पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
सारांश
- पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सत्तामा पुगेपछि विपक्षीलाई सिध्याउने खेलमा लाग्न नहुने बताएकी छन्।
- उनले सत्तामा पुगेका युवा नेताहरूलाई विगतको इतिहास हेरेर मुलुक चलाउन सुझाव दिँदै अनुभवले सिक्दै जाने कुरा भएको बताइन्।
- कार्कीले विपक्षी दलहरूलाई पनि सरकारको खुट्टा तान्ने प्रवृत्ति त्यागेर सभ्य भाषामा मार्गनिर्देशन गर्न आग्रह गरेकी छन्।
काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारमा पुग्दैमा विपक्षी दलहरूलाई निमिट्यान्न पार्ने बाटोमा लाग्न नहुने बताएकी छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू सत्तामा आएँ भन्दैमा अर्को पक्षलाई पूरै नास्तनामुद गराउने सोच राख्न नहुने स्पष्ट पारेकी हुन्।
पूर्वप्रधानमन्त्री कार्कीले वर्तमान प्रधानमन्त्री बालेन्द्र साह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूलाई विगतको इतिहास हेरेर अघि बढ्न सुझाव दिएकी छन्। भर्खरै सत्तामा पुगेका नवयुवाहरूले पुराना कुरा र इतिहासलाई मनन गरेर मात्रै मुलुक चलाउनुपर्ने उनको भनाइ छ। सत्तारुढ दलका युवा नेताहरूले आफूहरू सधैँ युवा नै रहँदैनौँ भन्ने हेक्का राख्नुपर्ने उनले बताइन्।
राजनीतिक परिवर्तनको सन्दर्भ कोट्याउँदै उनले भनिन्, ‘अघिल्लो सत्तामा हुने अधिकांशले हार्नुभयो। नयाँ पार्टी स्थापित भयो। युवाहरू आए। संसद्मा अहिले हेर्दा अधिकांश सांसदहरू हाम्रा छोराछोरी र नातिनातिना पुस्ताका आइपुगे। नयाँ पुस्ताले अवसर माग्दा जनताले भोट दिएपछि त्यसलाई सबैले सम्मान गर्नुपर्छ र उनीहरूलाई काम गर्न दिनुपर्छ।’
सत्तामा पुगेका ३५/३७ वर्षका प्रधानमन्त्री र नेताहरूले पनि एक दिन पुरानै अवस्थामा पुग्नुपर्ने यथार्थ नभुल्न उनले स्मरण गराइन्। हिजोका दिनमा केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’हरू पनि आफ्नो समयको आन्दोलनमा युवा नै रहेको उदाहरण दिँदै उनले अनुभव बिस्तारै सिक्दै जाने कुरा भएको बताइन्। उनले भनिन्, ‘आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै नास्तनामुद गराउँछु भन्नेतिर लाग्नु हुँदैन।’
यसैगरी, कार्कीले विपक्षी दलहरूलाई पनि सरकारको खुट्टा तान्ने प्रवृत्ति त्याग्न आग्रह गरेकी छन्। राजनीतिक दलहरूबिच प्रतिस्पर्धा हुने र एकअर्काको खोट देखाउने चलन सामान्य भए पनि प्रतिपक्षले सभ्य भाषामा मार्गनिर्देशन गर्नुपर्ने उनको धारणा छ। जनताले मत दिएर पठाएको शक्तिलाई खुट्टा तानेर फाल्ने र ध्वस्त बनाउने काम गर्न नहुने उनले स्पष्ट पारिन्।
आफ्नो नेतृत्वको गैरराजनीतिक अन्तरिम सरकारले कसरी सफल मिसन पूरा गर्यो भन्ने कुराको दृष्टान्त दिँदै उनले राजनीतिक दलहरूले नै मुलुक हाँक्ने भएकाले उनीहरूलाई आफूले कहिल्यै कम नआँकेको बताइन्। दलहरूबीचको आलोचना र प्रतिस्पर्धाले नै मुलुकलाई सही दिशामा डोर्याउने उनको विश्वास छ। सोही कार्यक्रममा उनले निर्वाचन सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको प्रशंसासमेत गरेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण