आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

एआईले तथ्य र भ्रम दुवै फैलाउन सक्छ, युवामा आलोचनात्मक चेत आवश्यक : राजदूत मेउली

शनिबार, १३ असार २०८३, १४ : ५५
शनिबार, १३ असार २०८३

सारांश

  • नेपालका लागि स्वीस राजदूत डा. ड्यानियल मेउलीले एआईले तथ्य र भ्रम दुवै फैलाउन सक्ने भएकाले युवाहरूमा तथ्य जाँचको आवश्यकतामा जोड दिएकी छिन्।
  • उनले सूचनाको बाढी भएको समयमा पत्रकार, कन्टेन्ट क्रिएटर र सामाजिक सञ्जाल प्रयोगकर्ता सबैले सार्वजनिक भाष्य निर्माण गरिरहेकाले तथ्य जाँच आवश्यक रहेको बताइन्।
  • कार्यक्रममा पत्रकार उमेश चौहानले युवामा छोटो सामग्री उपभोगको बानी बढेको औंल्याउँदै न्युजरुमको अनुभव लिन आग्रह गरे भने कन्टेन्ट क्रिएटर सुरज सुवेदीले जिम्मेवार सामग्री उत्पादनमा जोड दिए।

काठमाडौँ । नेपालका लागि स्वीस राजदूत महामहिम डा. ड्यानियल मेउलीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले तथ्य र भ्रम (फेक न्युज) दुवैलाई तीव्र रूपमा फैलाउन सक्ने भएकाले विशेष गरी युवाहरूमा तथ्य जाँचको ठूलो आवश्यकता रहेको बताएकी छिन्। 

सेन्ट जेभियर्स कलेजको पत्रकारिता विभागद्वारा आयोजित ‘मिडियाटक शृङ्खला–४१’ मा विशेष अतिथिका रूपमा बोल्दै राजदूत मेउलीले यस्तो धारणा राखेकी हुन्।

हामी सूचनाको बाढी भएको समयमा बाँचिरहेका छौँ जहाँ सूचनाहरू तत्काल र शक्तिशाली रूपमा प्रवाह हुन्छन् भन्दै राजदूत मेउलीले भनिन्, ‘पत्रकार, कन्टेन्ट क्रिएटर वा सामाजिक सञ्जाल प्रयोगकर्ताका रूपमा हामी सबैले सार्वजनिक भाष्य निर्माण गरिरहेका हुन्छौँ। एआईले तथ्य र फेक न्युज दुवैलाई बढावा दिन सक्छ, त्यसैले तथ्य जाँच आवश्यक छ।’ 

युवाहरूलाई सम्बोधन गर्दै उनले थपिन्, ‘तपाईंको आवाज र तपाईंको छनोटले अर्थ राख्छ। आलोचनात्मक सोच, इमानदारिता र सूचित सहभागिताप्रतिको तपाईंको प्रतिबद्धताले लोकतन्त्रको भविष्य निर्धारण गर्नेछ।’

कार्यक्रमको विज्ञ प्यानलमा रहेका हिमालय टिभी र अनलाइनखबर डटकमका समूह सम्पादक उमेश चौहानले युवाहरूमा विस्तृत रिपोर्टिङभन्दा पनि छोटो प्रकृतिका सामग्री उपभोग गर्ने बानी बढ्दै गएको औंल्याए। वरिष्ठ पत्रकार चौहानले आमसञ्चार अध्ययन गरिरहेका विद्यार्थीहरूलाई लोकतान्त्रिक समाजमा पत्रकारको भूमिका बुझ्नका लागि न्युजरुमको प्रत्यक्ष अनुभव लिन आग्रह गरे। 

त्यस्तै कन्टेन्ट क्रिएटर तथा सांस्कृतिक समीक्षक सुरज सुवेदीले कन्टेन्ट क्रिएटरहरूले पनि समाजमा 'वाचडग' को रूपमा काम गर्न सक्ने तर्क गरे। उनले सन्तुलित, जिम्मेवार र प्रभावकारी सामग्री उत्पादन गर्नका लागि कन्टेन्ट क्रिएटरहरूले आफ्ना पूर्वाग्रहहरूलाई आफैँले समीक्षा र चुनौती दिनुपर्नेमा जोड दिए।

कलेजका प्राचार्य फादर डा. अगस्टिन थॉमसले कार्यक्रमको प्रशंसा गर्दै ‘पत्रकार भर्सेज कन्टेन्ट क्रिएटर: सार्वजनिक भाष्य निर्माणमा पूरक कि प्रतिस्पर्धी?’ भन्ने मूल नाराले दर्शकको दिमागलाई झकझकाएको बताए। उनले विषयवस्तुको छनोटदेखि यसको उत्कृष्ट कार्यान्वयनले जेभेरियन्सहरूको क्षमता र प्राध्यापकहरूको समर्पणलाई झल्काएको टिप्पणी गरे।

मिडियाटक शृङ्खलाका फ्याकल्टी कोअर्डिनेटर चुनबहादुर गुरुङले एआईको यस युगमा पत्रकार वा कन्टेन्ट क्रिएटरमध्ये कसले सार्वजनिक भाष्य निर्माण गर्छ भन्ने मुख्य प्रश्न नभई, लोकतान्त्रिक समाजलाई बलियो बनाउन दुवैले कसरी जिम्मेवारीपूर्वक एकअर्काको पूरकका रूपमा काम गर्न सक्छन् भन्ने मुख्य कुरा रहेको बताए। पत्रकारिता आफ्ना मूल सिद्धान्तहरू अनुसार अभ्यास गर्दा सधैँ लोकतन्त्रको स्तम्भका रूपमा रहने उनले स्पष्ट पारे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप