आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सभा बैठकमा सांसदहरूले के–के भने ?

सोमबार, ०७ वैशाख २०८३, १६ : ३७
सोमबार, ०७ वैशाख २०८३

बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनको १३औँ बैठकमा प्रदेश सभा सदस्यहरूले मूल्यवृद्धि, भन्सार नीति लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबारको बैठकमा बोल्दै सदस्यहरूले भन्सारमा १०० रुपैयाँदेखि शुल्क लाग्ने व्यवस्था र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवनमा गम्भीर असर परेको भन्दै उक्त निर्णय फिर्ता लिन सङ्घीय सरकारसँग माग गरेका छन्।

प्रदेश सभा सदस्य कृष्णा कुश्मा थारुले इन्धन महँगिँदा आम नागरिक प्रत्यक्ष मारमा परेको बताइन्। इन्द्राकुमारी गहतराजले बालेन शाहको नेतृत्वमा सरकार गठन भएयता नुनदेखि सुनसम्मको मूल्यवृद्धि भएको उल्लेख गर्दै तत्काल मूल्य समायोजन गर्न माग गरिन्।

त्यसैगरी हेमा बेल्वासेले सीमापारिबाट ल्याइने सामान्य घरायसी सामानमा १०० रुपैयाँभन्दा माथि भन्सार तिर्नुपर्ने व्यवस्थाप्रति कडा आपत्ति जनाउँदै यस्तो नियमले गरिबको भान्सामा प्रत्यक्ष असर परेको बताइन्।

तारा थापाले मूल्यवृद्धिका कारण विपन्न वर्गको जीवन झन् कष्टकर बनेको उल्लेख गर्दै राहतको व्यवस्था गर्न आग्रह गरिन्।

प्रदेश सभा सदस्य मिनाकुमारी श्रेष्ठले बाँके दक्षिण क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न माग राखिन्। अन्य सदस्यहरू मिनाकुमारी बोहोरा, चन्द्रकेश गुप्ता, लोकाकुमारी विश्वकर्मा र विष्णुप्रसाद पन्थीले पनि विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

बैठकमा सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली सार्कीले दलित अधिकारसम्बन्धी विधेयकमाथिको समितिको प्रतिवेदन प्रस्तुत गरेका छन्। यस्तै, कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गरेका छन्।

प्रदेश सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप