विद्यार्थी संगठन खारेजी निर्णयप्रति पूर्णबहादुर खड्काको आपत्ति
काठमाडाैँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का ले विद्यार्थी संघ–संगठन तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने सरकारी निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले उक्त कदमलाई लोकतान्त्रिक मूल्य–मान्यता विपरीत र अधिनायकवादी प्रवृत्तिको संकेतका रूपमा व्याख्या गरेका छन्।
खड्काले मंगलबार जारी गरेकाे वक्तव्यमा नेपालको राजनीतिक इतिहासमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्म आइपुग्दा विद्यार्थीहरूको योगदान अविस्मरणीय रहेको बताएका छन्। उनले निर्दलीय पञ्चायती व्यवस्थाको समयमा राजनीतिक दलमाथि प्रतिबन्ध हुँदा पनि विद्यार्थी संगठनहरूले लोकतन्त्रको पक्षमा जनचेतना फैलाएको स्मरण गरेका छन्।
उनका अनुसार २०३६/०३७ सालको विद्यार्थी आन्दोलन, २०४६ को जनआन्दोलन तथा २०६२/०६३ को ऐतिहासिक आन्दोलनमा विद्यार्थीहरूको सक्रिय सहभागिताले वर्तमान राजनीतिक व्यवस्था स्थापना सम्भव भएको हो।
वक्तव्यमा उनले वर्तमान सरकारले लोकतान्त्रिक स्वतन्त्रताको उपयोगबाट उदाएका युवा नेतृत्व बालेन शाहलाई स्थापित गर्ने वातावरण बनेको भए पनि सोही सरकारले विद्यार्थी संगठनमाथि प्रहार गर्नु विरोधाभाषपूर्ण रहेको उल्लेख गरेका छन्।
खड्काले विद्यार्थी संगठनहरूलाई केवल राजनीतिक आस्थासँग जोडिएका संस्था मात्र नभई शैक्षिक क्षेत्रका विकृति र विसंगतिविरुद्ध आवाज उठाउने वैधानिक निकायको रूपमा वर्णन गरेका छन्। स्ववियुमार्फत विद्यार्थीहरूले नीति निर्माणमा सहभागिता र नेतृत्व विकासको अवसर पाउँदै आएको उनले बताए।
उनले संगठनभित्र देखिएका कमजोरी सुधार्नुपर्नेमा जोड दिँदै त्यसका लागि सम्बन्धित पक्षसँग संवादमार्फत समाधान खोज्नुपर्ने धारणा राखेका छन्। समग्र संरचना नै खारेज गर्ने निर्णय संविधानले दिएको संगठित हुने मौलिक अधिकारको उल्लंघन भएको उनको भनाइ छ।
अन्त्यमा खड्काले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन र विद्यार्थी संगठनहरूको गरिमा कायम राख्न आग्रह गरेका छन्। अन्यथा, लोकतन्त्रको रक्षाका लागि विद्यार्थीहरू पुनः आन्दोलनमा उत्रिन सक्ने चेतावनी समेत दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण