शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
इनिसा मृत्यु प्रकरण:

इनिसाकी आमासँग मुख्यमन्त्रीले भने– कानुन अनुसार न्याय सुनिश्चित गरिने विश्वास दिलाउँछु

बुधबार, २७ फागुन २०८२, १९ : २१
बुधबार, २७ फागुन २०८२

सारांश

  • सुर्खेतको जनजागरण सामुदायिक वनमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको घटनामा चार जना नाबालक पक्राउ परेका छन्।
  • कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष छानबिन र न्याय दिलाउन प्रतिबद्धता जनाएका छन्।
  • घटनाको विरोधमा वीरेन्द्रनगरमा बालिकामाथि हुने हिंसा बन्द गर्न माग गर्दै आन्दोलन भएको छ, भने घटनाको थप अनुसन्धान जारी छ।

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४ को जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भनिएकी १६ वर्षीया इनिसा विक मृत्यु प्रकरणको विषयले यतिबेला सबैको ध्यान तानेको छ।

प्रहरीले घटनामा संलग्न चार जना नाबालकहरूलाई नियन्त्रणमा लिइसकेको अवस्था छ ।

यद्यपि सामाजिक सञ्जालमा उक्त घटनाबारे यावत् टीकाटिप्पणी आइरहेका छन् । राजनीतिक दल, अधिकारकर्मीदेखि कलाकारहरूले समेत चासोका साथ न्यायका लागि आवाज उठाइरहेका छन् ।

यसैबिच कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बुधबार इनिसाको घरमै पुगेर परिवारसँग भेटेका छन् । परिवारसँग भेटपछि कँडेलले घटनालाई स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 

‘सरकारको तर्फबाट यस घटनाको सत्य तथ्य बाहिर ल्याउने र कानुन अनुसार कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अगाडि बढ्ने छ,’कँडेलले भने, ‘पीडित परिवारलाई न्याय दिलाउने कुरामा प्रदेश सरकार प्रतिबद्ध छ ।’

घटना सार्वजनिक लगतै अपराधमा संलग्नमाथि अनुसन्धान गरी कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशन दिइएको पनि उनले उल्लेख गरेका छन् ।

‘पीडितलाई न्याय दिलाउने र अपराधमा संलग्नमाथि हदैसम्म कारबाही गर्ने विषयमा म जुनसुकै मोर्चाको अग्र भागमा रहन तयार छु,’ कँडेलले थपे ।

यद्यपि बुधबार बिहान पीडित परिवारसँग भेटेको कुरालाई सामाजिक सञ्जालमा तोडमोड गरी प्रचार गरिएको भन्दै कँडेलले आफ्नो ध्यानाकर्षण समेत भएको बताएका छन् ।

‘इनिसा मृत्यु प्रकरणका सन्दर्भमा मैले पीडित परिवारलाई भेटेर समवेदना तथा न्यायका लागि ऐक्यबद्धता प्रकट गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा केही भ्रमपूर्ण टिप्पणीहरू सार्वजनिक भएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’उनले भनेका छन्, ‘यस्तो दुःखद घडीमा परिवारलाई सान्त्वना दिनु ,उहाँहरूका  पीडा सुन्नु र न्यायका लागि आफ्नो तर्फबाट पहल गर्नु मानवीयताको सामान्य दायित्व हो भन्ने मेरो विश्वास छ ।’

भेटघाटका क्रममा आफूले इनिसाकी आमासँग कुरा गर्दै घटनाको निष्पक्ष र कानुनी ढङ्गले अनुसन्धान हुने तथा कानुन अनुसार न्याय सुनिश्चित गरिने विश्वास दिलाएको पनि उल्लेख गरेका छन् ।

‘यस बाहेक कुनै प्रकारको दबाब दिने वा प्रभाव पार्ने कुरा पूर्ण रूपमा गलत र सरासर निराधार हो,’ उनको भनाइ छ ।

पीडित परिवारहरूले बुधबार वीरेन्द्रनगरमा ‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’ जस्ता नारासहित उनीहरुले दबाबमूलक आन्दोलन गरेका छन् । 

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीय इनिसा शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् ।

तर बिहान ९ बजेतिर वीरेन्द्रनगर बजारको उत्तरतर्फ गर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।

प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोही दिन प्रहरीले १६ वर्षीय बालकलाई नियन्त्रणमा लिएको थियो । जुन व्यक्तिले इनिसासँग आफ्नो प्रेम सम्बन्ध रहेको बताएका छन् ।

पीडित पक्षले फागुन २४ गते उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अन्य १५, १६ र १७ वर्षीय बालकहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।

मृतक बालिका वीरेन्द्रनगरको उषा बालबाटिकामा कक्षा ११ मा अध्ययनरत थिइन् । प्रहरीलाई आफन्तहरूले भने अनुसार, इनिसा २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । तर उक्त दिन शनिबार हो । 

अर्को उनी पढ्ने विद्यालय र इनिसा बेहोस अवस्थामा भेटिएको स्थान निकै टाढा छ ।‘घर परिवारले ट्युसन पढ्न गएको भनिए पनि पक्राउ परेका १६ वर्षीय किशोरले मर्निङ वाक गर्न गएको भनेका छन्,’ एक अनुसन्धान अधिकृतले भने ।

मर्निङ वाक जाने बहानामा ती १६ वर्षीय युवकले शारीरिक सम्बन्ध राखेको र सोही क्रममा अत्यधिक रक्तश्राव भएको भनेका छन् ।साथै, उनले इनिसा बेहोस भएपछि अस्पताल लैजान अन्य साथीहरूको सहयोग मागेको बयान दिएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ भने पोस्टमार्टम रिपोर्ट आउन बाँकी नै छ । त्यसैले सबै कुरा प्रहरीले अहिले बाहिर बोलेको छैन ।परिवारले भने सामूहिक बलात्कारपछि हत्या भएको भन्दै उजुरी दिएका छन् । अभियुक्तहरू सबै इनिसाकै कक्षाका साथीहरू भएको पनि खुलेको छ ।

संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने, सबुत सङ्कलन, प्राविधिक विश्लेषण जस्ता काममा प्रहरीले काम गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप