शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

‘कर्णालीका ३३ प्रतिशत महिला अझै निरक्षर छन्, तिनको सशक्तिकरणमा राज्यले ध्यान दिनुपर्छ’

शनिबार, १६ जेठ २०८३, १३ : ५५
शनिबार, १६ जेठ २०८३

सारांश

  • कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीमा अझै ३३ प्रतिशत महिला निरक्षर रहेकोमा चिन्ता व्यक्त गरेका छन् ।
  • उनले निरक्षर महिलालाई साक्षर बनाउन तीनवटै तहका सरकारले ध्यान दिनुपर्ने र महिलाहरूलाई समानुपातिक कोटामा मात्र सीमित नभई ५० प्रतिशत हिस्साका लागि माग गर्न आग्रह गरेका छन् ।
  • पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा महिलाहरूको उपस्थिति र भूमिकामा परिवर्तन आएको तर सशक्तिकरणका लागि अझै मेहनत गर्नुपर्ने बताएका छन् ।

सुर्खेत । कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीमा अझै पनि ३३ प्रतिशत महिला साक्षर बन्न नसकेको बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली छोरी सम्मेलन’लाई सम्बोधन गर्दै उनले अझै पनि प्रदेशमा ठुलो मात्रामा महिला निरक्षर भएको प्रति चिन्ता व्यक्त गरे ।

ती ३३ प्रतिशत महिलालाई साक्षर बनाउन तीनवटै तहका सरकारले विशेष ध्यान दिनुपर्नेमा जोशीले जोड दिए ।  ‘अहिले हरेक क्षेत्रमा महिलाहरू अग्रसर भइरहेका छन्, कर्णालीका चेलीहरू प्रतिभावान बनिसके,’ उनले भने, ‘अब निरक्षर जनशक्तिलाई साक्षर बनाएर अझ सबल बनाउनुपर्छ ।’

कर्णालीलाई पिछडिएको क्षेत्रका रूपमा मात्र हेर्न नहुने उनले बताए । ‘यो क्षेत्र कला, संस्कृति र सभ्यताको खानी हो,’ उनले अगाडि थपे, ‘नेपालका आधाभन्दा बढी जातिको उदगम थलो कर्णाली हो, यो सबै नेपालीले सम्मान गर्नुपर्ने भूमि हो ।’

जोशीले महिलाहरूको राजनीतिक र प्रशासनिक पहुँचका विषयमा चर्चा गर्दै उनले अब महिलाहरू समानुपातिक कोटामा मात्र सीमित नभई प्रत्यक्ष निर्वाचन लडेर नेतृत्व गर्न सक्ने भइसकेको बताए ।

यहाँका चेलीहरू केन्द्र सरकारको सचिवजस्तो गरिमामय पदमा पुगेको पनि बताए । जोशीले संविधान संशोधनको बहस चलिरहेका बेला महिलाहरूलाई ३३ प्रतिशतमा मात्र चित्त नबुझाई ५० प्रतिशत हिस्साका लागि माग गर्न र दबाब दिनसमेत आग्रह गरे ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले समाजमा महिलाहरूको उपस्थिति र भूमिकामा ठुलो परिवर्तन आएको बताए ।

उनले प्रहरी, कर्मचारी प्रशासनदेखि राज्यका उच्च निकायमा महिलाहरूको नेतृत्व स्थापित हुनुले ठुलो अर्थ राख्ने उल्लेख गरे ।

‘हिजो कर्णालीमा छोरीहरूले स्कुल पढ्न नपाउने अवस्था थियो, छोरालाई स्कुल पठाउने र छोरीलाई गोठाला पठाउने परम्परा थियो,’ उनले अगाडि भने, ‘तर आज विद्यालयहरूमा छोरीहरूको सङ्ख्या उल्लेख्य छ ।’

यद्यपि कर्णाली छोरीको सशक्तिकरणका लागि अझै मेहनत गर्नुपर्ने उनले बताए ।  ‘छोरीको सक्षमता बढाउने कार्यक्रम राज्यले गर्नुपर्ने हो,’उनले भने, ‘हाम्रो पालामा कर्णाली सरकारले ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ जस्ता महत्त्वपूर्ण कार्यक्रम ल्याएका थियौँ, तर अहिले ती कार्यक्रमहरू लथालिङ्ग छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप