आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
स्वास्थ्य

पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी

शनिबार, १३ असार २०८३, १३ : ००
शनिबार, १३ असार २०८३

सारांश

  • इरेक्टाइल डिस्फंक्शन (ED) ४० वर्षभन्दा बढी उमेरका आधाभन्दा बढी पुरुषहरूलाई असर गर्ने एक सामान्य समस्या हो, तर यसलाई प्रायः गम्भीर रोगको प्रारम्भिक संकेतको रूपमा लिइँदैन।
  • ED मधुमेह, हृदयाघात, पक्षघात र डिमेन्सिया जस्ता गम्भीर रोगहरूको अग्रिम चेतावनी हुन सक्छ, किनकि यो रक्तप्रवाहको समस्या हो जसले लिङ्गमा पर्याप्त रगत पुग्न दिँदैन।
  • ED को उपचार सम्भव छ र यसले यौन जीवन सुधार गर्नुका साथै समग्र स्वास्थ्य समस्याहरूको पहिचान र व्यवस्थापनमा पनि मद्दत गर्न सक्छ।

इरेक्टाइल डिस्फङ्सन (लिङ्ग उत्तेजित नहुने वा पर्याप्त समयसम्म उत्तेजित नहुने समस्या) लाई एउटा मौन महामारी भन्न सकिन्छ । विभिन्न सर्वेक्षणअनुसार ४० वर्षभन्दा माथिका आधाभन्दा बढी पुरुषहरू कुनै न कुनै रूपमा यस समस्याबाट प्रभावित छन् । तर उनीहरूमध्ये निकै कम मात्र आफ्ना जीवनसाथी वा परिवारका सदस्यसँग यसबारे खुलेर कुरा गर्न चाहन्छन् ।

यदि यस विषयमा कहिलेकाहीँ कुराकानी भइहाल्यो भने पनि यसलाई प्रायः ठट्टा–मजाकको विषयका रूपमा लिइन्छ, आसन्न गम्भीर रोगको प्रारम्भिक संकेतका रूपमा होइन । तर पछिल्ला धेरै अनुसन्धानहरूले पुरुषको समग्र स्वास्थ्य अवस्थाको महत्त्वपूर्ण सूचक उसको यौन अंग (लिङ्ग) हुन सक्ने देखाएका छन् । इरेक्टाइल डिस्फङ्सन मधुमेह, हृदयाघात, पक्षघात र डिमेन्सियासहित धेरै गम्भीर रोगहरूको अग्रिम चेतावनी हुन सक्छ ।

इटालीको रोम टोर भेर्गाटा विश्वविद्यालयका यौन स्वास्थ्य विशेषज्ञ इमानुएल जान्निनीका अनुसार यो पूर्वसूचना दिन ‘कोइलाखानीमा राखिने क्यानरी चरा’ (खतराको जनाउ दिने सूचक) जस्तै हो । विगतसम्म भएका अनुसन्धानहरूको समीक्षा गरिएको एउटा शैक्षिक पुस्तकका सम्पादक समेत रहेका जान्निनी भन्छन्, "इरेक्टाइल डिस्फङ्सनको राम्रो परीक्षण गर्न सकिएमा पुरुषको स्वास्थ्यमा देखिन सक्ने धेरै गम्भीर जोखिमहरू समयमै पहिचान गर्न सकिन्छ ।" तर धेरै पुरुषहरू आफ्नो यौन स्वास्थ्यबारे कुरा गर्न हिच्किचाउने भएकाले उनीहरूले गम्भीर जोखिमहरू समयमै पहिचान गर्ने यस्तो महत्त्वपूर्ण अवसर गुमाइरहेका छन् ।

यो अत्यन्तै सामान्य समस्याका बारेमा तपाईं किन जानकार हुनुपर्छ र यसले चिकित्सकका लागि कसरी चेतावनी दिन्छ भन्ने बुझ्नु महत्त्वपूर्ण छ ।

p0nrphks.jpg

  • रक्तप्रवाहको समस्या

धेरैजसो स्वास्थ्य समस्याजस्तै इरेक्टाइल डिस्फङ्सनको वास्तविक व्यापकता त्यसलाई कसरी परिभाषित र मापन गरिन्छ भन्ने कुरामा निर्भर गर्छ । त्यसैले विभिन्न अध्ययनहरूले विश्वभर वयस्क पुरुषमा यसको दर ३ प्रतिशतदेखि ७६.५ प्रतिशतसम्म रहेको बताएका छन्, जुन निकै ठूलो अन्तर हो ।

तर करिब १,२०० पुरुषमाथि विस्तृत प्रश्नावलीसहित गरिएको सबैभन्दा ठूलो अध्ययनमध्ये एकले ४० वर्ष उमेरका ३९ प्रतिशत पुरुषले नियमित रूपमा कुनै न कुनै स्तरको इरेक्टाइल समस्या अनुभव गर्ने देखाएको छ । ७० वर्ष पुग्दा यो दर ६७ प्रतिशतसम्म पुग्छ ।

अनुसन्धानअनुसार इरेक्टाइल डिस्फङ्सन भएका पुरुषहरूमा कोरोनरी हृदयरोग हुने सम्भावना ५९ प्रतिशतले बढी हुन्छ भने पक्षघात (स्ट्रोक) हुने जोखिम ३४ प्रतिशतले बढी हुन्छ । धेरै अर्थमा इरेक्टाइल डिस्फङ्सन भनेको रक्तप्रवाह (प्लम्बिङ) सम्बन्धी समस्या हो ।

लिङ्गभित्र ‘कोर्पोरा काभेर्नोसा’ भनिने दुईवटा स्पन्जजस्ता संरचना हुन्छन्, जुन सामान्य अवस्थामा खुकुलो रहन्छन् । जब पुरुषमा यौन उत्तेजना आउँछ, मस्तिष्कले लिङ्गका धमनी वरिपरिका मांसपेशीलाई शिथिल बनाउन संकेत पठाउँछ । त्यसपछि ती दुई संरचनाभित्र ठूलो मात्रामा रगत प्रवाह हुन्छ ।

रगत भरिँदै जाँदा ती संरचनाहरू फैलिन थाल्छन् र लिङ्गबाट बाहिर रगत लैजाने शिराहरू थिचिन्छन् । यसरी रगत लिङ्गभित्रै अड्किन्छ ।

हावाले भरिँदै गएको बेलुनजस्तै लिङ्ग फैलिन्छ र कडा बन्छ । त्यसैले लिङ्गमा पर्याप्त मात्रामा रगत पुग्न नदिने कुनै पनि कारणले पुरुषको उत्तेजना प्राप्त गर्ने वा कायम राख्ने क्षमतालाई कमजोर बनाउँछ ।

धेरै अवस्थामा यसको कारण मनोवैज्ञानिक पनि हुन्छ । तनावका बेला निस्कने ‘एड्रेनालिन’ र ‘कोर्टिसोल’ जस्ता हर्मोनहरूले रक्तनलीहरू साँघुरा बनाउँछन्, जसका कारण कोर्पोरा काभेर्नोसा पर्याप्त रूपमा कडा हुन सक्दैन ।

उच्च तनावले ‘टेस्टोस्टेरोन’ हर्मोनको उत्पादनमा समेत असर पुर्‍याउन सक्छ । यसले यौन इच्छा घटाउँछ र यौन उत्तेजना कम गराउँछ । हाइपोगोनाडिज्मजस्ता ग्रन्थिसम्बन्धी रोग भएका व्यक्तिहरूमा पनि टेस्टोस्टेरोनको उत्पादन कम हुने भएकाले यसले भूमिका खेलेको हुन सक्छ ।

यति मात्र होइन, तनावले मानिसको ध्यान अन्यत्रै केन्द्रित गराउने भएकाले यौन क्रियाकलापमा एकाग्र हुन पनि कठिन हुन्छ ।

जान्निनीका अनुसार मानव विकासक्रमको दृष्टिले हेर्दा यसका पछाडि उचित कारण थियो । यदि तनावले यौन उत्तेजना रोक्छ भने खतरा भएको अवस्थामा शरीरले आफ्नो ऊर्जा बाँच्नका लागि बचत गर्न सक्छ । उनी भन्छन्, ‘यदि वातावरण जोखिमपूर्ण छ भने त्यस्तो अवस्थामा प्रजनन गर्नु उपयुक्त हुँदैन ।’

तर आधुनिक संसारमा हामीले अनुभव गर्ने धेरै तनाव जीवन–मृत्युसँग सम्बन्धित हुँदैनन् । त्यसैले शरीरको यो सुरक्षात्मक संयन्त्र आवश्यकताभन्दा धेरै पटक सक्रिय हुन सक्छ ।

  • मुटु र मस्तिष्कसँगको सम्बन्ध

धेरै अवस्थामा इरेक्टाइल डिस्फङ्सनले अझ व्यापक स्वास्थ्य समस्याको संकेत पनि दिइरहेको हुन्छ । उदाहरणका लागि, यो एथेरोस्क्लेरोसिस (धमनीमा बोसो जमेर ती कडा र साँघुरा हुने अवस्था) का कारण हुन सक्छ । यसले हृदय रोगको जोखिम उल्लेखनीय रूपमा बढाउँछ ।

लिङ्गका धमनीहरू शरीरका सबैभन्दा साना रक्तनलीमध्ये पर्ने भएकाले तिनमा समस्या सबैभन्दा पहिले देखिन सक्छ । त्यसैले इरेक्टाइल डिस्फङ्सन धेरै अवस्थामा भविष्यमा देखिन सक्ने गम्भीर हृदय रोगको प्रारम्भिक चेतावनी साबित हुन सक्छ ।

shutterstock_2556062271-scaled

१ लाख ५४ हजार ७९४ जनाको तथ्यांक विश्लेषण गरिएको एउटा हालैको अध्ययनले इरेक्टाइल डिस्फङ्सन भएका पुरुषहरूमा कोरोनरी हृदयरोग हुने सम्भावना ५९ प्रतिशत बढी र पक्षघात हुने सम्भावना ३४ प्रतिशत बढी रहेको देखाएको छ ।

बेलायतको म्यानचेस्टर मेट्रोपोलिटन विश्वविद्यालयका प्रजनन विज्ञान विशेषज्ञ माइकल क्यारोल भन्छन्, ‘रक्तनलीको स्वास्थ्य राम्रो छ कि छैन भन्ने कुराको एउटा राम्रो सूचक भनेकै राम्रो इरेक्सन (उत्तेजना) हुनु हो ।’

केही प्रारम्भिक अनुसन्धानहरूले लिङ्गको खराब स्वास्थ्यले मस्तिष्कको कार्यक्षमता कमजोर हुने प्रक्रियाको पनि संकेत दिन सक्ने देखाएका छन् । ताइवानमा गरिएको एउटा अध्ययनले इरेक्टाइल डिस्फङ्सन भएका पुरुषहरूमा सात वर्षको अवधिभित्र डिमेन्सिया हुने सम्भावना ६८ प्रतिशत बढी रहेको पत्ता लगाएको थियो ।

लिङ्गझैँ हाम्रो मस्तिष्क पनि राम्रो रक्तसञ्चारमा निर्भर हुन्छ । पर्याप्त रगत पुगेपछि मात्र मस्तिष्कले आवश्यक ऊर्जा प्राप्त गर्छ र विषाक्त पदार्थहरू हटाउन सक्छ ।

  • मधुमेहसँगको सम्बन्ध

मधुमेहको जोखिम भएका व्यक्तिहरूका लागि इरेक्टाइल डिस्फङ्सनको निगरानी विशेष रूपमा महत्त्वपूर्ण हुन सक्छ । मधुमेहले विभिन्न प्रक्रियामार्फत रक्तसञ्चार प्रणाली र स्नायु प्रणालीलाई क्षति पुर्‍याउँछ ।

उदाहरणका लागि, रगतमा चिनीको मात्रा धेरै बढिरहँदा अतिरिक्त ग्लुकोज रक्तनलीको भित्तामा रहेका प्रोटिनसँग टाँसिन थाल्छ । यस प्रक्रियालाई ग्लाइकेसन भनिन्छ । यसका कारण रक्तनलीहरूले आफ्नो लचकता गुमाउँछन् ।

एथेरोस्क्लेरोसिसजस्तै यसले पनि शरीरका आवश्यक अंगहरूमा रगतको प्रवाह कम गराउँछ । लिङ्गका रक्तनलीहरू अत्यन्तै संवेदनशील हुने भएकाले त्यसको असर सबैभन्दा पहिले त्यहीँ देखिन सक्छ ।

स्पेनको बार्सिलोनास्थित सान्ट पाउ रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ता बोग्डान भ्लाचो भन्छन्, ‘मधुमेह र इरेक्टाइल डिस्फङ्सनबीचको सम्बन्ध अत्यन्तै बलियो छ । टाइप–२ मधुमेह भएका पुरुषहरूमा मधुमेह नभएका पुरुषको तुलनामा इरेक्टाइल डिस्फङ्सन हुने सम्भावना करिब तीन गुणा बढी हुन्छ ।’

भ्लाचोले हालै प्रकाशित अनुसन्धान समीक्षामा मधुमेहसँगै इरेक्टाइल डिस्फङ्सन भएका व्यक्तिहरूमा ‘पेरिफेरल न्युरोप्याथी’ (हात र खुट्टाका स्नायुमा हुने क्षति) हुने सम्भावना धेरै बढी रहेको उल्लेख गरेका छन् ।

यस्ता व्यक्तिहरूमा रेटिनोप्याथी (आँखाको पर्दामा पर्ने असर) हुने जोखिम पनि उच्च हुन्छ, जसले अन्ततः अन्धोपन निम्त्याउन सक्छ । साथै घाउ निको हुन ढिलाइ हुने भएकाले कतिपय अवस्थामा हात वा खुट्टा काट्नुपर्ने अवस्था समेत आउन सक्छ ।

यति हुँदाहुँदै पनि मधुमेह भएका बिरामीमा इरेक्टाइल डिस्फङ्सनको नियमित परीक्षण गर्ने अभ्यास त्यति पाइँदैन । स्पेनको बार्सिलोना विश्वविद्यालयका एन्डोक्राइनोलोजिस्ट सान्टियागो मार्टिनेज भन्छन्, ‘धेरै स्वास्थ्यकर्मीहरूले बिरामीसँग यस विषयमा कुरै गर्दैनन् भन्ने कुरा अनुसन्धानहरूले देखाएका छन् ।’

  • सम्भावित उपचार

बेलायतको युरोलोजी फाउन्डेसनले गरेको एउटा सर्वेक्षणले इरेक्टाइल डिस्फङ्सन भएका आधाभन्दा बढी पुरुषले लाज र चिन्ताका कारण चिकित्सकसँग परामर्श लिनै नचाहेको देखाएको छ । त्यति मात्र होइन, २० प्रतिशत सहभागीले त आफ्नो समस्याबारे स्वास्थ्यकर्मीलाई भेट्नुभन्दा बरु एक महिनासम्म बियर नपिई बस्न सक्ने बताएका थिए ।

तर माइकल क्यारोलका अनुसार इरेक्टाइल डिस्फङ्सन अनुभव गरिरहेका सबै पुरुषले चिकित्सकीय सहायता लिनुपर्छ । उनका अनुसार उपचारबाट यौन जीवनसँग सम्बन्धित तनाव र असन्तुष्टि कम हुन सक्छ । त्यति मात्र होइन, यसले समग्र शारीरिक स्वास्थ्यबारे चिकित्सकसँग महत्त्वपूर्ण छलफल गर्ने अवसर पनि दिन्छ, जसले कतिपय अवस्थामा जीवन नै बचाउन सक्छ ।

उनी भन्छन्, ‘समस्यालाई सुरुमै सम्बोधन गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।’

causes-of-ED-image

आखिर, इरेक्टाइल डिस्फङ्सन निको हुनै नसक्ने रोग होइन । भियाग्रा (सिल्डेनाफिल) जस्ता औषधिले लिङ्गका रक्तनलीहरू फैलाएर रगतको प्रवाह बढाउँछन् । केही अनुभवजन्य तथ्यहरूले यौन जीवन सुधार्न यस्ता औषधि प्रयोग गर्ने बिरामीहरूमा मुटुसम्बन्धी स्वास्थ्य पनि राम्रो देखिएको जनाएका छन् । उनीहरूमा हृदयाघात वा मुटु कमजोर हुने जोखिम कम हुन सक्ने संकेत देखिए पनि यसलाई अहिलेसम्म क्लिनिकल परीक्षणहरूले निश्चित रूपमा पुष्टि भने गरिसकेका छैनन् ।

उल्लेखनीय कुरा के छ भने, भियाग्रा सुरुमा उच्च रक्तचाप भएका बिरामीको मुटुसम्बन्धी उपचारका लागि विकास गरिएको थियो । पछि अनुसन्धानकर्ताहरूले यसको अहिले सबैलाई थाहा भएको परिचित ‘साइड इफेक्ट’ पत्ता लगाए ।

एउटा अर्को अध्ययनले ८ लाख ८५ हजारभन्दा बढी बिरामीको तथ्यांक विश्लेषण गर्दै यस्ता औषधि प्रयोग गर्ने व्यक्तिहरूमा अल्जाइमर रोग हुने जोखिम करिब आधाले घट्न सक्ने देखाएको छ ।

कम्तीमा पनि यदि तपाईंले आफ्नो इरेक्टाइल समस्याबारे चिकित्सकलाई जानकारी दिनुभयो भने उनीहरूले उच्च रक्तचाप, एथेरोस्क्लेरोसिसजस्ता मुटु रोगका जोखिम कारकहरूको परीक्षण गर्न सक्छन् । साथै मोटोपन वा अन्य जीवनशैलीसम्बन्धी कारणहरूले हृदय र रक्तसञ्चार प्रणालीमा पारेको असरबारे पनि आवश्यक परामर्श दिन सक्छन् ।

कतिपय अवस्थामा खानपान सुधार्ने र नियमित व्यायाम गर्ने जस्ता साधारण उपायहरूले पनि उल्लेखनीय सुधार ल्याउन सक्छन् । मधुमेह भएका बिरामीका लागि रगतमा चिनीको मात्रा राम्रोसँग नियन्त्रण गर्नु अत्यन्त आवश्यक हुन्छ ।

यद्यपि सान्टियागो मार्टिनेज र बोग्डान भ्लाचोका अनुसार यी उपचारहरूले इरेक्टाइल डिस्फङ्सनका साथै अन्य जटिलताहरूको जोखिम पनि घटाउँछन् कि घटाउँदैनन् भन्ने विषयमा अनुसन्धान अझै प्रारम्भिक चरणमै छ ।

यसका अतिरिक्त इरेक्टाइल डिस्फङ्सनको वास्तविक कारण छुट्याउनु पनि सजिलो हुँदैन । किनकि यो अश्लील सामग्रीको अत्यधिक लत, मानसिक स्वास्थ्य समस्या वा यौन इच्छासँग सम्बन्धित मनोवैज्ञानिक कारणले पनि हुन सक्छ ।

क्यारोल भन्छन्, ‘यदि व्यक्तिलाई मधुमेह वा मुटुसम्बन्धी रोग छ भने त्यससँग सम्बन्ध जोड्न र उपचार गर्न अपेक्षाकृत सजिलो हुन्छ । तर यदि अत्यधिक मदिरापान, धूम्रपान, अश्लील सामग्रीको अत्यधिक प्रयोगजस्ता जीवनशैलीका कारण मनोवैज्ञानिक वा व्यवहारगत समस्यासँग मिसिएका छन् भने उपचार निकै कठिन हुन सक्छ । यस्ता धेरै पुरुष आफ्ना बानीबारे खुलेर भन्न चाहँदैनन् ।’

  • हामीले गुमाएको त्यो हाड

यी सबै अनुसन्धानले अहिलेको स्वास्थ्य सेवाका लागि महत्त्वपूर्ण सन्देश त दिएका छन् नै, तर इमानुएल जान्निनी मानव विकासक्रमका दृष्टिले अर्को रोचक प्रश्नबारे पनि सोचिरहेका छन् । त्यो हो– कसरी लिङ्ग समग्र स्वास्थ्यको यति राम्रो सूचक बन्यो ?

मानिस एउटा यस्तो प्रजाति हो, जसमा लिङ्ग कडा हुन पूर्ण रूपमा रक्तप्रवाहमा निर्भर रहन्छ । तर हाम्रो सबैभन्दा नजिकका नातेदार चिम्पान्जीलगायत धेरैजसो अन्य प्राइमेटहरूमा 'ब्याकुलम' भनिने एउटा सानो हड्डी हुन्छ ।

यौन उत्तेजनाका बेला यो हाड बाहिर निस्केर लिङ्गलाई सहारा दिन्छ, जसले गर्दा उनीहरूको यौन क्षमता मानिसको जस्तो प्रत्यक्ष रूपमा समग्र स्वास्थ्यमा निर्भर हुँदैन । त्यसो भए मानिसले विकासक्रममा किन त्यो हड्डी गुमायो र यसको सट्टा यौन क्रियाकलापमा समस्या देखिने सम्भावना विकसित भयो ? यो प्रश्नले लामो समयदेखि विकासवादी जीवविज्ञानीहरूलाई अन्योलमा पारेको छ ।

तर जान्निनीको अनुमान फरक छ । उनका अनुसार मानव विकासक्रममा पुरुषहरूले लिङ्गको हाड गुमाउनुको एउटा सम्भावित कारण महिलाहरूलाई सबैभन्दा स्वस्थ र राम्रो आनुवंशिक गुण भएका जीवनसाथी पहिचान गर्न सजिलो बनाउनु हुन सक्छ ।

उनी भन्छन्, ‘प्रजननका लागि यति महत्त्वपूर्ण हाड हामीले गुमायौँ भन्ने कुरा निकै अनौठो लाग्छ, किनकि त्यसपछि हाम्रो यौन प्रतिक्रिया धेरै अनिश्चित बन्यो । तर यही कारणले लिङ्ग दीर्घकालीन रोगहरूको उत्कृष्ट जैविक सूचक (बायोमार्कर) बनेको छ ।’

(डेभिड रोबसन प्रतिष्ठित विज्ञान लेखक हुन् । उनको पछिल्लो पुस्तक ‘द लज अफ कनेक्सनः थर्टिन सोसियल स्ट्राटेजिज द्याट विल ट्रान्सफर्म योर लाइफ’ सन् २०२४ मा क्यानोन्गेट (बेलायत) र पेगासस बुक्स (अमेरिका तथा क्यानडा) बाट प्रकाशित भएको थियो । प्रस्तुत लेख बीबीसीबाट भावानुवाद गरिएको हो ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डेभिड रोबसन
डेभिड रोबसन
लेखकबाट थप