शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मनाङमा अस्पताल भवनको शिलान्यास, भारत सरकारको ५ करोड ६० लाख सहयोग

शनिबार, १६ जेठ २०८३, ११ : ३८
शनिबार, १६ जेठ २०८३

सारांश

  • मनाङ जिल्लामा भारत सरकारको ५ करोड ६० लाख सहयोगमा नयाँ अस्पताल भवनको शिलान्यास गरिएको छ ।
  • काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख डा. राकेश पाण्डे र नासो गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा भवनको जग बसालेका हुन् ।
  • यो स्वास्थ्य आयोजना भारत सरकारको 'उच्च प्रभाव सामुदायिक विकास परियोजना' अन्तर्गत नासो गाउँपालिकाको समन्वयमा कार्यान्वयन गरिनेछ ।

मनाङ । नेपालको हिमाली जिल्ला मनाङमा नयाँ अस्पताल भवनको शिलान्यास गरिएको छ । गण्डकी प्रदेश अन्तर्गतको मनाङ जिल्लास्थित नासो गाउँपालिका वडा नम्बर ५ मा निर्माण हुन लागेको उक्त अस्पताल भवनको आज एक विशेष समारोहका बिच संयुक्त रूपमा शिलान्यास गरिएको हो । 

काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख डा.राकेश पाण्डे र नासो गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा यो भवनको जग बसालेका हुन् । यो अस्पताल भवन भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । 

यस पूर्वाधार विकासका लागि भारत सरकारले करिब ५ करोड ६० लाख नेपाली रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ । भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत निर्माण हुन लागेको यो स्वास्थ्य आयोजना नासो गाउँपालिकाकै प्रत्यक्ष रेखदेख र समन्वयमा कार्यान्वयन गरिने भारतीय राजदूतावासले जनाएको छ ।

शिलान्यास समारोहमा बोल्दै नासो गाउँपालिकाका अध्यक्ष धन बहादुर गुरुङ तथा अन्य स्थानीय सरोकारवालाहरूले भारत सरकारद्वारा नेपालको विकास र पूर्वाधार निर्माणमा प्रदान गरिँदै आएको निरन्तर सहयोगको प्रशंसा गरेका छन् ।

विकट हिमाली क्षेत्रमा बन्ने यो नयाँ स्वास्थ्य संरचनाले नासो गाउँपालिका र आसपासका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणका लागि स्वास्थ्य सेवाको पहुँचलाई थप सहज, सुलभ र भरपर्दो बनाउन ठुलो मद्दत पुर्‍याउने विश्वास उनीहरूले व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप