बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इरानका विदेशमन्त्री अराघची आइतबार पुनः इस्लामावादमा

आइतबार, १३ वैशाख २०८३, २१ : १८
आइतबार, १३ वैशाख २०८३

काठमाडाैँ । इरानका विदेश मन्त्री अब्बास अराघची ओमानको भ्रमणपछि आइतबार साँझ पुनः पाकिस्तानको राजधानी इस्लामाबाद फर्किनुभएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

इरानी सरकारी सञ्चारमाध्यम इस्ना (आइएसएनए) ले इरानी स्रोतलाई उद्धृत गर्दै विदेशमन्त्री देशमा शान्ति स्थापनाका लागि पाकिस्तानी मध्यस्थतामा अमेरिकासँग हुने वार्तामा सहभागी हुने सन्दर्भमा पाकिस्तान पुगेका हुन् । 

इरानी समाचार एजेन्सी आईएसएनएका अनुसार अब्बास अराघचीले पाकिस्तानी अधिकारीहरूसँग बसेर मध्यपूर्वमा ‘युद्ध पूर्ण रूपमा अन्त्य गर्ने कुनै पनि समझदारीको ढाँचामा इरानको अडान र धारणाहरू’ व्यक्त गर्ने कार्यक्रम रहेको छ।

अराघचीले एक दिन अघि मात्र इस्लामाबादबाट बाहिरिएका थिए। शनिबार पाकिस्तानबाट भएको उहाँको बहिर्गमनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान जान लागेको आफ्नो प्रतिनिधिमण्डलको यात्रा स्थगित भएको घोषणा गरेका थिए।

अराघचीले आफ्नो धारणा राखिसकेकोले अब वार्ता अघि बढाउने वा नबढाउने भन्ने निर्णय अमेरिकाको भएको बताएका थिए । उनले ‘अमेरिका कूटनीतिको बारेमा साँच्चै गम्भीर छ वा छैन भन्ने अझै स्पष्ट छैन’ भनेका थिए।

ट्रम्प, स्टार्मर र म्याक्रोँबिच हर्मुजबारे वार्ता

बेलायती प्रधानमन्त्री केइर स्टार्मर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आइतबार टेलिफोन वार्ता भएको थियो । यस क्रममा उहाँहरूले ‘स्ट्रेट अफ हर्मुज’मा समुद्री यातायात पुनः सुरु गर्नुपर्ने आवश्यकताबारे छलफल गरेका थिए।

डाउनिङ स्ट्रीटका प्रवक्ताका अनुसार दुई नेताहरूले स्ट्रेट अफ हर्मुजमा जहाजको पुनः सुरुवात महत्त्वपूर्ण रहेको कुरामा जोड दिएका थिए। समाधानका लागि हुने वार्ताको विलम्बले विश्वभरी अर्थतन्त्र र जीवनयापनको लागतमा गम्भीर प्रभाव पारिरहेको बिषयमा बेलायतका प्रधानमन्त्री स्टार्मरले दुबै देशका नेताको ध्यानाकर्षण गराएका थिए।

प्रवक्ताले प्रधानमन्त्री स्टार्मरले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँग ट्रम्पलाई समुद्री मार्गहरूको स्वतन्त्र आवागमन पुनर्सथापना गर्न जारी संयुक्त पहलको प्रगतिको बारेमा जानकारी दिएका थिए।

इरानी नेता अराघची र कतारका प्रधानमन्त्रीबिच टेलिफोन वार्ता

यसैबिच इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँग फोनमा कुराकानी गरेका छन् । यस कुराकानीमा दुई नेताहरूले युद्ध अन्त्य गर्न र क्षेत्रमा तनाव कम गर्न कूटनीतिक प्रयासहरूको बारेमा छलफल गरेका थिए।

उनले कतारका प्रधानमन्त्रीलाई युद्धविरामसम्बन्धी वर्तमान अवस्था र यसलाई बलियो बनाउन आइरहेका चुनौतीबारे जानकारी गराएको बताए । उनले इरानले युद्ध अन्त्य गर्न र तनाव कम गर्न निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप