मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

जननेता मदन भण्डारीलाई सम्झँदा

मङ्गलबार, १६ असार २०८३, ०७ : २०
मङ्गलबार, १६ असार २०८३

सारांश

  • जननेता मदन भण्डारीको ७५ औँ जन्मदिनको अवसरमा उहाँको विचार र योगदानलाई स्मरण गरिएको छ ।
  • मदन भण्डारीले नेपाली वाम आन्दोलनलाई लोकतान्त्रिक दिशामा उन्मुख गराउनुका साथै जनताको बहुदलीय जनवाद (जबज) जस्तो ऐतिहासिक राजनीतिक दस्ताबेज प्रस्तुत गर्नुभयो ।
  • जबजको सिर्जनात्मक विकास र समयानुकूल परिमार्जनमा जोड दिँदै यसको अन्धसमर्थन वा अन्धविरोध त्याग्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

केहि दिन अघि मात्रै हामीले जननेता मदन भण्डारीको जन्मदिन विभिन्न रूपमा मनायौँ । उहाँ जीवितै हुनुभएको भए अहिले ७५ वर्ष लाग्नुहुन्थ्यो । 'सिद्धान्त जीवनका लागि हो, जीवन सिद्धान्तका लागि होइन' भन्ने जीवनदृष्टिलाई आत्मसात् गर्ने महान् विचारक, नेपालको वामपन्थी आन्दोलन तथा समकालीन राजनीतिका सबैभन्दा प्रभावशाली, प्रेरणादायी एवं लोकप्रिय नेतामध्ये एक जननेता मदन भण्डारीप्रति सर्वप्रथम हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।

मदन भण्डारी केवल एउटा राजनीतिक नेता मात्र हुनुहुन्नथ्यो। नेपाली वाम आन्दोलनका एक उदाहरणीय व्यक्तित्व पनि हुनुहुन्थ्यो। उहाँले नेपाली वाम आन्दोलनलाई लोकतान्त्रिक दिशामा उन्मुख गराउन असाध्यै महत्त्वपूर्ण भूमिका खेल्नुभयो । त्यसका अलावा वाम आन्दोलनको क्रान्तिकारी, जुझारु र जनपक्षीय चरित्रलाई जोगाउँदै जनताको जनादेशका आधारमा स्थायी राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने ऐतिहासिक भूमिका अमेत कुशलतासाथ निर्वाह गर्नुभयो।

उहाँको लोकप्रियताको आधार केवल उहाँको नैतिकता, सच्चरित्रता र क्रान्तिकारी व्यक्तित्व मात्र थिएन।  आफ्ना विचार र आदर्शलाई व्यवहारमा रूपान्तरण गर्न सक्ने नेताको रूपमा उहाँको गतिशीलता उत्तिकै अनुकरणीय थियो।  उहाँका प्रत्येक शब्दको आफ्नै वजन, विश्वसनीयता र गहिरो अर्थ थियो। मानिसहरूले उहाँका भनाइमा अनर्थ खोज्दैनथे ।  उहाँका विचार र जीवन व्यवहारबिच कुनै दूरी थिएन। आफूले जे बोल्नुभयो, त्यसैलाई जीवनमा उतार्ने प्रयत्न गर्नुभयो। यही कारण जनतामा उहाँप्रति गहिरो आस्था, विश्वास र सम्मान थियो।

मदन भण्डारीको नेतृत्वमा तत्कालीन नेकपा (एमाले) को पाँचौँ महाधिवेशनबाट जनताको बहुदलीय जनवाद (जबज) पारित भयो । जबज नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा ऐतिहासिक राजनीतिक दस्ताबेजका रूपमा स्थापित भएको छ। समकालीन नेपाली राजनीतिमा केवल वाम आन्दोलनभित्र मात्र सीमित नरहेर समग्र राजनीतिक वृत्तमै यदि कुनै राजनीतिक विचार वा कार्यक्रममाथि सबैभन्दा बढी बहस, विमर्श र विश्लेषण भएको छ भने त्यो जनताको बहुदलीय जनवाद नै हो। यसको पक्षमा बोल्नेहरूले यसको सान्दर्भिकताको चर्चा गरेका छन् भने आलोचकहरूले पनि यसको व्यापक समीक्षा गरेका छन्। बहसका निष्कर्ष फरक हुन सक्छन् तर यसले नेपाली राजनीतिक विमर्शको केन्द्रमा लामो समयसम्म स्थान बनाएको तथ्यलाई अस्वीकार गर्न सकिँदैन।

तर आजको दिनमा जबजको म्हत्वको चर्चा वा रटानमा मात्रै सीमित रहनु भने गलत हुन जान्छ । जनताको बहुदलीय जनवादका पक्षधरहरूभित्र पनि यसको सिर्जनात्मक विकास, वैचारिक परिष्कार, संरक्षण र संवर्द्धनको सट्टा  सत्ता प्राप्त गर्ने वा सत्ता टिकाइराख्ने माध्यमका रूपमा प्रयोग गर्ने प्रवृत्ति बलियो देखिएको छ ।  यो विषयबारे गम्भीरतापूर्वक समीक्षा गर्ने वेला भइसकेको छ। जबजलाई जीवन्त राजनीतिक कार्यक्रमका रूपमा विकास गर्नुको साटो त्यसको राजनीति पुँजी उपभोगमा मात्रै जोड दिने समस्याबारे छलफल गर्न ढिला हुँदैछ । 

अर्कोतर्फ, यसको विरोध गर्नेहरूमा पनि समस्या देखिएका छन् । जसलाई हामी दुई प्रवृत्तिबाट हेर्न सक्छौँ । एकथरी मूलतः वाम आन्दोलनकै विरोधमा उभिएका छन् । अर्काथरी आफूलाई वामपन्थी दाबी गर्दै जबजलाई घोर दक्षिणपन्थी वा पुँजीवादी कार्यक्रम घोषणा गरेर आफूलाई अझ बढी क्रान्तिकारी देखाउन खोजिरहेका छन्। यसरी फरक कोणबाट आक्रमण गर्नेहरूले पनि आफैले समयानुकूल कुनै व्यवहारिक वैकल्पिक दृष्टिकोण निर्माण गर्न भने सकेका छैनन्। आफूले नयाँ निर्माण नगर्ने र अरूले गरेका सकारात्मक प्रयासलाई पनि स्वीकार गर्न नचाहने प्रवृत्ति त्यहाँ पनि देखिन्छ।

दुर्भाग्यवश, वि.सं. २०५० साल जेठमा भएको रहस्यमय दासढुङ्गा जीप दुर्घटनामा असामयिक निधन भएपछि जबजलाई समयअनुकूल थप व्याख्या, परिष्कार र विकास गर्ने अवसर उहाँले पाउनुभएन। उहाँ जीवित रहनुभएको भए बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिअनुसार यसलाई कसरी परिमार्जन गर्नुहुन्थ्यो भन्ने कुरा आज अनुमानको विषय मात्र हुन सक्छ।

यी दुवै अतिवादी दृष्टिकोणले जनताको बहुदलीय जनवाद को वास्तविक मर्म उजागर गर्न भने सक्दैनन्। एउटा पक्षले यसलाई कुनै धार्मिक ग्रन्थसरह अपरिवर्तनीय दस्ताबेज मानेर कुनै बहस वा परिमार्जन आवश्यक छैन भन्ने सोच राख्छ। अर्को पक्षले यसको सम्पूर्ण अवमूल्यन गरेर त्यसभित्र रहेका सकारात्मक पक्षहरूलाई समेत अस्वीकार गर्न खोज्छ। यी दुवै दृष्टिकोण जबजको सृजनात्मक विकासका लागि बाधक छन्।

जबजबारे छलफल गर्दा हामीले याद गर्नै पर्ने विषय के हो भने स्वयं जननेता मदन भण्डारीले  जनताको बहुदलीय जनवाद लाई तत्कालीन राजनीतिक कार्यक्रमका रूपमा प्रस्तुत गर्नुभएको थियो। यो तत्कालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति तथा नेपालको ठोस यथार्थका आधारमा निर्माण गरिएको राजनीतिक कार्यदिशा थियो। उहाँले यसलाई अन्तिम, शाश्वत र अपरिवर्तनीय सिद्धान्तका रूपमा प्रस्तुत गर्नुभएकै थिएन। जबजलाई अपरिवर्तनीय र शाश्वत सिद्धान्तको रूपमा व्याख्या गर्नेहरू यो विन्दुमा चुकेको देखिन्छ ।

दुर्भाग्यवश, वि.सं. २०५० साल जेठमा भएको रहस्यमय दासढुङ्गा जीप दुर्घटनामा असामयिक निधन भएपछि जबजलाई समयअनुकूल थप व्याख्या, परिष्कार र विकास गर्ने अवसर उहाँले पाउनुभएन। उहाँ जीवित रहनुभएको भए बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिअनुसार यसलाई कसरी परिमार्जन गर्नुहुन्थ्यो भन्ने कुरा आज अनुमानको विषय मात्र हुन सक्छ।

तर उहाँले प्रस्तुत गर्नुभएको मूल दस्ताबेजले एउटा कुरा स्पष्ट गर्छ—त्यतिबेलाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा जनताको बहुदलीय जनवाद नेपाली वाम आन्दोलनलाई जनतासँग जोड्ने, लोकतान्त्रिक आधारमा लोकप्रिय बनाउने र जनताका आकाङ्क्षालाई सम्बोधन गर्ने एउटा मौलिक राजनीतिक कार्यक्रम थियो। उहाँले यसका १४  विशेषता र समाजवादी रूपान्तरणका ३ चरणको चर्चा गर्नुभएको थियो। ती विषयहरूमा अबका दिनमा गम्भीरतापूर्वक अध्ययन, समीक्षा र समयानुकूल विकास आवश्यक छ।

आज आफूलाई जबजका पक्षधर भन्ने नेतृत्वको व्यवहार हेर्दा हामी किंकर्तव्यबिमुढ हुन्छौं । धेरै ठाउँमा उनीहरूको आचरण र जबजका आधारभुत मूल्यबिच तादात्म्यता देखिँदैन। अझ जबजलाई समृद्ध बनाउने, यसको सान्दर्भिकतालाई नयाँ युगअनुकूल पुनःव्याख्या गर्ने तथा त्यसको ऐतिहासिक योगदानलाई संरक्षण गर्दै अगाडि बढाउने विषयमा अपेक्षित गम्भीरता न्यून देखिन्छ।

आजको आवश्यकता जनताको बहुदलीय जनवादप्रति अन्धसमर्थन वा अन्धविरोध विल्कुल होइन। त्यसको ऐतिहासिक योगदानको सम्मान गर्दै, मूल मर्मलाई आत्मसात् गर्दै र बदलिँदो समयका चुनौतीअनुसार वाम-आन्दोलन र समाजवादी कार्यक्रमलाई सृजनात्मक विकास गर्नु हो । त्यसो गर्दा नै जननेता मदन भण्डारीप्रतिको सच्चा सम्मान हुनेछ। हरेक वर्ष आउने उहाँको जन्म जयन्तीमा उहाँलाई स्मरण गर्ने कर्मकाण्डभन्दा माथि उठेर उहाँको जीवन र विचारका सकारात्मक पक्षको अनुसरण गर्नु चाहिँ उहाँ प्रतिको वास्तविक श्रद्धा हुनसक्छ । कम्युनिस्ट आन्दोलनमा ठुलो चुनौती देखिएको आजको समयमा मदन भण्डारीले आफ्नै जीवनमा देखाएको विचार र व्यवहारको एकताको संस्कृतिको आत्मसातिकरणले उहा प्रति सच्चा श्रद्धाञ्जली दिनेछ । र आजको सङ्कटको अन्धकारमा कतै कतै झिनो नै सही ज्योतिको काम पनि गर्न सक्नेछ ।

(लेखक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं दोलखा जिल्ला संयोजक हुनुहुन्छ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अशोक कुमार दहाल
अशोक कुमार दहाल
लेखकबाट थप