हालको बजार अनुगमन संयन्त्रमा कमजोरी छ: मन्त्री सिन्हा
सारांश
- मन्त्री अनिल कुमार सिन्हाले उपभोक्ताको हकहित संरक्षण गर्नु राज्यको दायित्व भएको बताए।
- उपभोक्ता संरक्षण ऐन २०७५ को प्रभावकारी कार्यान्वयनका लागि मन्त्रीले जोड दिए।
- मन्त्री सिन्हाले उपभोक्ता अदालत गठनको प्रक्रिया अघि बढेकोमा खुसी व्यक्त गरे।
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले उपभोक्ताको हक–हित संरक्षण गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले प्रत्याभूत गरेको उपभोक्ता अधिकारलाई व्यवहारमा उतार्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
मन्त्री सिन्हाले नेपालको संविधानको धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको कुरा सम्झाए । उनले भने, ‘यो हक केवल कागजमा मात्र सीमित हुनु हुँदैन, यो नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो ।’
उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावलीहरूको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाहरू गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।
लामो समयको प्रयासपछि उपभोक्ताहरूको गुनासो सुन्न र पीडितलाई न्याय दिलाउन ‘उपभोक्ता अदालत’ गठनको प्रक्रिया अघि बढेकोमा मन्त्रीले खुसी व्यक्त गरे । आफू विगतमा न्याय क्षेत्रमा रहँदा पनि उपभोक्ता हितका लागि पहल गरेको उल्लेख गर्दै उनले अब गठन हुने अदालतले बजारका बेथिति नियन्त्रण गर्न र व्यवसायीलाई जिम्मेवार बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
मन्त्री सिन्हाले हालको बजार अनुगमन संयन्त्रमा केही कमजोरी रहेको स्वीकार गरे। ‘हाम्रो अनुगमन संयन्त्र अझै प्रविधिमैत्री र पूर्ण रूपमा दक्ष हुन सकेको छैन, यसलाई सुधार गर्न आवश्यक छ,’ उनले भने ।
साथै, सरकारले पेट्रोलियम पदार्थ र खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरूको भण्डारण क्षमता कम्तीमा ३ महिनाका लागि पुग्ने गरी विकास गर्न आवश्यक रहेको उनले बताए ।
विगतका अप्ठ्यारा समयमा, विशेष गरी २०७२ सालको भूकम्प र नाकाबन्दीका बेला साना व्यवसायीहरूले मूल्य वृद्धि नगरी जनतालाई पुर्याएको सहयोगको मन्त्रीले प्रशंसा गरे । यद्यपि, हाल बजारमा देखिएका कालोबजारी, कृत्रिम अभाव र सिन्डिकेट जस्ता विकृतिलाई भने कुनै पनि हालतमा छुट नदिइने उनले स्पष्ट पारे ।
‘सुरक्षित उत्पादन र विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन’ भन्ने नारालाई सार्थक बनाउन उपभोक्ता आफैँ पनि सचेत हुनुपर्ने मन्त्री सिन्हाले बताए । वस्तु खरिद गर्दा लेबल, उत्पादन मिति, उपभोग्य मिति र मूल्य (एमआरपी) अनिवार्य रूपमा हेर्न उनले आग्रह गरे । विज्ञापनको भ्रममा नपरी गुणस्तरीय वस्तु छनोट गर्न सक्ने सचेत उपभोक्ताले नै मर्यादित बजार निर्माण गर्न सहयोग पुग्ने उनले बताए ।
कार्यक्रममा उपभोक्ता अधिकारको क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरू उपभोक्ता अधिकारकमी र पत्रकारहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा मन्त्रालयका पदाधिकारी, उपभोक्ता अधिकारकर्मी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण