आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

पहिलो हाफमा बराबरीमा रोकिए पोर्चुगल र कोलम्बिया, उज्बेकिस्तानले डीआर कङ्गोलाई १–० ले पछि पार्यो

आइतबार, १४ असार २०८३, ०६ : १४
आइतबार, १४ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा पोर्चुगल र कोलम्बियाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
  • खेलमा दुवै टोलीले आकर्षक आक्रमण गरे पनि गोल गर्न सफल भएनन्, जसमा जेम्स रोड्रिगेजको प्रहारलाई गोलकिपर डियोगो कोस्टाले बचाए।
  • समूह 'के' को अर्को खेलमा उज्बेकिस्तानले डीआर कङ्गोलाई १-० ले पछि पारेको छ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को महत्त्वपूर्ण खेलमा पोर्चुगल र कोलम्बियाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

मियामी स्टेडियममा जारी खेलमा दुवै टोलीले आकर्षक आक्रमण गरे पनि गोल गर्न भने सफल भएनन्। खेलको सुरुदेखि नै दुवै टोलीले एकअर्कामाथि दबाब बनाएका थिए।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको प्रहार डिफेन्डरले रोकेपछि कोलम्बियाले तीव्र प्रतिआक्रमण गरेको थियो। त्यसक्रममा जेम्स रोड्रिगेजले गरेको शक्तिशाली प्रहारलाई गोलकिपर डियोगो कोस्टाले उत्कृष्ट बचाउ गर्दै टोलीलाई संकटबाट जोगाए।

यस्तै, पोर्चुगलका जोआओ फेलिक्सले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार क्रसबारमाथिबाट बाहिरिएपछि टोलीले अग्रता लिने अवसर गुमायो। पहिलो हाफको अन्त्यतिर दुवै टोलीले थप अवसर सिर्जना गरे पनि गोल निस्कन सकेन।

समूह ‘के’ को अर्को खेलमा हाफटाइमसम्म उज्बेकिस्तानले डीआर कङ्गोलाई १–० ले पछि पारेको छ। हालको नतिजा कायम रहे उज्बेकिस्तान समूहको शीर्ष स्थानमा पुग्नेछ भने पोर्चुगल समूह विजेता बन्न दोस्रो हाफमा जित निकाल्नै पर्ने अवस्थामा रहनेछ।

पहिलो हाफको प्रदर्शनका आधारमा दोस्रो हाफ अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप