बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

विश्वविद्यालयमा दलका सेना होइन, विद्यार्थीका मुद्दा बोक्ने ‘स्वतन्त्र’ युनियन चाहिन्छ : डा. आस्था दाहाल

क्याम्ब्रिजको त्यो विद्यार्थी युनियन जसले करोडौँको लगानी नीति बदल्छ, अनि हाम्रा युनियन जो दलको मुख ताक्छन्
शनिबार, २६ वैशाख २०८३, २० : ००
शनिबार, २६ वैशाख २०८३

सारांश

  • नेपाल सरकारले विश्वविद्यालय र विद्यालय हाताबाट दलीय विद्यार्थी सङ्गठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने निर्णय गरेपछि यसको व्यापक चर्चा र आलोचना भएको छ ।
  • क्याम्ब्रिज विश्वविद्यालयका पूर्वविद्यार्थी युनियनकी अध्यक्ष डा. आस्था दाहालले दलगत युनियन खारेज गरे पनि विद्यार्थीको प्रतिनिधित्व गर्ने स्वतन्त्र युनियन आवश्यक रहेको बताइन् ।
  • उनले विद्यार्थी युनियनले विद्यार्थीका मुद्दा, आवास, क्यान्टिन, पुस्तकालय, खेलकुद र प्रयोगशालाजस्ता विषयमा प्रशासनसँग आवाज उठाउनुपर्नेमा जोड दिइन् ।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालय विश्वकै प्रतिष्ठित र पुरानो विश्वविद्यालयमा गनिन्छ । आम नेपाली विद्यार्थीहरूले यहाँ पढ्ने सपना पालेका हुन्छन् । सन् १२०९ मा स्थापना भएको क्याम्ब्रिज शिक्षाको गुणस्तर र अनुसन्धानका लागि प्रख्यात छ । आजभन्दा ८१७ वर्षअघि अक्सफोर्ड विश्वविद्यालय छाडेको एक समूहले स्थापना गरेको यो विश्वविद्यालय टाइम म्यागजिनले निकालेको ‘२०२६ का विश्वका शीर्ष विश्वविद्यालय’ को सातौँ नम्बरमा छ ।

सन् २०२० मा नेपाली विद्यार्थी आस्था दाहाल क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित भइन् । पोस्टग्राजुएटअन्तर्गत अध्यक्षमा निर्वाचित भएर उनले रेकर्ड बनाइन् । क्याम्ब्रिज विश्वविद्यालयबाटै सन् २०१४ मा क्रिमिनोलोजीमा एमफिल गरेकी आस्थाले क्रिमिनोलोजीमै विद्यावारिधि (पिएचडी) हासिल गरेकी छन् ।

नेपाल सरकारले विद्यालय तथा विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी सङ्गठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने निर्णय गरेपछि त्यसको व्यापक चर्चा र आलोचना भयो । यो निर्णय कत्तिको जायज हो ? बेलायतका विद्यार्थी युनियनले कसरी काम गर्दै आएका छन् ? यसै सेरोफेरोमा अधिवक्ता आस्था दाहालसँग रातोपाटीका लागि नरेन्द्र रौलेले गरेको विस्तृत कुराकानीः

  • सरकारले विश्वविद्यालयहरूबाट स्वतन्त्र विद्यार्थी युनियन, अझ विशेषगरी दल निकटका विद्यार्थी सङ्गठनहरू खारेज गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णय कस्तो लाग्यो तपाईंलाई ?

मेरो बुझाइमा, यसको अर्थ दलगत युनियनहरू खारेज गर्ने, तर विद्यार्थीको प्रतिनिधित्व गर्ने कुनै निकाय वा संरचना भने बनाइराख्ने भन्ने हो । सरकारको प्रस्तावअनुसार ‘विद्यार्थी कल्याण परिषद्’ जस्ता नाम राख्ने र ‘युनियन’ भन्ने शब्द हटाउने भनिएको छ ।

विद्यार्थी युनियनले गर्नुपर्ने कामको मर्म मरिसकेजस्तो लाग्दैन, किनभने विश्वविद्यालयको औचित्य नै विद्यार्थीका लागि हो । विद्यार्थीको प्रतिनिधित्व र आवाज विश्वविद्यालयसम्म पुग्ने संयन्त्र हुनैपर्छ, नत्र विश्वविद्यालय रहँदैन ।

दुर्भाग्यवश, नेपालमा दलगत युनियनहरूले विद्यार्थी युनियनको काम गरेको मैले देखेको छैन । म आफैँ ल क्याम्पसमा पढेकी हुँ । मेरो समयमा स्ववियु निर्वाचन भएको थियो । युनियनहरूको गतिविधि हेर्दा ती दलगत नै थिए । उनीहरूले आफ्नो पहिलो प्राथमिकता भनेको पार्टीको स्वार्थ विस्तार गर्नु र दोस्रो मात्र विद्यार्थीका लागि काम गर्ने हो भन्थे । यो कुराले मलाई अचम्मित बनाएको थियो । कमसेकम विद्यार्थीहरूका लागि काम गर्नुपर्थ्यो नि ! युनियनहरूले यतिसम्म आफ्नो अस्तित्व गुमाएका थिए । त्यसैले अहिले दलगत युनियन खारेज गर्नुपर्छ भनिएको होला ।

astha dahal (3)

दलगत युनियनहरूले पार्टीको सेनाजस्तो भएर काम गरेको देखिन्छ । विद्यार्थीको हकहितमा उनीहरूले बोलेको देखिँदैन । दलगत युनियन खारेज गरिए पनि विश्वविद्यालयभित्र विद्यार्थीको स्वतन्त्र युनियन आवश्यक छ । यस्ता युनियन साँच्चै स्वतन्त्र हुनुपर्छ । प्रशासन वा प्राध्यापकहरूले हस्तक्षेप गर्ने होइन, विद्यार्थीको स्वतन्त्र आवाज उठाउने निकाय हुनुपर्छ । नाम ‘युनियन’ राख्ने वा अरू राख्ने भन्ने कुरा महत्त्वपूर्ण छैन, तर ‘युनियन’ नाम राख्नु राम्रो हो । किनभने यसको विश्वव्यापी पृष्ठभूमि छ र यसले सबैको प्रतिनिधित्व गर्छ । ‘विद्यार्थी कल्याण परिषद्’ भन्दा स्कुलको जस्तो सुनिन्छ । नाम जे राखे पनि, युनियनलाई स्वतन्त्रता भने दिनुपर्छ ।

  • खासमा स्वतन्त्र विद्यार्थी युनियन कस्तो हुनुपर्छ ?

सबैभन्दा महत्त्वपूर्ण कुरा, युनियनले आफू विद्यार्थीका लागि बसेको हो र विद्यार्थीको आवाज हो भन्ने बुझ्नुपर्छ । विद्यार्थी युनियनले के-के काम गर्ने त ? नेपालकै सन्दर्भमा हेरौँ, त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा ठूलो विश्वविद्यालय हो, जहाँ ४ लाख विद्यार्थी छन् । देशभरिबाट विद्यार्थी आउँछन् । उनीहरूलाई के-के चाहिन्छ ? आवास चाहिन्छ । हामीसँग छात्रावास एकदम कम छ । पर्याप्त छैन । क्यान्टिनको सुविधा राम्रो छैन । पुस्तकालय साँझ ५ बजेपछि खुल्दैन । चौबिसै घण्टा पढ्न पाउने सुविधा छैन । खेलकुदका लागि विश्वविद्यालयसँग २ हजार रोपनी जग्गा छ भनिएको छ, तर धेरैजसो जग्गा अतिक्रमित छन् । हामीसँग विश्वस्तरीय खेलकुद सुविधा हुनुपर्छ । प्रयोगशालाहरू राम्रो हुनुपर्छ । कम्प्युटिङ सुविधा हुनुपर्छ । यी सबै विद्यार्थीलाई समग्र शिक्षा दिनका लागि युनियनले प्रशासनमा विद्यार्थीको आवाज उठाउनुपर्छ । यदि प्रशासनले विद्यार्थीको आवाज सुन्दैन र सहयोग गर्दैन भने युनियनले उनीहरूका लागि बोल्नुपर्छ ।

मैले देखेअनुसार युनियनले कहिलेकाहीँ आफ्नो क्षेत्राधिकार नै बिर्सिएजस्तो लाग्छ । विश्वविद्यालयको विद्यार्थी युनियन स्कुलका कुरामा आवाज उठाइरहेको हुन्छ । स्कुलका कुरामा विद्यार्थी युनियनले चासो देखाउन सक्छन् किनभने शिक्षा प्रणालीमा उनीहरूको सरोकार हुन्छ । तर, स्कुलका कुरामा ऐक्यबद्धता देखाउने हो, आफैँ अग्रपङ्क्तिमा गएर लडाइँ गर्ने होइन । प्लस टुका मुद्दाहरू विश्वविद्यालयको निर्वाचित युनियनले उठाउने होइन । त्यहाँका निर्वाचित प्रतिनिधिहरूलाई ऐक्यबद्धता देखाउने हो । तर युनिभर्सिटीको युनियन अग्रपङ्क्तिमा गएर सक्रिय हुने होइन । स्कुल, निजी कलेज वा प्लस टुको खबरदारी गर्न जाने तर आफ्नो विश्वविद्यालयभित्रका सामान्य कुरामा पनि सरोकार नराख्ने प्रवृत्ति छ ।

मेरो विद्यार्थी कुन छात्रावासमा बस्छ ? सिराहा, सप्तरी, दार्चुला वा सोलुखुम्बुबाट कुनै महिला विद्यार्थी काठमाडौँमा पढ्न आउँछिन् भने उनले काठमाडौँमा डेरा कसरी खोज्ने ? विश्वविद्यालयले त्यसमा ध्यान दिन्न । कसरी कोठा खोज्ने ? काठमाडौँमा घरभाडा आकाशिएको छ । एकल महिलालाई कोठा दिन पनि मान्दैनन् । महँगो ठाउँमा कम गुणस्तरको जीवनस्तरमा विद्यार्थी बस्नुपर्ने हुन्छ । उसलाई त्यो सपोर्ट सिस्टम खै त ? विश्वविद्यालयमा छात्रावास हुनुपर्छ । काठमाडौँबाहिरबाट आएका विद्यार्थीहरूका लागि काठमाडौँका घरधनीहरूसँग डेरा खोज्न युनियनहरू जी–हजुरी गर्न जाने होइन । विश्वविद्यालयमा छात्रावासको सुविधा किन छैन भन्ने कुरा युनियनहरूले मेरो जीवनकालमा उठाएको मैले सुनेको छैन ।

astha dahal (1)

  • खासगरी स्वतन्त्र विद्यार्थी युनियनहरू कहाँ चुकिरहेका छन् ? कहाँ कमजोरी भइरहेको छ त ?

मेरो विचारमा, स्वतन्त्र विद्यार्थी युनियनहरूले आफ्नो कार्यक्षेत्र (म्यान्डेट) विद्यार्थीहरूभन्दा बढी राजनीतिक पार्टीहरूबाट लिइरहेका छन् । जस्तो, मैले भर्खरै एउटा युनियनका अध्यक्षको पोस्ट देखेको थिएँ जसमा लेखिएको थियो, ‘अब सरकारले युनियन खारेज गर्ने भयो, मातृ पार्टी बोल्नुपर्‍यो ।’ मातृ पार्टी बोल्नुपर्‍यो भन्नुको अर्थ उसको कार्यक्षेत्र र निर्देशन सबै पार्टीबाट आइरहेको छ ।

पार्टीले गरिबका छोराछोरीलाई विश्वविद्यालयमा ल्याएर ठेक्कापट्टाको काममा लगाइरहेको छ । उच्च शिक्षा दिने र गुणस्तरीय शिक्षा प्रदान गर्नेभन्दा पनि ठेकेदार र सानातिना ठेक्कापट्टा गर्ने सेना बनाइरहेको छ । पार्टीहरूले गरेको छलकपट हो । र, यो छलकपट ‘म विद्यार्थीको रूपमा ठगिँदै छु’ भन्ने कुरा युनियनमा महसुस नै भइरहेको छैन ।

हाम्रोमा सोच फराकिलो भएन । हाम्रो विश्वविद्यालयमा मुख्यतया नेपाली विद्यार्थी मात्रै पढ्छन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरू विश्वविद्यालयमा आउनुपर्छ । अन्तर्राष्ट्रिय विद्यार्थी आएपछि मात्रै उसले देश–विदेशका कुरा सिक्छ । हाम्रो भिजन सङ्कुचित भएको छ । म नेपाली विद्यार्थी क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्ष भएँ । नेपालका कतिपय अखबारहरूले यसलाई प्रकाशित गरे । धेरैले गौरव पनि गरे । आजको दिनमा त्रिभुवन विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्ष बेलायती भयो भने हामी पचाउँछौँ त ? पचाउनुपर्छ नि ! एकेडेमिया भनेको विश्वव्यापी हो । हामीमा त्यो उदारता छैन । हामी किन पचाउँदैनौँ त ? विद्यार्थी–विद्यार्थीबीच त उनीहरू साथी हुन्छन्, तर दलले ‘हुँदैन’ भनिदिन्छ । दलले विद्यार्थी सङ्गठनलाई निर्देशन दिइरहेको हुन्छ, दलको दायरा सीमित छ । यसले विद्यार्थी युनियनलाई आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेको देखिन्छ, विद्यार्थीको फाइदाका लागि होइन ।

अर्को कुरा, युनियनहरूसँग स्रोत (रिसोर्स) पनि छैन । कुनै पनि काम गर्नका लागि स्रोत त हुनुपर्‍यो नि ! विद्यार्थी युनियनहरूको बजेट कति हुन्छ ? यो पारदर्शी नै छैन । विश्वविद्यालयको युनियनप्रति के दायित्व छ ? क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनलाई हरेक वर्ष विश्वविद्यालयले बजेट दिन्छ । युनियनको ६०% बजेट विश्वविद्यालयले दिन्छ र ४०% बजेट युनियनले आफैँ जुटाउँछ ।

विश्वविद्यालयले बजेट दिएपछि अडिटिङ पनि हुन्छ । कुन शीर्षकमा कति पैसा खर्च भयो भनेर पारदर्शी हिसाब देखाउनुपर्छ । तर खर्च गर्नका लागि आफूसँग स्रोत हुनुपर्‍यो नि ! स्रोतबिना राख्ने, स्वयंसेवक (भोलिन्टियर) बनाएर राख्ने, स्रोतका लागि राजनीतिक पार्टीलाई गएर सोध्नुपर्ने वा कसैको हात थाप्न गएपछि युनियन त पूरै राजनीतिक पार्टीबाट निर्देशित र आश्रित हुन्छ । त्यसमाथि, भिजन पनि फराकिलो भएन । यी समग्र कारणले गर्दा युनियनका आन्तरिक चुनौतीहरू मैले देखेकी छु ।

  • विद्यार्थी सङ्गठनहरू र राजनीतिक दल, अझ नेताहरूसँगको यो सम्बन्धलाई कसरी केलाउनुहुन्छ ? यसलाई कसरी हटाउने होला ?

मेरो विचारमा, एउटा कुरा त नेपालका विश्वविद्यालयहरूमा शिक्षाको स्तर बढाउनैपर्छ । अहिलेको शिक्षा धेरै सजिलो भएको छ । स्नातक पढ्दा गाइडबुक पढेर पास हुने अवस्था हुनुहुँदैन । एसएलसी पढ्दा विद्यार्थीले जति पढ्छ, विश्वविद्यालय आएपछि ऊ पूरै स्वतन्त्र भएको देखिन्छ । जबकि, उसले विश्वविद्यालयमा बढी मिहिनेत गर्नुपर्ने हो ।

दलगत हिसाबमा, यदि युनियनको मान्छे नेता भेट्न जान्छ भने उसले युनियनमा आएर जवाफदेहिता देखाउनुपर्छ । ऊ कुन युनियनको स्वार्थ विस्तार गर्न नेता भेट्न गएको थियो ? यो कुरा उसले देखाउँदैन । उसको सम्बन्ध नै नेताहरूसँग हुन्छ । दलगत हस्तक्षेप हटाउनका लागि दलगत युनियन राखेर त दलगत हस्तक्षेप कसरी हट्छ र ?

मैले विभिन्न युनियनका नेताहरूसँग कुराकानी गर्दा वा उनीहरूका पोस्ट हेर्दा उनीहरू भन्छन्, ‘राजनीतिक आस्था त राख्न पाइयो नि, सोसाइटी खोल्न पाइयो नि ।’ विश्वविद्यालयमा यो पाइयो, तर विद्यार्थीहरूको समग्र प्रतिनिधित्वमा म्यान्डेट चाहिँ दलको नेताबाट लिन पाइएन नि त । दलको नेतासँगको सम्बन्ध कसरी तोड्ने भन्दा, पहिलो कुरा स्रोतका लागि उनीहरूलाई दलमा आश्रित हुन छाड्नुपर्छ । उनीहरूलाई आफ्नै खुट्टामा उभिन सक्ने बजेट विश्वविद्यालयले आफैँले दिनुपर्छ ।

दोस्रो, उनीहरूको आर्थिक लेखापरीक्षण (अडिट) गराउनुपर्छ । वार्षिक खर्चको अडिट हुनुपर्छ । तेस्रो, उनीहरूको काममा संरचना (स्ट्रक्चर) ल्याउनुपर्छ । म क्याम्ब्रिजबाट फर्केपछि विभिन्न विद्यार्थी युनियनहरूले मलाई अनुभव बाँड्न बोलाएका थिए । त्यो राम्रो पक्ष हो किनभने उनीहरू सिक्न चाहन्छन् । मेरो पहिलो प्रश्न उनीहरूलाई हुन्थ्यो, ‘कतिवटा कमिटीमा बस्नुहुन्छ ?’ उनीहरू छक्क पर्थे । युनिभर्सिटीमा कति कमिटी छन् भन्ने आइडिया नै हुँदैनथ्यो । ‘कति कमिटीमा बस्नुहुन्छ ?’ भन्दा ‘दुईटा जति होला’ भन्थे, निश्चित भएर भन्न सक्दैनथे ।

युनियन भनेको त हरेक विश्वविद्यालयको निर्णय प्रक्रियामा विद्यार्थीको प्रतिनिधित्व हो नि त । त्यसैले, हाम्रा युनियनका नेताहरूलाई कतिवटा कमिटी छन् भन्ने थाहा हुनुपर्छ, हरेक कमिटीमा सिट खोज्न थाल्नुपर्छ । कम्तीमा भोटिङ अधिकार खोज्न थाल्नुपर्छ । युनियनको निर्णय प्रक्रियामा भोटिङ अधिकार हुन्छ नि । यस्ता कुराहरू हुन थाल्यो भने युनियनका मान्छे व्यस्त हुन्छन् । उनीहरू कमिटी–कमिटी धाउन थाल्छन् । म क्याम्ब्रिजमा हुँदा हाम्रो ८ जनाको निर्वाचित टोली ८० वटा कमिटीमा बस्थ्यौँ ।

astha dahal (5)

हरेक कमिटीका सयौँ पृष्ठका कागजातहरू आउँथे । पढेरै जानुपर्थ्यो, नत्र प्रोफेसरहरूको अगाडि मूर्ख देखिन्थ्यो । यसरी उनीहरूलाई यताउता राजनीतिक काम गर्ने समय हुँदैनथ्यो । विद्यार्थीको स्वार्थमा लबिइङ गर्नुपर्थ्यो । त्यसैले विद्यार्थी युनियनमा लाग्नेहरूलाई अर्थपूर्ण काममा व्यस्त राख्नुपर्छ ।

  • विद्यार्थी सङ्गठनहरूले आफ्नो महत्त्व स्थापित गर्न के गर्नुपर्छ ?

अहिले दलगत युनियन हटाउनु हुँदैन भनेर पार्टीमा दौडिरहेका छन् । साँच्चै युनियनले काम गरेको भए विद्यार्थीबीच दौडिनुपर्थ्यो । यहीँनेर फरक छ । उसको कार्यक्षेत्र र शक्ति कहाँबाट आइरहेको छ त ? पार्टीको नेताबाट होइन, उसको शक्ति त उसको मतदाता अर्थात् विद्यार्थीबाट आउँछ । युनियन बन्द हुन लाग्यो भने कसलाई गएर भन्ने ? विद्यार्थीलाई । लेबर युनियन बन्द हुन लाग्यो भने दलका नेतालाई ‘युनियन खुला राख’ भन्ने होइन, मजदुरलाई गएर ‘हामीलाई युनियन चाहिन्छ’ भन्ने हो । त्यसैले, उसको मतदाता नै फरक छ । उसको शक्ति दलबाट आइरहेको छ, त्यो युनियन होइन । त्यो अरू नै केही भइरहेको छ ।

  • विद्यार्थी युनियनहरूलाई कसरी राम्रो बनाउन सकिन्छ ?

मेरो विचारमा, दुई–तीनवटा प्राथमिकताका कुरा गर्नुपर्छ । यदि म युनियन चलाउँथेँ भने, सबैभन्दा पहिले त्यो ग्रिलको झ्यालबाट विद्यार्थीलाई सेवा दिने प्रणालीको अन्त्य गरिदिन्थेँ । विद्यार्थीले विश्वविद्यालयको प्रशासन कार्यालयमा प्रवेश पाउनु भनेको कस्तो युनिभर्सिटी हो ? ग्रिलको झ्यालबाट खुम्च्याएर कागज दिने ? विद्यार्थीको डिग्निटी कहाँ जान्छ ? प्रशासनका मान्छेले चित्त बुझाएनन् भने उठेर हिँडिदिन्छन् । प्रशासनको कार्यालयमा विद्यार्थीलाई मर्यादित व्यवहार गरिनुपर्छ, यो सबैभन्दा सानो कुरा हो ।

दोस्रो, युनियनहरूले विद्यार्थीको आवासमा ध्यान दिनैपर्छ । हामी देशभरिबाट विद्यार्थी ल्याउँछौँ । युनियनहरू अलि बुलन्द भएका कलेजहरूमा राम्रा विद्यार्थी आउँदैनन् । धेरै सङ्घर्ष गरेर गाउँबाट यहाँसम्म आइपुगेका विद्यार्थीहरू हुन्छन् । हामीले उनीहरूलाई पढ्ने वातावरण दिएका छौँ कि छैनौँ ?

पढ्ने वातावरण भनेको कक्षाकोठाभित्र मात्रै होइन । मलाई आफ्नो आवासको सधैँ चिन्ता छ । घरमा पानी नआउने, बाल्टिन बोकेर जानुपर्ने, घरबेटीले किचकिच गर्ने, बेलुका पढ्न गएर फर्कंदा घरको ढोका बन्द गरिदिने, दुई–दुई महिनामा कोठाभाडा बढाइदिने हो भने मैले कसरी पढ्न सक्छु ? यदि विश्वविद्यालयका आवासहरू भए भने, यति धेरै जग्गा छ, कमसेकम विद्यार्थीले तनावमुक्त भएर पढ्न त पाउँछन् ।

अर्को, पढाइको कुरा छ । विश्वविद्यालयहरूमा हामीसँग जर्नल आर्टिकलहरूको सदस्यता छैन । हामीले अनुसन्धान गर्दा अन्तर्राष्ट्रिय किताबहरू नै हुँदैनन् । अहिले त झन् के हुन्छ भने, त्रिभुवन विश्वविद्यालयकै प्रोफेसरले किताब निकाल्ने, त्यसको खासै गुणस्तर परीक्षण नगर्ने, त्यही विद्यार्थीमाथि लाद्ने चलन छ ।

मैले त यतिसम्म सुनेको छु कि ‘मेरो किताब किन्यौ भने तिम्रो वार्षिक परीक्षामा ५–१० अङ्क थपिदिन्छु’ भन्छन् । यस्तोमा युनियनले हस्तक्षेप गर्नुपर्छ कि पर्दैन त ? पाठ्यक्रम अद्यावधिक भइरहेको छैन । युनियनहरू बोल्दै बोल्दैनन् । बोल्दै बोल्दैनन् भन्नुको अर्थ युनियनभित्रका केही मान्छे बोलेका छन्, तर समग्र आवाज उठेको छैन ।

चुनाव कहिले हुने ? त्यो पनि निश्चित हुनुपर्‍यो । चुनावमा जाँदाखेरि घोषणापत्र (मेनिफेस्टो) पेस गर्नुपर्छ । गत प्रतिनिधिसभाको चुनावमा मान्छेहरूले घोषणापत्र हेर्नुपर्छ भन्थे । विद्यार्थी चुनावको घोषणापत्र खै त ? एक–दुई पेजमा आउनुपर्‍यो नि, के-के गर्न खोजेको हो र कति काम गर्छौँ भनेर ।

साथै, विश्वविद्यालयमा विद्यार्थीलाई सोख, खेलकुदका कार्यक्रमहरू हुनुपर्छ । हामी १० कक्षासम्म स्कुलमा फुटबल, भलिबल, चेस, टेबलटेनिस लगायतका खेलहरू खेल्छौँ, स्कुलको स्रोतले भ्याएसम्म । तर विश्वविद्यालय गएपछि विद्यार्थीका ती सबै गतिविधि ठप्प हुन्छन् । स्कुलमा यी सबै कुरा गराएको त उसले समग्र र सन्तुलित शिक्षा पाओस् भन्नु हो नि त । विश्वविद्यालयमा पनि यही सिद्धान्त लागू हुन्छ ।

विश्वविद्यालय गएपछि उसले के सोख पूरा गर्छ त ? उसँग विश्वविद्यालयमा जाने स्रोत छ ? आज विद्यार्थी स्विमिङ जानुपर्‍यो भने काठमाडौँको महँगो होटेल जाने ? विश्वविद्यालयभित्र स्विमिङ पुल किन छैन, विद्यार्थीलाई प्रोत्साहन गर्नका लागि ? अन्तर–विश्वविद्यालय खेलकुद सुविधा किन छैन ? नाटक क्लब (ड्रामा क्लब) किन छैन ?

हामी क्याम्ब्रिजमा हुँदा क्याम्ब्रिजभित्रै विद्यार्थीका अखबारहरू थिए । विद्यार्थी अखबारमा यस्तो राम्रो खोज पत्रकारिता गर्थे कि त्यसमा काम गर्ने विद्यार्थीहरू पछि गार्डियनजस्ता प्रतिष्ठित अखबारहरूमा जागिर पाउँथे ।

astha dahal (4)

सोचेजति सबै क्षेत्रका सोसाइटीहरू हुन्छन् । विद्यार्थी युनियनले ५ सयभन्दा बढी विद्यार्थी सोसाइटीहरू होस्ट गर्थे । जस्तैः देशगत – इन्डिया सोसाइटी, नेपाल सोसाइटी, पाकिस्तानी सोसाइटी; सांस्कृतिक – इस्लामिक सोसाइटी, क्रिस्चियन सोसाइटी, बुद्धिस्ट सोसाइटी; मानव अधिकार – एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाचजस्ता समूहहरू; खेलकुद र मनोरञ्जन – ब्याडमिन्टन, टेबलटेनिस, फुटबल, क्रिकेट, चेस, सेलिङ, फिसिङ सोसाइटी सञ्चालनमा थिए । यसको अर्थ विभिन्न विधाका विद्यार्थीहरू एक–अर्कासँग घुलमिल हुन पाऊन्, आफ्ना सोख पूरा गर्न पाऊन् भन्ने हो ।

क्याम्ब्रिज विश्वविद्यालयको थिएटरमा आबद्ध विद्यार्थीहरू पछि अस्कर विजेता कलाकारसम्म भएका छन् । विश्वविद्यालय भनेको हरेक कुराको तालिम मैदान हो । यस्तोमा, विद्यार्थीको सोखमा आधारित सोसाइटीहरू त विश्वविद्यालयले खोल्न सक्दैन नि । शिक्षकले खोल्दैनन् । विद्यार्थीले नै खोल्ने हो । त्यहाँ युनियनहरूले सहजीकरण गरिदिनुपर्छ । विश्वविद्यालयलाई आर्थिक सहयोग जुटाउने, संरचना निर्माण गरिदिने, दर्ता गराउने, विद्यार्थीलाई जानकारी दिने पोर्टलहरू बनाउनेजस्ता काम युनियनहरूले गर्नुपर्छ ।

  • स्वतन्त्र विद्यार्थी युनियनहरू कहाँ चुकिरहेका छन् ? कहाँ कमजोरी भइरहेको छ ?

नेपालका युनियनहरू पूरै चुकेका छन् । कुनै पनि रचनात्मक काम गरेको देखिँदैन । यो आइडिया नै नभएर होला जस्तो लाग्छ किनभने यो एक्सपोजरको कुरा हो। हाम्रो विश्वविद्यालयका ९८% शिक्षकहरू र विद्यार्थीहरू यहीँभित्रका छन् । एक्सपोजर पनि भएन । र, जो मान्छे बाहिरबाट एक्सपोजर लिएर आउन खोज्छ, उसलाई यहाँ समकक्षता (इक्विभ्यालेन्सी) नदिएर, विभिन्न किसिमका बन्देज लगाएर बाहिरै राखिन्छ ।

  • बेलायतबाट पिएचडी सकेर नेपाल आएपछि तपाईंले यहाँको समकक्षी प्रमाणपत्र पाउन बडो दुःख गर्नुपर्‍यो । सजिलै हुने कामलाई किन झमेलामा पारियो ?

म क्याम्ब्रिजबाट फर्किएँ । ल क्याम्पसप्रति मेरो ठूलो माया थियो । त्यहाँ गएर मैले ‘सर मलाई पनि ल क्याम्पसमा पढाउने इच्छा छ, किनभने यत्रो पढेर आएकी छु’ भनेँ । उहाँहरूले सिधै ‘इक्विभ्यालेन्सी लिएर आउनुस्’ भन्नुभयो । यतिसम्म पनि सोधिएन कि ‘म त यहीँको पूर्वविद्यार्थी हुँ, के पढ्नुभयो, कस्तो रह्यो अनुभव ?’ आफ्नो विद्यार्थी फर्केको हो नि त । आफ्नो विद्यार्थीप्रति एउटा सद्भाव हुँदैन ? ‘इक्विभ्यालेन्सी पहिला लिएर आउनुस्’ भन्नुभयो । ‘हुन्छ’ भनेर मैले आवेदन दिएँ ।

त्यसपछि दुई वर्षसम्म मेरो फाइल हेरिएन । अनि एकजनाले ‘कोसिस गर्नुस्’ भन्नुभयो । मैले सबै कागजात पहिले नै बुझाइसकेकी थिएँ, फेरि बुझाएँ । त्यसपछि मलाई फोन आयो र ‘तपाईंले एमफिलका लागि १ हजार रुपैयाँ तिर्नुभएको रहेछ, पिएचडीका लागि ४ हजार रुपैयाँ प्रक्रिया शुल्क छ’ भन्नुभयो । मैले वेबसाइटमा देखाएअनुसारकै रकम तिरेकी थिएँ । उहाँहरूले ‘तपाईंको १ हजार रुपैयाँ कम भयो, अझै तिर्न आउनुस्’ भन्नुभयो । मैले ‘मैले १ हजार तिरेकी छु, ३ हजार तिर्छु’ भन्दा ‘होइन, ४ हजार नै तिर्नुपर्छ’ भन्नुभयो । मैले ‘त्यो १ हजार कहाँ जान्छ ?’ भन्दा ‘त्यो सिस्टममा गयो’ भन्नुभयो ।

त्यसपछि मैले रिसाएर फेसबुकमा स्टाटस लेखेँ, ‘सरकारले १ हजार होइन, एक पैसा पनि जनताको खाने होइन । कहाँ गयो त्यो पैसा ? त्यो लेखाङ्कन भोलि कहाँ जान्छ ?’ भनेर लेखेँ ।

अत्ति भएपछि ‘मलाई तिम्रो इक्विभ्यालेन्सी चाहिएन’ भनेर सामाजिक सञ्जालमा लेखेँ । त्यो भाइरल भएपछि देश–विदेशमा रहेका नेपालीहरूले ‘मलाई पनि यस्तै भइरहेको छ’ भन्नुभयो । पछि हामीले सर्वेक्षण पनि गर्‍यौँ । विश्वस्तरीय विश्वविद्यालयबाट डिग्री हासिल गरेका नेपालीहरू देश फर्किएका रहेछन् । ‘देशका लागि योगदान गर्छु’ भनेरै फर्किएका थिए । ५०% ले त इक्विभ्यालेन्सी नपाएर देश छाडिसकेका छन् । त्यो अपूरणीय क्षति कसले पूर्ति गर्ने हो यस देशमा ?

त्रिभुवन विश्वविद्यालयका कर्मचारी भन्थे, ‘अक्सफोर्ड, हार्वर्ड, क्याम्ब्रिजको हामीलाई मतलब छैन, यहाँ त्रिभुवन विश्वविद्यालयको मात्र चल्छ ।’ सबैजना एकजुट भएर लबिइङ गरेपछि तत्कालीन उपकुलपतिले निर्देशिका जारी गर्नुभयो, जसमा विश्वका शीर्ष ५ सय विश्वविद्यालयबाट डिग्री हासिल गरेकालाई सहजै इक्विभ्यालेन्सी दिने भनिएको थियो । संसद्‌मा पनि यो कुरा उठ्यो । अहिले इक्विभ्यालेन्सको शक्तिसम्बन्धी कानुन पारित भयो । र, विश्वविद्यालय अनुदान आयोगमा गयो । त्रिभुवन विश्वविद्यालयबाट निकालिएको छ र यस वर्षभित्र विश्वविद्यालय अनुदान आयोगले नीति ल्याएर यसलाई कार्यान्वयन गर्नुपर्छ । यो नेपालभित्र र बाहिरको संयुक्त आन्दोलनबाट सम्भव भएको हो ।

मैले इक्विभ्यालेन्सीका लागि धेरै प्रयास गरिनँ, मलाई ५–६ महिना लाग्यो, तर मलाई अझै पनि पूर्ण इक्विभ्यालेन्सी दिइएको छैन । मेरो इक्विभ्यालेन्सीमा पिएचडी लेखियो तर ‘कानुन सङ्कायबाट पिएचडी’ भनेर उल्लेख गरिएन । कानुन सङ्कायबाट उल्लेख किन गर्नुपर्छ भने, भोलि मलाई कानुनको विशिष्टीकृत सेवामा जानुपर्‍यो वा त्रिभुवन विश्वविद्यालयकै कानुन सङ्कायमा प्रवेश गर्नुपर्‍यो भने त्यो डिग्री स्पष्ट हुनुपर्छ । त्यो स्पष्ट नहुनु भनेको के भन्ने ? उहाँहरूलाई त्यो स्पष्ट गर्न किन समस्या हो, कसलाई गाह्रो भयो ? त्यो नीतिमा स्पष्ट छ, अब कानुन सङ्कायलाई नै गाह्रो होला ।

  • बेलायतका अन्य युनिभर्सिटीका स्टुडेन्ट युनियनहरूले कसरी काम गर्थे, कसरी कमाइ गर्थे ?

सबैभन्दा धनी विश्वविद्यालयको गरिब युनियनमा हामी थियौँ । किनभने हाम्रो विश्वविद्यालयको फन्डिङ र पोर्टफोलियो फन्डिङ अन्य युनियनहरूको तुलनामा थोरै थियो, जबकि हाम्रो विश्वविद्यालय अन्यभन्दा धेरै गुणा धनी थियो । हाम्रो युनियनमा मजाक हुन्थ्यो, ‘सबैभन्दा धनी विश्वविद्यालयको गरिब युनियन’ भन्थे । अनि भन्थे, ‘त्यही भएर त धनी भयो नि तिनीहरू ।’

अन्य युनियनहरूको चारवटासम्म नाइट क्लब, बार, क्याफेहरू हुन्थ्यो । बुकसपहरू पनि हुन्छन् । यसरी युनियनका ‘पेड सर्भिसेज’ (भुक्तानीसहितका सेवा) हुन्थ्यो । ‘पेड बिजनेस’ (भुक्तानीसहितको व्यवसाय) नै गर्न पाइन्थ्यो । युनियनहरूको बिजनेस पोर्टफोलियो नै हुन्थ्यो, कमर्सियल पोर्टफोलियो हुन्थ्यो । यसको राम्रो पक्ष मलाई के लाग्यो भने, हामी व्यक्तिगत रूपमा, भोलि नेतृत्वको तालिमका लागि युनियन भनेको फाइनान्स र बजेट पनि हेर्नुपर्छ भन्ने तालिम हो । मैले कमर्सियल पोर्टफोलियो र युनियनको आम्दानीको स्रोत पनि हेर्नुपर्थ्यो ।

मेरो कार्यकालमा मैले अन्तिममा एउटा वार्ता (नेगोसिएसन) सुरु गरेकी थिएँ । विश्वविद्यालयको एउटा एकदम राम्रो भवन बनिरहेको थियो । मैले ‘तिम्रो भवन विश्वविद्यालयको ९ देखि ५ बजेसम्म मात्रै चल्छ, ५ बजेपछि त्यो भवनको स्पेस हामीलाई देऊ न’ भनेर नेगोसिएट गरिरहेकी थिएँ । किनभने ५ बजेपछि पढाइका लागि आवश्यक पर्दैनथ्यो । मेरो युनियनले चलाउन पाए हामी त्यहाँ क्याफे चलाउन सक्छौँ, सोसाइटीहरू चलाउन सक्छौँ । समुद्रछेउको यस्तो राम्रो भवन थियो । माथिको स्पेसमा लाउन्ज बनाउन सकिन्छ भन्ने थियो । युनियनमा हामी निर्वाचित हुन्थ्यौँ र हाम्रो फुल टाइम स्टाफ पनि हुन्थ्यो, सरकारजस्तै ।

सरकारका निर्वाचित मन्त्री र सिभिल सर्भिस फुल टाइम हुन्छन्, हाम्रो फुल टाइम स्टाफ हुन्थ्यो । मेरो सि.इ.ओ. नै हुन्थ्यो । सि.इ.ओ.लाई कमर्सियलमा रुचि थियो । म उसको लाइन म्यानेजर थिएँ । उसलाई मेरो संस्थामा काम गर्न उत्साहित बनाउनुपर्थ्यो, उसको रुचि हेर्नुपर्थ्यो । मैले उसँग काम गर्दा बुझिसकेकी थिएँ कि उसलाई यस्तोमा रुचि छ । त्यसैले मैले उसलाई ती मिटिङहरूमा लान थालेँ कि ’जाऊ, यसमा जाऊ, बिल्डिङ नेगोसिएट गरौँ, तिमीले कमर्सियल प्लान गर्न सक्छौ ।’ ऊ पनि एकदम उत्साहित भयो ।

यसरी सिर्जनात्मक सोच राखेर पैसा उत्पादन गर्ने हो । युनिभर्सिटीको ग्रान्ट केका लागि प्रयोग हुन्छ भन्दाखेरि दुई–तीनवटा कुरा आउँछ । युनियनको ठूलो एउटा ‘स्टुडेन्ट एडभाइस सेन्टर’ भन्ने हुन्छ । स्टुडेन्ट एड्भाइस सेन्टरले विद्यार्थीलाई कुनै पनि समस्या परेमा सल्लाह दिन्छ । त्यसका लागि युनियनले पैसा तिर्छ, त्यहाँ फुल टाइम प्रोफेसनल स्टाफ राखेको हुन्छ । मानिलिनुस्, विद्यार्थी फेल भयो, वार्षिक परीक्षा पास गर्न सकेन, विश्वविद्यालयले निष्कासन गर्न लाग्यो, अपिल गर्नुपर्‍यो । पेपरवर्क कसरी भर्ने ? वकिलहरू आउँदैनन्, वकिलहरू साह्रै महँगा हुन्छन् । युनियनका स्टाफहरूले उनीहरूलाई निःशुल्क विश्वविद्यालय प्रक्रियाहरूमा सहयोग गर्थे । कुनै विद्यार्थीलाई मानसिक स्वास्थ्यका कारण परीक्षा स्थगित गर्नुपर्‍यो, पेपरवर्क कसरी गर्ने, अपिल कसरी गर्ने, कुरा कसरी राख्ने भन्नेमा युनियनले पैसा तिर्थ्यो, तर उनीहरूले विद्यार्थीलाई एक–एक गरी सल्लाह दिन्थे । त्यो सल्लाह युनियनसँग पनि साझा गरिँदैनथ्यो, त्यो पूर्ण गोप्य हुन्थ्यो ।

यसका साथै, गर्भनिरोधक (कन्डम) र प्रेग्नेन्सी किटको वितरण पनि हुन्थ्यो । विद्यार्थी सुरक्षित होऊन् भनेर युनियनहरूले यी सामग्री निःशुल्क वितरण गर्थे । विश्वविद्यालयले वितरण गर्दा विद्यार्थीहरूको गोपनीयतामा समस्या आउँथ्यो । यसरी, ट्रान्सजेन्डर, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक विद्यार्थीहरूका लागि उनीहरूले लिङ्ग परिवर्तन गर्दा आवश्यक पर्ने निश्चित उपकरणहरू, शल्यक्रियाअघि चाहिने सामानहरू पनि हामी युनियनबाट उपलब्ध गराउँथ्यौँ ।

ड्रग्सको शुद्धता (प्युरिटी) परीक्षण पनि हुन्थ्यो । ड्रग्सको दुरुपयोग जुनसुकै विश्वविद्यालयमा पनि हुन्छ । ड्रग्स प्रयोग गर्दा स्वास्थ्यमा समस्या आउँछ, तर ड्रग्स अशुद्ध भयो भने झन् ठूलो समस्या हुन्छ । सडकमा किनिने ड्रग्स शुद्ध छ कि छैन भनेर जनस्वास्थ्यको दृष्टिकोणबाट परीक्षण गर्ने किटसम्म पनि युनियनले दिने कुरा भएको थियो । यसरी विद्यार्थीको मागमा आधारित हुन्थ्यो ।

  • युनियनहरूले आफ्नै मिडिया पनि चलाउँथे ?

युनियनको आफ्नै प्रकाशन पनि थियो । त्यो धेरै सर्कुलेसनमा थिएन । तर विश्वविद्यालयभित्र भर्सिटी नामक विद्यार्थी पत्रकारिताको अखबार थियो । भर्सिटी निकै प्रतिष्ठित मानिन्थ्यो । युनियनले त्यसमा हस्तक्षेप गर्दैनथ्यो, तर युनियनले उसलाई केही रकम दिनुपर्‍यो भने सहजीकरण गर्थ्यो । विद्यार्थीहरू पत्रकारितामा निकै सक्रिय थिए । क्याम्ब्रिजभित्रका ठूलठूला ह्विसलब्लोइङ, अनुसन्धानात्मक पत्रकारिता भयंकरै गर्थे उनीहरूले । हामीले पनि आवश्यक पर्दा उनीहरूको सहयोग लिएका छौँ । उनीहरूले हामीलाई धेरै सहयोग गरेका छन् ।

  • स्टुडेन्ट युनियनहरूमा प्रोफेसरहरूको र प्रशासनको हस्तक्षेप कत्तिको हुन्थ्यो ?

विद्यार्थी युनियनमा विश्वविद्यालयको तर्फबाट प्रशासनको एकजना वरिष्ठ प्रोफेसर युनियनको ओभरलुकिङ व्यक्ति हुनुहुन्थ्यो । उहाँसँगको बैठक भनेको हामीलाई पूर्ण रूपमा जवाफदेही बनाउने हो । उहाँसँग त अब प्रश्नोत्तरको फायर नै हुन्छ भन्ने हिसाबले जानुपर्थ्यो । त्यसपछि युनियनसँग नरम (सफ्ट कर्नर) राख्ने प्रोफेसरहरू हुन्थे । हामी विश्वविद्यालयका त्यत्रा कमिटीहरूमा बस्थ्यौँ । हाम्रो पक्षमा अलाइनमेन्ट भएका प्रोफेसरहरू खोजेर हामी कमिटीमा लबिइङ गर्थ्यौँ ।

म तपाईंलाई एउटा उदाहरण दिन्छुः क्याम्ब्रिज विश्वविद्यालयको ३.५ बिलियन पाउन्डको लगानी पोर्टफोलियो छ । उनीहरूले पैसा लगानी गर्छन्, यसरी विश्वविद्यालयहरू धनी हुन्छन् । लगानी कहाँ छ भने, तेल, पेट्रोलियम, जीवाश्म इन्धन (फोसिल फ्युल) जस्ता कुराहरूमा । जुन कुराले अहिले जलवायु परिवर्तनमा ठूलो योगदान गरिरहेको छ ।

astha dahal (2)

यो लगानी हटाउनुपर्छ भनेर विद्यार्थीहरूले १० वर्षसम्म क्याम्ब्रिजमा आन्दोलन गरे । क्याम्ब्रिजजस्ता विश्वविद्यालयहरूले ठूलठूला तेल कम्पनी, जीवाश्म इन्धन कम्पनीमा लगानी गर्ने, जबकि जलवायु अहिले तहसनहस भएको छ । १० वर्षपछि, त्यो विश्वविद्यालय सिनेटस्तरको कमिटीमा अब क्याम्ब्रिज विश्वविद्यालयले आफ्नो सम्पूर्ण तेल र जीवाश्म इन्धनको लगानी झिक्ने भन्ने निर्णय भयो । २०२० मा भएको निर्णय २०३० सम्म झिक्ने भन्ने थियो ।

यो विश्वको पहिलो अग्रणी विश्वविद्यालय थियो जसले त्यो लगानी झिक्ने भनेको थियो । यस्तो खालको लगानीसम्बन्धी निर्णयहरूमा पनि हामीलाई भोटिङ अधिकार चाहिन्छ । सिनेटभित्र भोटिङ चाहिन्छ । त्यसैले हाम्रो वैचारिक रेखामा, हाम्रो विद्यार्थीको रेखामा भोटिङ गर्ने प्रोफेसरहरूको लबिइङ चाहिँ गर्थ्यौँ ।

नेपालस्थित अमेरिकन राजदूतावासले धेरै अगाडिदेखि युथ काउन्सिल खोलेको छ । त्यसैगरी चिनियाँ दूतावासले भर्खरै युथ पाइनियर प्रोग्राम भनेर सुरु गरेको छ, जुन युवा लक्षित कार्यक्रमहरू हुन् । यो खोल्नु कत्तिको उचित हो ? यसलाई कसरी हेर्नुभएको छ ?

म खोल्न त उचित नै भन्छु । किनभने, कतिपयले यसलाई सिआइएको तालिम वा यस्तै भन्छन् । हामीले हाम्रा विश्वविद्यालयहरूमा गुप्तचर निकायहरूमा भर्ती भएको थाहा पाएका हुन्छौँ । हाम्रै जस्ता विश्वविद्यालयहरूबाटै गुप्तचर निकायमा जान्छन्, भर्ती हुन्छन् । यस्ता सानातिना युथ काउन्सिलहरू सामान्यतया गुप्तचर निकायको एकाइ हुँदैनन् । यो एउटा सामान्य कार्यक्रम हो ।

तर यो कार्यक्रम किन छ भन्ने हामीले हेर्नुपर्छ । यो कार्यक्रम नेपालमा किन छ भन्दा, नेपालमा विश्वविद्यालयहरूले विद्यार्थी नेतृत्व तालिम (स्टुडेन्ट लिडरसिप ट्रेनिङ) गरिरहेका छैनन् । यदि हाम्रा विद्यार्थी युनियनहरूले साँच्चै विश्वविद्यालयमा तालिम दिने हो भने, हामीले विद्यार्थी युनियनमा मानिसहरूलाई तालिम दिएर भोलि उनीहरू वडा अध्यक्ष भएर राम्रोसँग, आत्मविश्वासका साथ आफ्नो कार्यभार सम्हाल्न सक्ने बनाउने हो भने, यी कार्यक्रमहरू किन चाहिन्थे ? यिनीहरू आउँदैनथे ।

विश्वविद्यालयले त्यो रिक्तता छाडेकाले यिनीहरू आइरहेका छन् । हाम्रो आन्तरिक कार्यक्रम के छ त ? यदि हामीले विद्यार्थी युनियनलाई राम्रो बनाउन सक्यौँ भने, त्यही नै हाम्रो तालिम स्थल हो । त्यसैले यो आवश्यक चाहिँ छ, तर पार्टीको निर्देशनमा होइन, विद्यार्थीबाट शक्ति लिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र रौले
नरेन्द्र रौले
लेखकबाट थप