आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत

आइतबार, १४ असार २०८३, ०१ : ०६
आइतबार, १४ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को अन्तिम खेलहरूले नकआउट चरणमा पुग्ने टोलीहरूको टुङ्गो लगाउनेछ ।
  • इङ्गल्याण्ड शीर्ष स्थानमा छ, घाना दोस्रो, क्रोएसिया तेस्रो र पानामा पुछारमा छ ।
  • क्रोएसियालाई नकआउट चरणमा पुग्न घानाविरुद्ध जित्नै पर्ने दबाब छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को प्रतिस्पर्धा निकै रोचक मोडमा पुगेको छ । नेपाली समय अनुसार आइतबार बिहान २:४५ बजे हुने समूह चरणका अन्तिम दुई खेलले यस समूहबाट नकआउट चरण (अन्तिम ३२) मा पुग्ने टोलीहरूको टुङ्गो लगाउनेछ ।

हालको अङ्क तालिकामा इङ्गल्याण्ड ४ अङ्क सहित गाेल अन्तरले शीर्ष स्थानमा छ भने घाना समान ४ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ । ३ अङ्क जोडेको क्रोएसिया तेस्रो स्थानमा रहँदा दुई खेलमा हार व्यहोरेको पानामा अङ्कविहीन हुँदै पुछारमा छ ।

न्युयोर्क न्युजर्सी स्टेडियममा हुने खेलमा इङ्गल्याण्डले पानामाको सामना गर्दै छ । जुन १८ मा क्रोएसियालाई ४–२ ले हराएको इङ्गल्याण्ड दोस्रो खेलमा बराबरीमा रोकिएको थियो । ४ अङ्क जोडिसकेको इङ्गल्याण्ड अघिल्लो चरणका लागि लगभग सुरक्षित छ । आजको खेलमा जित वा बराबरीले उनीहरूलाई समूह विजेता वा उपविजेता बनाउनेछ । यद्यपि, पानामासँग अप्रत्याशित हार व्यहोरे पनि इङ्गल्याण्ड कम्तीमा तेस्रो स्थानमा रहनेछ र ४ अङ्कका साथ ‘उत्कृष्ट तेस्रो’ टोलीको रूपमा अघिल्लो चरण पुग्ने निश्चित छ । दुई खेलमा पराजित पानामाका लागि भने यो खेल केवल आफ्नो साख जोगाउने अवसर मात्र हो ।

अर्कोतर्फ, फिलाडेल्फिया स्टेडियममा क्रोएसिया र घानाबिच निकै चुनौतीपूर्ण र निर्णायक भिडन्त हुँदैछ । पहिलो खेलमा इङ्गल्याण्डसँग पराजित भएको क्रोएसियाले दोस्रो खेलमा पानामालाई १–० ले हराउँदै अघिल्लो चरणको आशा जीवितै राखेको थियो । क्रोएसियाका लागि अघिल्लो चरणको यात्रा तय गर्न आजको खेल जित्नै पर्ने दबाब छ। ४ अङ्क भएको घाना विरुद्ध जित निकालेमा क्रोएसिया ६ अङ्कका साथ सिधै अन्तिम ३२ मा प्रवेश गर्नेछ ।

यदि क्रोएसियाले घानालाई हराएमा, क्रोएसिया ६ अङ्क सहित अगाडि बढ्नेछ भने पराजित घाना ४ अङ्कले ‘उत्कृष्ट तेस्रो’ टोलीको कोटाबाट अन्तिम ३२ मा स्थान बनाउने सम्भावना रहन्छ । तर, क्रोएसिया र घानाबिचको खेल बराबरीमा सकिएमा घाना ५ अङ्कसहित सिधै अगाडि बढ्नेछ र क्रोएसिया ४ अङ्कमा रोकिनेछ । यस्तो अवस्थामा क्रोएसियाले अघिल्लो चरण पुग्न अन्य समूहका तेस्रो स्थानका टोलीहरूको नतिजामा भर पर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप