बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्यात प्रवर्द्धनका लागि कम्तीमा १ प्रतिशत बजेट तर्जुमा गर्न निजी क्षेत्रको माग

सोमबार, ०९ चैत २०८२, २० : ३५
सोमबार, ०९ चैत २०८२

काठमाडौँ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आगामी आर्थिक वर्षको बजेटमा निर्यात प्रवर्द्धनका कार्यक्रमहरू समावेश गर्ने उद्देश्यले निजी क्षेत्रका सरोकारवालाहरूसँग छलफल गरेको छ ।

सोमबार ललितपुरमा केन्द्रले विभिन्न सरोकारवाला निकायहरूसँग आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा छलफल गरेको हो । 

उक्त छलफल कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका सदस्य राष्ट्र भूषण चकुबाजीले निर्यात प्रवर्द्धनका लागि विद्यमान नीतिगत जटिलताहरू हटाउनुपर्ने बताए । 

उनले नेपाली वस्तुहरूको अन्तर्राष्ट्रिय बजारीकरणका लागि विशेष बजेटको व्यवस्था गरिनुपर्नेमा जोड दिए । उनले साना तथा मझौला उद्योगीहरूलाई निर्यातमा प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउन सुझाव दिए ।

त्यसैगरी नेपाल तयारी पोशाक उद्योग सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले तयारी पोशाक क्षेत्र नेपालको प्रमुख निर्यातजन्य क्षेत्र भए पनि लागत वृद्धिका कारण विश्व बजारमा प्रतिस्पर्धा गर्न कठिन भइरहेको बताए । 

उनले निर्यात प्रवर्द्धनका लागि कम्तीमा १ प्रतिशत बजेट तर्जुमा गर्न आवश्यक रहेको बताए । उनले बजेटमार्फत निर्यातमा दिइने नगद प्रोत्साहन लाई सरल र व्यवस्थित बनाउनुका साथै कच्चा पदार्थको आयातमा भन्सार सहुलियत दिनुपर्ने माग गरे।

हिमाल पार व्यापार सङ्घका महासचिव रामचन्द्र पराजुलीले उत्तरी नाकाहरूबाट हुने व्यापारमा रहेका भौतिक पूर्वाधारका समस्या र क्वारेन्टाइनका चुनौती रहेको बताए । उनले चीनसँगको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन र पारवहन लागत घटाउन बजेटले विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे । 

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले निजी क्षेत्रबाट प्राप्त सुझावहरू अत्यन्त महत्त्वपूर्ण रहेको र यसलाई आगामी वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न केन्द्रले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारी र निजी क्षेत्रको सहकार्यबाट मात्रै देशको व्यापार घाटा न्यून गर्न र निर्यात वृद्धि गर्न सम्भव हुने बताए ।

कार्यक्रममा विभिन्न वस्तुगत सङ्घका प्रतिनिधिहरूले निर्यातका लागि आवश्यक प्रयोगशालाको अभाव, बजार सूचना प्रणालीको कमी र अन्तर्राष्ट्रिय व्यापार मेलाहरूमा सहभागिताका लागि सरकारले गर्नुपर्ने सहयोगका बारेमा आफ्ना धारणाहरू राखेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप