मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अर्थतन्त्र

दैनिक साढे १३ अर्ब खर्च गर्नुपर्ने बाध्यतामा सरकार

असार १५ गतेसम्म भयो ३५ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च
मङ्गलबार, १६ असार २०८३, १२ : २२
मङ्गलबार, १६ असार २०८३

सारांश

  • सरकारले आर्थिक वर्ष २०८२-८३ को बजेट कार्यान्वयनमा पुँजीगत खर्चतर्फ असार १५ गतेसम्म कुल विनियोजित बजेटको ३५.१२ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।
  • आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार असार २५ गतेपछि भुक्तानीका लागि चेक जारी गर्न नपाइने भएकाले अब दैनिक करिब १३ अर्ब ५२ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने बाध्यता छ ।
  • यदि सरकारले विनियोजित बजेट अनुसार खर्च गर्ने हो भने दैनिक ३३ अर्ब ८ करोड रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ ।

काठमाडौं । पुँजीगत बजेटको सुस्त कार्यान्वयनले यस वर्ष समेत निरन्तरता पाएको छ । सरकारले आर्थिक वर्ष २०८२–८३ का लागि ल्याएको बजेट कार्यान्वयनको पछिल्लो तथ्यांकले यो अवस्था देखाएको हो ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार असार १५ गतेसम्म कुल विनियोजित बजेटको ३५.१२ प्रतिशत मात्रै बजेट खर्च हुन सकेको हो ।

चालु आर्थिक वर्षका लागि सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसमध्ये यो अवधिसम्म १ खर्ब ४३ अर्ब २३ करोड ४ लाख रुपैयाँ खर्च भएको छ ।

सोही अवधिमा चालु बजेट र वित्तीय व्यवस्थाका लागि छुट्टाइएको बजेटको क्रमशः ८१.०९ प्रतिशत र ८३.४१ प्रतिशत रहेको छ । चालु वर्षमा सरकारले चालु खर्चबापत ११ खर्ब ८० अर्ब ९८ करोड र वित्तीय व्यवस्था बापत ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख खर्चको लक्ष्य लिएको थियो ।

यसमध्ये चालुतर्फ ९ खर्ब ५७ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ३ खर्ब १२ अर्ब ९९ करोड २३ लाख रुपैयाँ खर्च भएको छ ।

पछिल्लो अनुमानमा सरकारले कुल विनियोजित पुँजीगत बजेटमध्ये २ खर्ब ५१ अर्ब ३९ करोड ९० लाख रुपैयाँ मात्रै खर्च हुने अनुमान गरेको छ । यो कुल बजेटको ६१.६३ प्रतिशत खर्च हो । असार १५ सम्म भएको संशोधित अनुमानभन्दा १ खर्ब ८ अर्ब १६ करोड ८६ लाख रुपैयाँ कम हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले असार २५ गतेपछि भुक्तानीका लागि चेक जारी गर्न नपाउने व्यवस्था गरेको छ । यसका लागि अब ८ कार्यदिन मात्रै बाँकी छ । यसका लागि दैनिक १३ अर्ब ५२ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने बाध्यता देखिन्छ ।

यदि सरकारले विनियोजित बजेट अनुसार नै खर्च गर्ने हो भने दैनिक ३३ अर्ब ८ करोडको दरले खर्च गर्नुपर्ने बाध्यता देखिन्छ ।

यसपटक सरकारले अर्धवार्षिक समीक्षामा उल्लेखित बजेट खर्चको अनुमान बढाएको छ । अर्धवार्षिक समीक्षामा ५५ प्रतिशत हाराहारीमा मात्रै खर्चको अनुमान गरिएकोमा जेठ १५ गतेको बजेटमा सरकारले संशोधित अनुमान बढाएर ६१ प्रतिशत पर्याएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप