दुई दिने बिदा पुनर्विचार गर्दै कोशी प्रदेश
सारांश
- कोशी प्रदेश सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले सुरु गरिएको हप्ताको दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था प्रभावकारी नभएको निष्कर्ष निकाल्दै साबिक बमोजिम नै हप्ताको ६ दिन कार्य दिन कायम गर्ने तयारी गरेको छ ।
- मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक सञ्जालमार्फत सुझाव माग्दै दुई दिने बिदा नीतिले सोचेजस्तो उपलब्धि नदिएको बताएका छन् ।
- इन्धन खपत र प्रशासनिक खर्च घटाउने मुख्य उद्देश्यसहित लागू गरिएको दुई दिने बिदाले सेवाग्राही मारमा परेको र सरकारी कामकारबाही सुस्त भएको भन्दै यसको आलोचना हुँदै आएको छ ।
विराटनगर । कोशी प्रदेश सरकारले आफ्ना मन्त्रालय र मातहतका कार्यालयहरूमा साबिक बमोजिम नै हप्ताको ६ दिन कार्य दिन कायम गर्ने तयारी गरेको छ । पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले सुरु गरिएको हप्ताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने व्यवस्था प्रभावकारी नभएको निष्कर्ष निकाल्दै सरकारले यस्तो गृहकार्य अघि बढाएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा सुझाव माग्दै दुई दिने बिदा नीतिले सोचेजस्तो उपलब्धि नदिएको बताएका छन् ।
‘कोशी प्रदेश सरकारले आफ्ना मन्त्रालय र मातहत अफिसलाई हप्ताको ६ दिन नै कार्य दिन बनाएर (साबिक झैँ बिदा शनिवार १ दिन मात्रै) काम गर्दा कस्तो होला ? हप्ताको ५ दिन मात्रै काम गर्दा कार्य दिन नपुग्ने र खर्च तथा इन्धन बचत खासै उपलब्धि देखिएन । यहाँको सुझाव पाउँ !,’ मुख्यमन्त्री कार्कीले लेखेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको र आपूर्ति असहज भएपछि बालेन शाह नेतृत्वको सरकार गठन भएलगत्तै गएको चैत २२ गतेदेखि शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा आएको थियो ।
इन्धन खपत र प्रशासनिक खर्च घटाउने मुख्य उद्देश्यसहित यो नियम देशैभर लागू गर्ने प्रयास गरिएको थियो । यो व्यवस्था लागू भएपछि कतिपय स्थानीय तहले यसलाई अस्वीकार गर्दै साबिककै व्यवस्थाअनुसार कार्यालयहरू सञ्चालन गरे पनि अधिकांश सरकारी कार्यालय र स्थानीय तहले यसको पालना गरेका थिए ।
तर, दुई दिन बिदा दिँदा सेवाग्राही मारमा परेको, सरकारी कामकारबाही सुस्त भएको र मुख्य उद्देश्य भनिएको इन्धन तथा प्रशासनिक खर्च बचतमा कुनै ठुलो परिवर्तन नदेखिए पछि यो नीतिको आलोचना हुँदै आएको छ ।
मुख्यमन्त्री कार्कीले फेसबुकमार्फत नागरिक र सरोकारवालाहरूसँग सुझाव मागेपछि कोशी प्रदेशमा दुई दिने बिदा कटौती हुने सम्भावना बलियो बनेको छ । सर्वसाधारण र विज्ञहरूले पनि हप्तामा दुई दिन बिदा दिँदा सार्वजनिक सेवा प्रवाहमा गम्भीर असर परेको भन्दै मुख्यमन्त्रीको प्रतावकै पक्षमा सकारात्मक प्रतिक्रिया दिन थालेका छन् ।
यस विषयमा कोशी प्रदेश मन्त्रिपरिषद्को आगामी बैठकले औपचारिक निर्णय गर्न सक्ने स्रोतले जनाएको छ । यदि यो निर्णय भएमा कोशी प्रदेश दुई दिने बिदा नीतिलाई उल्ट्याएर पुनः ६ दिने कार्यतालिकामा फर्किने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका श्रम संहिताको सफलता वा असफलता राज्यहरूमा निर्भर
-
कुञ्जना घिमिरे ‘सुन्तली’ भन्छिन्– ‘विगत सम्झेर आज पनि डाँको छोडेर रुन्छु’
-
दूषित खानाले वार्षिक १५ लाखको मृत्यु : विश्व स्वास्थ्य सङ्गठन
-
‘पेन्सन पट्टा’ बेलायत र हङकङमा पनि रिलिज हुने
-
‘नेपाली ब्रो’ भन्थे : मेरो हातबाट कसैको ज्यान नजाओस्, तर आफ्नै श्रीमतीको हत्या गरे
-
१९ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण