आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मनमोहन प्राविधिक विश्वविद्यालयले पिएचडी कार्यक्रम सुरु गर्ने

बुधबार, १६ वैशाख २०८३, १९ : ४९
बुधबार, १६ वैशाख २०८३

विराटनगर । कोशी प्रदेश सरकारद्वारा स्थापित देशकै पहिलो प्राविधिक विश्वविद्यालय, मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियु) ले आफ्ना शैक्षिक कार्यक्रमहरूको विस्तार र स्तरोन्नति सुरु गरेको छ।

२०७६ सालमा मोरङको बुढीगंगा–४ मा स्थापना भई २०७८ बाट पठनपाठन सुरु गरेको यस विश्वविद्यालयले स्नातक तहका कार्यक्रमहरूलाई स्नातकोत्तरमा लैजाने प्रक्रिया थालेको हो। हाल कानुन र हस्पिटल म्यानेजमेन्टमा स्नातकोत्तर सुरु गरिसकेको एमटियुले वैशाखदेखि इन्जिनियरिङ (पावर सिस्टम) मा पनि स्नातकोत्तर कक्षा सञ्चालनमा ल्याएको छ। उपकुलपति डा. सुवासश्री पोखरेलका अनुसार १० वर्षे रणनीतिक योजना सफल बनाउन विश्वविद्यालयले छिट्टै विभिन्न विषयमा विद्यावारिधि (पिएचडी) कार्यक्रमसमेत सुरु गर्दैछ। २१ बिघा क्षेत्रफलमा फैलिएको यस विश्वविद्यालयमा ५० अर्बभन्दा बढीको आधुनिक भौतिक पूर्वाधार तयार भइसकेको छ।

विश्वविद्यालयमा हाल सिभिल, इलेक्ट्रिकल, फार्मेसी र बिबिए एलएलबी लगायतका विषयमा स्नातक र ८ वटा प्राविधिक विषयमा डिप्लोमा तहको पढाइ भइरहेको छ। यसै शैक्षिक सत्रदेखि साइकोलोजिष्टको स्नातकोत्तर कक्षा थपिने तयारी छ। आगामी योजनामा एमबिबिएस, नर्सिङ, अप्टोमेट्री, रेल्वे र टनेल इन्जिनियरिङ जस्ता नयाँ र विशिष्टीकृत कोर्सहरू रहेका छन्।

एमटियुले निजी कलेजहरूलाई सम्बन्धन नदिई आफ्नै आङ्गिक सङ्कायहरूबाट मात्र गुणस्तरीय शिक्षा दिने नीति लिएको छ। विश्वविद्यालयले आफ्नै प्रयोगशालामा मनमोहन सन्चो र भिक्स जस्ता आयुर्वेदिक औषधि उत्पादन गर्नुका साथै ५० जना योग शिक्षक पनि तयार गरिसकेको छ। यहाँका प्रयोगशालाहरू व्यावसायिक परीक्षणका लागि सर्वसाधारणलाई समेत खुल्ला गरिएको छ। आगामी १० वर्षभित्र दक्षिण एसियामै परिचित हुने लक्ष्यसहित एमटियुले १८ नयाँ पाठ्यक्रम निर्माण गर्ने, १८ वटा अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग समझदारी गर्ने र आफ्नै शिक्षण अस्पताल एवं स्पेस सेन्टर (चन्द्रयान निर्माणका लागि) जस्ता महत्त्वाकाङ्क्षी योजनाहरू अघि सारेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप