थिए। अहिले उनी पुरानो घर नेकपा एमालेमा फर्किसकेका छन्। अघिल्लो पटक जित हासिल गरेर बारा ४ मा राम्रै व्यक्तिगत प्रभाव छोड्न सफल किसानलाई यसपटकको प्रतिस्पर्धा भने सहज देखिँदैन।

नेकपा एमालेको नामै सुन्न नचाहने केही मतदाताले समेत व्यक्तिगत रूपमा किसानले बाराका समस्या संसद्मा उठाएको भन्दै प्रशंसा गर्ने गरेका छन्। अघिल्लो पटक गठबन्धनबाट जितेका श्रेष्ठलाई यसपटक एमालेको संगठनभन्दा पनि व्यक्तिगत प्रभावले मत आउने देखिन्छ।

14

मधेसबारे केपी ओलीले विगतमा गरेका टिप्पणीप्रति असन्तुष्ट देखिएकाहरू पनि किसानको भने खासै आलोचना गर्दैनन्। तर, केही मतदाताहरू भने जितेर गएपछि फर्किएर नआएको भन्दै उनीसँग असन्तुष्ट छन्।

पथलैयाका व्यवसायी रमेश थापा भन्छन्, ‘व्यक्तिगत रूपमा उहाँ सहयोगी हुनुहुन्छ, तर उहाँले पार्टी फेरिरहने प्रवृत्ति र अहिले एमालेबाट चुनाव लड्दा पुराना एमाले विरोधी मतदाताहरू हच्किएका छन्। मुख्य कुरा उहाँले आफ्नो व्यक्तिगत मत कति जोगाउन सक्नुहुन्छ भन्नेमै हारजित निर्भर देखिन्छ।’

  • रहबरको ‘घण्टी’ बज्ला ?

किसान श्रेष्ठलाई चुनौती दिने मुख्य पात्रका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहबर अन्सारी उभिएका छन्। देशभर र विशेषगरी मधेसमा रास्वपाको लहर रहेकाले यो क्षेत्रमा पनि उनको राम्रै प्रभाव देखिन्छ। राजमार्ग आसपासका बजारमा मात्र नभई देहात (ग्रामीण क्षेत्र) मा पनि ‘घण्टी’ को प्रभाव बढ्दो छ।

rahabar ansari

अमलेखगन्जका स्थानीय युवा सुवास तामाङ भन्छन्, ‘हामीलाई पार्टीका पुराना कुरा सुन्नु छैन, देशैभरि घण्टीको लहर छ। रहबर युवा र भिजन भएका उम्मेदवार हुन्। उनी पर्साका भए पनि छिमेकी जिल्लाकै हुन्, हामीलाई काम गर्ने मान्छे चाहिन्छ। यसपालि अमलेखगन्ज र पथलैया क्षेत्रमा नयाँ अनुहारलाई हेर्ने सोच धेरैको छ।’

यद्यपि, रहबरमाथि प्रतिस्पर्धीहरूले ‘पर्साबाट आएको उम्मेदवार’ भन्दै प्रश्न उठाइरहेका छन्। उनलाई उत्तरी क्षेत्रमा रास्वपाको राष्ट्रिय माहोलले सहयोग पुर्‍याए पनि दक्षिणी क्षेत्रमा भने केही चुनौती छ। 

मुस्लिम समुदायको उल्लेख्य मत रहेको क्षेत्रमा रहबरलाई केही सहज हुने अनुमान गरिए पनि राष्ट्र निर्माण दलका समिम मियाँले उनको सामुदायिक मत काट्न सक्ने देखिन्छ। अर्कोतर्फ जसपा नेता जितेन्द्र सोनलले रहबरविरुद्ध मोर्चाबन्दी गरेको स्थानीयको बुझाइ छ। विगतमा प्रदेश सरकारका बेलाको राजनीतिक ‘इगो’ का कारण सोनल उनीविरुद्ध लागेको बताइन्छ।

  • कांग्रेसमा आफ्नै उम्मेदवार हुँदाको उत्साह

बारा ४ मा नेपाली कांग्रेस पनि यसपटक बलियो रूपमा प्रस्तुत भएको छ। विगतका निर्वाचनमा गठबन्धनका कारण आफ्ना उम्मेदवार नपाएका कांग्रेस कार्यकर्ताहरू यसपटक श्यामबाबु गुप्ताको उम्मेदवारीले उत्साहित छन्। गुप्ताले ‘बदलिएको र नयाँ कांग्रेस’ भन्दै प्रचार गरिरहेका छन्।

3

सिमराका स्थानीय शम्भु गुप्ता भन्छन्, ‘धेरै वर्षपछि हामीले रुख चिह्नमा भोट हाल्न पाउँदैछौँ। श्यामबाबु गुप्ता नयाँ र स्वच्छ छविका उम्मेदवार हुन्। यसपटक कांग्रेसको संगठित मत कतै जाँदैन, जसले गर्दा हामी प्रतिस्पर्धामा अगाडि छौँ।’

सभापति गगन थापा नै मधेस झरेपछि कांग्रेस कार्यकर्तामा थप ऊर्जा पलाएको छ। तर, सांगठनिक मतबाहेक ‘स्विङ भोट’ ल्याउन गुप्तालाई कठिन छ।

  • कुशवाहाको ‘जेनजी’ कार्ड र खनालको ‘इन्ट्री’

नेकपाका अजय कुशवाहा आफूलाई ‘जेनजी’ का उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आक्रामक प्रचारमा छन्। बास्केटबलका अन्तर्राष्ट्रिय खेलाडी र पुराना नेता रामचन्द्र प्यासीका छोरा भएकाले उनलाई केही युवाको साथ छ, तर सहरी क्षेत्रमा उनको पकड कमजोर देखिन्छ।

यसैगरी पूर्वआईजीपी सर्वेन्द्र खनालको उम्मेदवारीले पनि प्रतिस्पर्धालाई रोचक बनाएको छ। समुन्नत नेपाल पार्टीको ‘बाँसुरी’ चुनाव चिह्न लिएर मैदानमा आएका खनाल प्रहरी कमान्डर हुँदाको चर्चाका आधारमा मत मागिरहेका छन्। तर, संगठनको अभावमा उनलाई जित्न कठिन हुने विश्लेषण स्थानीयको छ। शनिबार सिमरामा उनले निकालेको र्‍यालीमा ग्रामीण भेगका महिलाहरूको सहभागिता देखिए पनि ती मत कति ‘बाँसुरी’ मा खस्छन् भन्ने यकिन छैन।

5

  • अन्तिम समयको चलखेल र निर्णायक मत

यस क्षेत्रका बौद्धिक वर्ग भने निर्वाचनको अन्तिम समयमा हुने आर्थिक चलखेलप्रति सचेत देखिन्छन्। सिमराका शिक्षक राजीव यादव भन्छन्, ‘अहिले माहौल जसको पक्षमा देखिए पनि अन्तिम रात हुने आर्थिक चलखेलले नतिजा उल्टाउन सक्छ। तर, यसपटक मतदाता सचेत छन्, पैसा लिए पनि भोटचाहिँ मन परेको मान्छेलाई हाल्ने ‘साइलेन्ट’ प्रवृत्ति देखिन सक्छ।’

यादवका अनुसार सहरमा रास्वपा र एमालेबिच प्रतिस्पर्धा देखिए पनि समग्र क्षेत्रको नतिजा देहातको मतले तय गर्नेछ। किसान श्रेष्ठ, रहबर अन्सारी र श्यामबाबु गुप्ताबिचको त्रिपक्षीय भिडन्तमा जसले ग्रामीण क्षेत्रको मत तान्न सक्छ, उसैले बाजी मार्ने निश्चित छ।

4789111315181111211111WhatsApp Image 2026-02-22 at 13.26.54

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप
रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप
शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप