शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कन्सर्टको टिकट पाउन फ्यानहरूले गर्न थाले प्रेमका देवतासँग प्रार्थना

सोमबार, १८ जेठ २०८३, १३ : १५
सोमबार, १८ जेठ २०८३

सारांश

  • के-पप ब्यान्ड बीटीएसको कन्सर्टको टिकट पाउन नसकेपछि ताइवानी फ्यानहरूले प्रेमका देवता युए लाओसँग प्रार्थना गर्न थालेका छन् ।
  • फ्यानहरूले आफ्नो भाग्यको रातो धागो प्रयोग गरेर कन्सर्टको टिकट दिलाइदिन देवतासँग बिन्ती गरिरहेका छन् ।
  • बीटीएसले सन् २०२६ को सुरुमा विश्व भ्रमण घोषणा गरेको छ र ताइवानमा नोभेम्बर १९, २१ र २२ मा कन्सर्ट गर्नेछ ।

ताइपेई । दक्षिण कोरियाली चर्चित के–पप ब्यान्ड बीटीएसको कन्सर्टको टिकट पाउन अत्यन्त कठिन हुन्छ । बीटीएसको कन्सर्टमा जाने नखोज्ने को नै होला र ? 

कन्सर्टको टिकट नपाउने देखिएपछि ताइवानी फ्यानहरूले प्रेम र विवाहका ताओवादी देवता युए लाओसँग प्रार्थना गर्न थालेका छन् । युए लाओले आफ्नो भाग्यको रातो धागो प्रयोग गरेर नियतिले नै भेट्टाउनु पर्ने व्यक्तिहरूलाई जोडिदिने फ्यानहरूको विश्वास छ । 

यसपटक भने उनीहरूले त्यो शक्ति प्रयोग गरेर आफूलाई कन्सर्टको टिकटसँग जोडिदिने आशा गरेका छन् ।

२६ वर्षीया फ्यान जेसी च्वाङले भनिन्, ‘बीटीएसको कन्सर्टको टिकट पाउन साँच्चै गाह्रो हुन्छ,सबैले प्रेमका देवतासँग प्रार्थना गर्नु सबैभन्दा प्रभावकारी उपाय हो भन्छन् । आखिर यो पनि एक प्रकारको मिलन गराइदिने काम नै त हो,’ । सप्ताहन्तमा ताइपेईस्थित बाङ्का लोङ्शान मन्दिरमा के–पप फ्यानहरूको एक समूह खास गरेर बीटीएसका समर्थकहरू भेला भएका थिए ।

उनीहरूले बीटीएसको आधिकारिक रङ मानिने बैजनी प्याकेटमा राखिएका स्न्याक्स, ब्यान्डका स्मृति सामग्री, कन्सर्टको सिट नक्सा तथा आफ्नो इच्छा सूची पूजा वेदीमा सजाएर प्रार्थना गरेका थिए । यो अनौठो चलन केही वर्षअघि सामाजिक सञ्जालबाट सुरु भएको मानिन्छ ।

युए लाओले आफ्नो भाग्यको रातो धागो प्रयोग गरेर नियतिले भेट्नुपर्ने कुराहरूलाई एकआपसमा जोडिदिने ताइवानी के–पप फ्यानहरूको विश्वास छ । अहिले चाहिँ फ्यानहरू कन्सर्टको टिकटमाग्न मन्दिरमा छन् । ‘विश्वास गरे इच्छा पूरा हुन्छ,’ २२ वर्षीया ये यु–टिङले भनिन् । ‘यदि तपाईं साँच्चै विश्वास गर्नुहुन्छ भने, तपाईंको इच्छा अवश्य पूरा हुन्छ,’ उनले अझ अगाडि भनिन् ।

बीटीएसले सबै सदस्यसहित ताइवानमा अन्तिम पटक सन २०१८ मा प्रस्तुति दिएको थियो । ब्यान्डले सन २०२६ को सुरुआतमै लामो समयदेखि प्रतीक्षित विश्व भ्रमणको घोषणा गरेको थियो । यस अन्तर्गत समूहले ताइवानको दक्षिणी सहर काओसुङमा नोभेम्बर १९, २१ र २२ मा तीनवटा कन्सर्ट आयोजना गर्ने कार्यक्रम छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप