शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मानव अधिकार संरक्षणका लागि आयोग सधैं चनाखो हुनुपर्छ : मुख्यमन्त्री आचार्य

बुधबार, १३ जेठ २०८३, १२ : ०६
बुधबार, १३ जेठ २०८३

सारांश

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोग सधैं चनाखो र सक्रिय हुनुपर्ने बताएका छन् ।
  • मुख्यमन्त्री आचार्यले भदौ २३ र २४ गते भएको घटनासम्बन्धी आयोगले तयार पारेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उल्लेख गर्दै सरकारले सार्वजनिक नगरे आयोग आफैंले सार्वजनिक गरेर राज्यप्रति न्याय गर्नुपर्ने बताए ।
  • उनले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकको मानव अधिकार हनन गर्नु गम्भीर विषय भएको बताए ।

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोग सधैं चनाखो र सक्रिय हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिकोत्सवका अवसरमा राप्ती उपत्यका (देउखुरी) मा बुधबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले राज्यलाई सही मार्गमा उभ्याउने जिम्मेवारी आयोगको रहेको बताए ।

उनले मानव अधिकार संरक्षणको सुनिश्चितताको वातावरण घरबाटै सुरु हुनुपर्नेमा जोड दिँदै नागरिकलाई मानव अधिकारप्रति थप जिम्मेवार बनाउनुपर्ने धारणा राखे ।

मुख्यमन्त्री आचार्यले भदौ २३ र २४ गते भएको घटनासम्बन्धी आयोगले तयार पारेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उल्लेख गर्दै सरकारले सार्वजनिक नगरे आयोग आफैंले सार्वजनिक गरेर राज्यप्रति न्याय गर्नुपर्ने बताए ।

फरक राजनीतिक विचार राखेकै आधारमा व्यक्तिगत सम्पत्ति खरानी बन्नु तथा सरकारी संरचनामा ठूलो क्षति पुग्नु दुःखद घटना भएको उल्लेख गर्दै उनले सरकारले नसकेको अवस्थामा आयोगले प्रतिवेदन सार्वजनिक गर्ने आँट गर्न सक्नुपर्ने बताए ।

उनले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकको मानव अधिकार हनन गर्नु गम्भीर विषय भएको बताए । साथै होल्डिङ सेन्टरको अवस्थाबारे पनि मानव अधिकार आयोगले अनुगमन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा तुलाराम घर्तीमगरले दृष्टिकोण र सोचकै समस्याका कारण मानव अधिकार हननका घटना भइरहेको बताए । उनले आत्मसमिक्षा आवश्यक रहेको उल्लेख गर्दै मानव अधिकार हनन रोक्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

कार्यक्रममा प्रमुख सचिव कृष्णप्रसाद काप्री, राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी, गैरसरकारी संस्था महासंघ लुम्बिनीका अध्यक्ष जीतकुमारी बेल्वासे (सुशिला), सेवाग्राही केशव पोख्रेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

आयोगले लुम्बिनी प्रदेशमा ५० वटा उजुरीमाथि अनुसन्धान सम्पन्न गरेको जनाएको छ । यस अवधिमा १७ वटा विषयमा अनुगमन तथा सात वटा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका राजनारायण कोहारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अधिकृत अजितकुमार ठाकुरले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप