भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
सारांश
- पछिल्लो समय नेपालमा भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ, जसले अवसर र चुनौती दुवै सिर्जना गरेको छ ।
- भारतीय पर्यटकको सङ्ख्या बढ्दा खर्च कम गर्ने, फोहोर गर्ने जस्ता गुनासो आए पनि यसले नेपाली अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँछ ।
- भारतीय पर्यटकको सङ्ख्यालाई व्यवस्थापन गर्दै धार्मिक, साहसिक र लक्जरी पर्यटनलाई सँगै प्रवर्द्धन गरेर नेपालले लाभ लिन सक्छ ।
पछिल्लो समय पोखरा, काठमाडौँ, लुम्बिनी र चितवनलगायत सहरका गल्ली–गल्लीमा हिन्दीभाषी पर्यटकहरू खुबै देखिन थालेका छन् । यो केही वर्षयता नेपालमा भारतीय पर्यटकहरूको आगमन उल्लेखनीय रूपमा बढेको प्रमाण हो ।
अहिले मौसमी रूपमा मात्र नभएर वर्षभरि नै भारतीय पर्यटकहरूको ओइरो लागेको छ । नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्याङ्कले पनि नेपाल आउने विदेशी पर्यटकमध्ये सबैभन्दा ठूलो हिस्सा भारतीयहरूकै देखाउँछ । यस्तो परिदृश्यले एउटा नयाँ बहस सिर्जना गरेको छ ।
अब भारतीय पर्यटकको सन्तुलित व्यवस्थापन कसरी गर्ने ? विशेष गरी धार्मिक, पारिवारिक, मनोरञ्जनात्मक तथा छोटो अवधिको भ्रमणका लागि लाखौँ भारतीय नागरिक नेपाल आउने गरेका छन् । पोखरा, काठमाडौँ, जनकपुर, लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथ, मनकामना, गोरखा लगायतका गन्तव्यहरूमा भारतीय पर्यटकको उपस्थिति सहजै देख्न सकिन्छ ।
यस्तो अवस्थाले एकातिर अवसरको ढोका खोलेको छ भने अर्कातिर व्यवस्थापनको प्रश्न पनि उठाएको छ । भारतीय पर्यटकहरूको व्यवहारलाई लिएर कतिपय असन्तुष्टि पनि सतहमा देखिन थालेका छन् । कतिपयले भारतीय पर्यटकहरू धेरै खर्च नगर्ने, अनावश्यक हो–हल्ला गर्ने, फोहोर गर्ने, स्थानीय नियमप्रति न्यून संवेदनशील हुने तथा उनीहरूको अत्यधिक उपस्थितिले अन्य मुलुकका पर्यटकहरू बिच्किन सक्ने तर्क गरिरहेका छन् ।
नेपाली समाजको मेरुदण्डमा एउटा गहिरो मूल्य अङ्कित छ– ‘अतिथि देवो भवः’ । घरमा आएको पाहुनालाई देउतासरह मान्ने यो परम्परा हाम्रो पहिचान हो, गौरव हो । यो केवल एउटा आहान मात्र होइन, हाम्रा पुर्खाले हामीलाई सिकाएको सत्कार र सम्मानको संस्कार पनि हो । त्यसैले कुनै पनि देशका पर्यटकलाई राष्ट्रियता वा भाषाका आधारमा हेप्ने वा सामूहिक रूपमा नकारात्मक चित्रण गर्ने प्रवृत्ति नेपाली समाजको उदार चरित्रसँग मेल खाँदैन ।
भारत र नेपालको सम्बन्ध केवल भौगोलिक छिमेकीको मात्र नभएर साझा भाषा, साझा धर्म, साझा संस्कृति र साझा इतिहासले गाँसिएको सम्बन्ध हो । सीताको जन्मभूमि जनकपुर र बुद्धको जन्मभूमि लुम्बिनी नेपालमै छ ।
भारतका लाखौँ श्रद्धालुका लागि नेपाल केवल पर्यटनस्थल होइन, तीर्थस्थल पनि हो, आस्थाको धरातल हो । त्यसैले नेपालसँगको खुला सीमा, सांस्कृतिक निकटता, धार्मिक सम्बन्ध, भाषिक समानता र सहज यातायातका कारण भारतीय नागरिकका लागि नेपाल स्वाभाविक पर्यटन गन्तव्य बनेको हो ।
आजको भारत विश्वकै सबैभन्दा ठूलो जनसङ्ख्या भएको देश हो । डेढ अर्बको हाराहारी जनसङ्ख्यामा पछिल्लो समय मध्यमवर्गीय उपभोक्ताको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । यो वर्ग अब पहिलेभन्दा बढी भ्रमण गर्छ, खर्च गर्छ र अनुभव खोज्छ । नेपालको भारतसँगको खुला सिमाना यसका लागि अभूतपूर्व सुविधा हो ।
नेपाल–भारतबीच राहदानीको झन्झट छैन । उडानको लागत सस्तो छ । यात्राको दूरी कम छ । उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल, राजस्थान, मध्य प्रदेशजस्ता ठूला राज्यका करोडौँ मानिसका लागि नेपाल पहिलो वैदेशिक भ्रमण गन्तव्य हुन्छ ।
यस्तो सहज पहुँच भएको बजार संसारमा विरलै पाइन्छ । विश्वका अधिकांश देशहरू विशाल भारतीय बजारलाई आकर्षित गर्न प्रतिस्पर्धा गरिरहेका बेला नेपालले छिमेकमै पाएको यस्तो अवसरलाई बेवास्ता गर्नु मूर्खता हुन्छ ।
विशेषगरी धार्मिक पर्यटनको क्षेत्रमा भारत नेपालको सबैभन्दा ठूलो सम्भावित बजार हो । हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित नेपालका धेरै तीर्थस्थल भारतीय श्रद्धालुहरूका लागि विशेष महत्त्वका छन् । पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र लुम्बिनीजस्ता तीर्थस्थलमा भारतीय श्रद्धालुको भिड वर्षभर लाग्छ । धार्मिक पर्यटन मौसम र फेसन बदलिएसँगै सकिने स्वरूपको हुँदैन ।
पुस्तौँदेखि चल्दै आएको आस्था र श्रद्धाले गर्दा लाखौँ भारतीय प्रत्येक वर्ष नेपाल आउँछन्, उनीहरू यहाँ आइरहनेछन् । नेपालले यस क्षेत्रमा धार्मिक पर्यटनको पूर्वाधार, सेवा र व्यवस्थापनमा लगानी बढाउन तथा प्रभावकारी बनाउन सकेको खण्डमा भारतीय पर्यटकहरूबाट प्राप्त हुने आय नेपालको एउटा स्थायी र भरोसायोग्य आर्थिक स्तम्भ बन्न सक्छ ।
‘भारतीय पर्यटकले धेरै खर्च गर्दैनन्’ भन्ने आलोचना पनि यदाकदा सुनिन्छ । यो केवल आंशिक सत्य मात्रै हो । खर्चको औसत रकम पश्चिमी मुलुकका पर्यटकको भन्दा कम हुन सक्छ, तर भारतीय पर्यटकले औसतमा कम खर्च गर्दा पनि सङ्ख्याको बलमा समग्र योगदान उल्लेखनीय हुन्छ ।
होटल, रेस्टुरेन्ट, यातायात, धार्मिक सामग्री, स्थानीय उत्पादन तथा विभिन्न सेवामा भारतीय पर्यटकको खर्चले लाखौँ नेपालीको दैनिकीलाई सुधार्छ । धेरै साना व्यवसाय, होटल, ट्याक्सी चालक, पसले तथा स्थानीय उद्यमीहरू भारतीय पर्यटकबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।
साथै, भारतीय उच्च–मध्यमवर्ग र धनाढ्य वर्गको नेपाल आगमन पनि बढिरहेको छ । त्यस्ता पर्यटकहरू लक्जरी होटल, हाई–एन्ड रेस्टुरेन्ट र एडभेन्चर टुरिजममा खर्च गर्छन् । त्यो वर्गलाई आकर्षित गर्न सकिए आर्थिक लाभ कैयौँ गुणा बढ्नेछ ।
भारतीय पर्यटकको अत्यधिक भिडले युरोप, अमेरिका वा अन्य देशका पर्यटकहरूलाई भड्काउन सक्छ भन्ने तर्क पनि सुनिन्छ । यो चिन्ता पूर्ण रूपमा असान्दर्भिक भने होइन । कुनै गन्तव्यमा अत्यधिक भिड हुँदा गुणस्तरीय पर्यटन अनुभव प्रभावित हुन सक्छ । जसले उच्च मूल्य तिरेर शान्त र विशेष अनुभव खोज्छन्, भिडभाडले उनीहरूलाई विक्षिप्त पार्न सक्छ ।
उच्च मूल्य तिर्ने पर्यटकले उनीहरूले खोजेको जस्तो अनुभव नपाए दोस्रो पटक आउँदैनन् । तर यसको समाधान भारतीय पर्यटकलाई रोक्नु नभई पर्यटनको उचित व्यवस्थापन गर्नु हो । विश्वका सफल पर्यटन गन्तव्यहरूले विभिन्न प्रकारका पर्यटकलाई एकैसाथ आकर्षित गर्ने क्षमता विकास गरेका छन् । धार्मिक पर्यटन, साहसिक पर्यटन, सांस्कृतिक पर्यटन र उच्चस्तरीय लक्जरी पर्यटनलाई समानान्तर रूपमा प्रवर्द्धन गर्न सकिन्छ ।
विश्वभर भारतीय पर्यटकको छवि नराम्रो रहेको भन्ने अर्को तर्क पनि सुनिन्छ । वास्तवमा कुनै पनि ठूलो जनसङ्ख्या भएको देशका पर्यटकबारे सकारात्मक र नकारात्मक दुवै प्रकारका अनुभवहरू पाइन्छन् । चीन, अमेरिका, बेलायत वा अन्य कुनै देशका पर्यटकबारे पनि यस्तै आलोचनाहरू विभिन्न समयमा सुनिने गरेका छन् ।
केही व्यक्तिको व्यवहारका आधारमा सम्पूर्ण राष्ट्रको छवि निर्धारण गर्नु उचित हुँदैन । कुनै पनि ठूलो पर्यटक समूहसँग केही व्यवहारजन्य चुनौतीहरू देखिन सक्छन् । अत्यधिक भिड, फोहोर व्यवस्थापनको समस्या, ट्राफिक दबाब, स्थानीय संस्कृतिप्रति असंवेदनशील व्यवहार तथा सार्वजनिक स्थानमा अनुशासनहीन गतिविधि कतिपय अवस्थामा देखिन सक्छन् ।
तर यस्ता समस्यालाई सम्पूर्ण भारतीय समुदायको विशेषता भनेर चित्रण गर्नु न्यायोचित हुँदैन । नेपालमा आउने लाखौँ भारतीयमध्ये धेरैजसो पर्यटक सम्मानजनक व्यवहार गर्ने, धार्मिक आस्था बोकेर आउने र स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने व्यक्ति हुन् ।
नेपालले पनि ‘पर्यटकको सङ्ख्या’ मा मात्र होइन ‘पर्यटकको गुणस्तर र अनुभव’ मा ध्यान दिनुपर्छ । सबै पर्यटकका लागि स्पष्ट आचारसंहिता, सफाइ व्यवस्थापन, भिड नियन्त्रण, पूर्वाधार विस्तार र स्थानीय संस्कृतिप्रति सम्मान बढाउने अभियान सञ्चालन गर्नुपर्छ । भिड व्यवस्थापनका लागि थप सुविधा र पूर्वाधार निर्माण पनि गर्न सकिन्छ ।
उच्च मूल्यका अनुभव र स्थानहरूमा पहुँच नियन्त्रित गर्न उचित शुल्क प्रणाली लागू गर्दा थप आर्थिक लाभ मिल्छ । तर नियम सबैका लागि समान हुनुपर्छ, ती चाहे भारतीय हुन्, नेपाली मूलका विदेशी नागरिक हुन् वा पश्चिमी देशका पर्यटक नै किन नहुन् !
भारतीय पर्यटक असल वा खराब भन्ने बहस गरिरहँदा कतै हामीले पर्यटकको भिडमा समाहित भएर आउने अवसरलाई व्यवस्थापन गर्न नसकेको वा नजानेको त होइन ? भन्ने स्वाभाविक प्रश्नमा ध्यान दिनैपर्छ । व्यवस्थापन कमजोर हुनु भनेको पर्यटकको नभएर प्रणालीको समस्या हो । हामीमा व्यवस्थापकीय तथा पूर्वाधारजन्य अपर्याप्तता छ भने त्यसको दोष आगन्तुकलाई थोपर्न मिल्दैन ।
अन्त्यमा, पाहुना हाम्रा देवता हुन् । देवतालाई पनि मर्यादामा राख्नुपर्छ । घर–परिवारलाई पनि सुव्यवस्थित राख्नुपर्छ । भारतीय पर्यटकहरू नेपालका लागि समस्या होइनन्, अवसर हुन् । यदि हामीले यस अवसरलाई सही तरिकाले उपयोग गर्न जानेको खण्डमा एवम् दुवैतर्फबाट सद्भाव, सम्मान र जिम्मेवारी प्रदर्शन भएको अवस्थामा भारत र नेपालको सम्बन्धको गहिराइलाई पर्यटनले अझ बलियो बनाउन सक्छ ।
नेपाल सरकार, पर्यटन उद्योग र स्थानीय समुदायले मिलेर त्यस्तो वातावरण बनाउन सक्छन्, जसमा भारतीय पर्यटकले पनि सम्मानजनक अनुभव पाउँछन् साथै अन्य पर्यटकको अनुभव पनि बिग्रँदैन । फलतः नेपाली समाजले यथोचित लाभ उठाउन पाउँछ । नेपालको पर्यटन उद्योगको भविष्य बहिष्कारमा होइन, व्यवस्थापन र सहअस्तित्वमा निर्भर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण