आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

गोरखामा सुधन गुरुङले भने– ‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’

आइतबार, २४ जेठ २०८३, १४ : १८
आइतबार, २४ जेठ २०८३

सारांश

  • पूर्वगृहमन्त्री सुधन गुरुङले आफूमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टको कम्पनीमा सेयर किनेको विषयमा छानबिन गर्न बनेको समितिबाट सफाइ पाउनेमा आशावादी रहेको बताएका छन् ।
  • उनले आफू निर्दोष साबित भएमा पुनः गृहमन्त्री बन्ने सङ्केत गर्दै पार्टी पंक्तिलाई पहिलो दुई महिना बधाई दिन र तस्बिर खिच्न नआउन आग्रह गरेका छन् ।
  • गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा जिल्ला अधिवेशनमा भाग लिन गोरखा पुगेका हुन् ।

काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङले आफूबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी रहेको बताएका छन् । आइतबार गृहजिल्ला गोरखामा पुगेका गुरुङले आफ्नो सम्पत्तिको विषयमा प्रश्न उठेपछि छानबिनका लागि सहजीकरण गर्न आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको बताए ।

उनले भने– ‘छानबिन सकिएको छ, सफाइ पाउनेमा आशावादी छु ।’  आफू निर्दोष साबित हुने जिकिर गर्दै उनले फेरि गृह मन्त्रालयको नेतृत्व सम्हाल्ने सङ्केत गरेका छन् ।

गुरुङले सफाइ पाएर फेरि गृहमन्त्री बनेमा पहिलो दुई महिना बधाई दिन र तस्बिर खिच्न नआउन पार्टी पंक्तिलाई आग्रह गरेका छन् । उनले भने, ‘यदि म पुनः गृहमन्त्री बनेँ भन तस्बिर खिच्न र मन्त्रालयमा बधाई दिन नआउनुहोला ।’ 

उनीमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छानबिन प्रतिवेदन पेस गरिसकेको छ ।  मन्त्रिपरिषद्ले वैशाख २८ मा पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति बनाएको थियो । 

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा समितिले छानबिन गरेको हो । रकमको श्रोतबारे प्रश्न उठेपछि गुरुङले राजीनामा दिएका थिए । भट्टको कम्पनीमा उनले ५० लाख मूल्य बराबरको सेयर किनेको भेटिएको छ । 

सांसद गुरुङ आज राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा जिल्ला अधिवेशनमा भाग लिन गोरखा पुगेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप