आर्थिक वृद्धि र पूर्वाधार विस्तारले सङ्घीयताको औचित्य पुष्टि : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेश सभा को आठौँ अधिवेशनअन्तर्गत आठौँ बैठकलाई आज सम्बोधन गर्दै चेतनारायण आचार्य ले अघिल्ला सरकारले अघि सारेका विकास कार्यक्रमलाई बिचमै नछोडी निरन्तरता दिनु नै सरकारको दायित्व भएको बताएका छन्।
मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा छुटेका विषयहरू आगामी बजेटमार्फत समेटिने स्पष्ट पार्दै स्थापनाकालदेखि सञ्चालनमा रहेका धेरै कार्यक्रमलाई निरन्तरताका साथ अघि बढाइएको बताए। साथै नयाँ सोच र दृष्टिकोणका कार्यक्रमसमेत समावेश गरिएको उनको भनाइ थियो।
उनले लुम्बिनी प्रदेशको समृद्धि, आर्थिक उन्नति र नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गर्दै सभामा प्रस्तुत गरिएका कार्यक्रम बजेटमार्फत कार्यान्वयन गरिने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री आचार्यका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन ९ खर्ब ३६ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा प्रदेशको योगदान १४ दशमलव २ प्रतिशत रहने अनुमान गरिएको उनले बताए।
प्रदेश स्थापना भएदेखि हालसम्म ३ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको र त्यसमध्ये २ खर्ब ४ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको जानकारी दिँदै उनले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४० प्रतिशत वित्तीय प्रगति हासिल भएको र यो अन्य प्रदेशको तुलनामा उच्च रहेको दाबी गरे।
खानेपानी क्षेत्रमा ३ हजार ७ सय ९१ वटा प्रणाली सञ्चालनमा आएको, १६ लाखभन्दा बढी नागरिक लाभान्वित भएको तथा २ लाख ७७ हजारभन्दा बढी धारा जडान गरिएको जानकारी दिँदै उनले आगामी वर्ष ८० प्रतिशतभन्दा बढी प्रगति भएका सबै खानेपानी आयोजना सम्पन्न गरिने बताए।
सडक पूर्वाधारतर्फ हालसम्म ७ सय ७० किलोमिटर नयाँ ट्र्याक खोलिएको, १ हजार ३ सय ६३ किलोमिटर सडक कालोपत्रे गरिएको तथा २ सय ६ वटा सडक पुल र ७० वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको उनले बताए।
कृषि क्षेत्रमा ३३ वटा खाद्यान्न बिउ भण्डारण गृह, १७ वटा शीत भण्डार र १०२ वटा बजार पूर्वाधार निर्माण गरिएको उल्लेख गर्दै उनले ८ हजारभन्दा बढी साना सिँचाइ आयोजना सम्पन्न हुँदा ६ हजार ४० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको जानकारी दिए।
स्वास्थ्य क्षेत्रमा नवजात शिशु मृत्युदर प्रतिहजार २२ बाट घटेर १६ मा झरेको तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ४० बाट घटेर २९ मा पुगेको उनले बताए। वन तथा वातावरण क्षेत्रमा ९ सय १८ हेक्टर क्षेत्रमा वृक्षारोपण गरिएको, ९९ लाख बिरुवा उत्पादन तथा वितरण गरिएको तथा ऊर्जा क्षेत्रमा ९८ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको जानकारी पनि उनले दिए।
मुख्यमन्त्री आचार्यले आगामी बजेटमा आयोजना बैंकमा समावेश भएका योजना मात्रै समेटिने स्पष्ट पार्दै विकास बजेट छर्ने प्रवृत्ति अन्त्य गरिने बताए। गौरवका आयोजना, बहुवर्षीय योजना, रणनीतिक सडक तथा उत्पादनमुखी क्षेत्रमा बजेट केन्द्रित गरिने उनको भनाइ थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण