मल खरिदमा चलखेल : भारतभन्दा झन्डै दोब्बर मूल्य तिर्दै सरकार
सारांश
- एउटै मल, एउटै कम्पनीबाट खरिद गर्दा पनि भारतलाई ५४० डलर प्रतिमेट्रिक टन पर्ने मल नेपालले ९००.७५ डलरमा खरिद गर्दैछ ।
- कृषि सामग्री कम्पनीका कर्मचारीहरूले अन्तर्राष्ट्रिय गिरोहले नेपालमा मनपरी गरेको र मल खरिद प्रक्रियामा चलखेल भएको आरोप लगाएका छन् ।
- भारतले ५४० डलरमा खरिद गरेको मल नेपाललाई ८४८ डलरमा दिने सम्झौता भए पनि, सिङ्गापुरको कम्पनीले भारतभन्दा झन्डै दोब्बर मूल्यमा मल बिक्री गरिरहेको छ ।
काठमाडौँ। एउटै मल, एउटै ठाउँबाट ल्याउँदा पनि नेपाल र भारतले तिर्ने मूल्यमा निकै फरक देखिएको छ ।
सिङ्गापुरको अन्तर्राष्ट्रिय कम्पनी 'एसएस आदित्य बिर्ला ग्लोबल ट्रेडिङ'ले भारत र नेपाल दुवै देशलाई रासायनिक मल आपूर्ति गर्ने टेन्डर पाएको छ ।
तर, उक्त कम्पनीले भारतलाई त्यही मल प्रतिमेट्रिक टन ५४० डलरमा उपलब्ध गराएको छ भने नेपाललाई ९००.७५ डलरमा उपलब्ध गराउँदै छ । आदित्य बिर्लाले जहाँबाट भारतलाई मल दिइरहेको छ, त्यहीँबाट नेपाललाई पनि दिने हो । तर, यति धेरै मूल्य फरक किन ? भनी कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारीहरूले नै प्रश्न गर्न थालेका छन् ।
कृषि सामग्री कम्पनीका एक कर्मचारीले भने, ‘नेपालमा मनपरी छ, जसलाई जे मन लाग्यो त्यही गरिरहेका छन् । पश्चिम एसियाको द्वन्द्व देखाएर टेन्डर नभर्ने, पटक–पटक टेन्डर फेल गराउने तर पछि त्यही मलका लागि बढी रकममा टेन्डर प्राप्त गरेपछि ल्याउन तयार हुने ! यो अन्तर्राष्ट्रिय गिरोहको खेल हो ।’
जबकि, भारतले त्यही समयमा टेन्डर निकाल्दा आदित्य बिर्लाले प्रतिमेट्रिक टन ५४० डलरमा मल दिएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य अझै घटेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनले गत मार्च महिनादेखि नियन्त्रणमा राखेको युरिया निर्यातलाई फुकुवा गर्ने निर्णय गरेपछि रासायनिक मलको मूल्यमा भारी गिरावट आएको हो । यसबाट कम्तीमा ५० प्रतिशत मूल्य घट्ने लगभग निश्चित भएको छ ।
भौगोलिक निकटताका कारण भारतको पूर्वी तटमा हुने आपूर्तिको ठूलो हिस्सा चीनबाटै आउने गर्छ । पश्चिम एसियामा द्वन्द्व समाधानउन्मुख देखिएपछि रासायनिक मलको मूल्यमा भारी गिरावट आउने देखिएको छ । तर, नेपालले अझै पनि ९००.७५ डलर तिरेर मल खरिद गरिरहेको छ ।
आदित्य बिर्लाले ३० हजार मेट्रिक टन मल आपूर्ति गर्ने टेन्डर पाइसकेको छ । सो कम्पनीले वीरगन्ज, विराटनगर र भैरहवासम्म मल पुर्याउनका लागि ९००.७५ डलरको टेन्डर पाएको हो । अहिलेको अवस्थामा यो मूल्य धेरै नै महँगो हो । ती अधिकारीले भने, ‘आदित्य बिर्लाले नेपाललाई चुना लगाएको छ । यदि त्यसो होइन भने भारतलाई ५४० डलर र नेपाललाई ९००.७५ डलर किन ?’ ठेक्काअनुसार आदित्य बिर्लाले दुई करोड ७० लाख २२ हजार ५०० अमेरिकी डलर नेपाल सरकारबाट प्राप्त गर्नेछ ।
उता भारतले पनि ५४० डलर प्रतिमेट्रिक टनमा खरिद गरेको मल नेपाललाई भने ८४८ डलरमा दिइरहेको छ । भारतले सस्तोमा खरिद गरेर नेपाललाई महँगोमा बेचिरहेको भए पनि, आदित्य बिर्लाले त भारतले भन्दा पनि बढी महँगोमा नेपाललाई मल भिराएको गुनासो भइरहेको छ ।
नेपाल र भारतबीच भएको जीटुजी सम्झौताअनुसार भारतले नेपाललाई ५० हजार मेट्रिक टन मल दिनेछ । नेपालले तत्कालका लागि ८० हजार मेट्रिक टन मल माग गरेको थियो, तर अहिले ५० हजार मेट्रिक टन मात्र पाउने भएको छ । त्यसका लागि नेपालले भारतलाई रकम पनि पठाइसकेको छ ।
तर, रकम प्राप्त गरेको दिनदेखि १२० दिन (चार महिना) मा मात्र नेपालले मल प्राप्त गर्ने प्रावधान छ । अर्थात्, भारतले दिने मल पनि नेपालका किसानले धान रोप्ने सिजनमा पाउने छैनन् । भारतले प्रक्रियागत रूपमा मल दिने हो भने त्यो मल असोजमा मात्र नेपाल आइपुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण