शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपाली काँग्रेसमा विनिर्माण, आजको खाँचो’

आइतबार, ०९ मङ्सिर २०७५, १३ : २८
आइतबार, ०९ मङ्सिर २०७५

 नेपालमा यतिखेर क्रियाशील दलहरूमध्ये ने.का. सबैभन्दा जेठो दल हो भने लोकतान्त्रिक आन्दोलन, सङ्घर्ष र क्रान्ति अभियानमा मुख पात्र पनि हो भन्नु अतिशयोक्ति हुँदैन । चिन्तका धनी बीपी, साहसका प्रतीक लौह मानव गणेशमान, त्याग र कुशाग्र बुद्धिका सन्त किसुनजी, सङ्गठन कुशल सुवर्ण एवम् गिरिजा, हजारौँ सहिद र लाखौं लडाकू कार्यकर्ताहरूको अथक प्रयासले यो पार्टीको शिर ठाडो हुँदै नेपालको गौरवलाई अग्ल्याइमा पुर्याएको हो । 

एक सय चार वर्षको जहानियाँ शासनको मूलोच्छेदन गर्दै लोकतन्त्रको शङ्खघोष गरेको काङ्ग्रेसले राजा महेन्द्रको उग्र महत्त्वाकाङ्क्षा, तीस वर्षे निरङ्कुश पञ्चायत र माओवादी सशस्त्र हिंसालाई ठेगान लगाएर नेपालमा लोकतान्त्रिक राजमार्गको फराकिलो परिवेशको आमन्त्रणा गरेको भन्नु सत्यको उद्घोष हो । 

 आजको काँग्रेस केही भत्किएको, गुटउपगुटहरूको भारीले अलि सुस्ताएको, क्रान्तिकारितामा ओइलाएको र सैद्धान्तिक मूल्य–मान्यताबाट केही गिरेको पक्कै हो । 

बीपीको त्यत्रो दूरदर्शी चिन्तन र नेपाल सुहाउँदो राजनीतिक राजमार्ग हुँदा हुँदै पनि त्यसको अनुपालन गर्ने क्षमता नहुनु काँग्रेसको लागि मात्र नभएर नेपालकै लागि विडम्बना हो । नयाँ सङ्घीय लोकतान्त्रिक संविधानअनुरूप निष्पन्न तीनै तहको निर्वाचनमा लज्जाजनक पराजयपछि नेपाली काङ्ग्रेस आन्तरिक कलहले जीर्णशीर्ण हुन पुगेको छ ।

भ्रातृ सङ्गठनहरूलाई अद्यावधिक राख्न नसक्नु, दलभित्र एकता सौहाद्र्रता र टिम स्पिरिट कायम राख्न अक्षम रहनु, गुटीय गञ्जकमै अलमलिनु, जनताका इच्छा अभिलाषा र मागहरूलाई सम्बोधन गर्ने बुता नरहनु, सडकदेखि सदनसम्म प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने तागत हराउनु, अगुवाहरूको आचरण र व्यवहार अनाकर्षक रहनुजस्ता थुप्रै कारणले काँग्रेस खिइँदै गएको देखिएको छ ।

यो दलप्रति यति धेरै जनताको मतको पर्वतलाई नजर अन्दाज गरेर अझ पनि परस्परमा घिनलाग्दो मल्लयुद्ध मच्चाएर जुँगाको लडाइँमा लाग्नु नेपाली काँग्रेसलाई रसातल पुर्याउने प्रत्युत्पादक खेला हो । बीपी, गणेशमान र महेन्द्रनारायण निधि प्रवृत्तिका सन्तानहरू पनि मात्र आलङ्कारिक देखिए । पितामाताको त्याग र परमार्थको भाषा वा लय किञ्चित पनि बुझेनन् ।

मान मानको खातिर नभएर कामका लागि हो भन्ने कुरा बोध नहुँदासम्म यस्तै कमजोरी भइरहन्छ । प्रकाशमान, विमलेन्द्र निधि, शशाङ्क कोइराला र सुजाताहरूले दलभित्र र सरकारमा ठूलै जिम्मेवारी लिने अवसर पनि त पाएका र पाइरहेका छन् । खै त नयाँ अप्रोज तथा दृष्टिकोणहरू ? 

पार्टीभित्र जतिसुकै एकताको ढोल पिटे पनि गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धा, नातावाद, चाकडी वृत्ति, डनवाद र द्रव्यमोहहरूले औधी खुट्टा घुमाएको घुमायै छ । दलीय आचरण, सङ्गठन र सिद्धान्त औइलाउँदै आदर्श स्खलन हुन पुगेको बिरानो काँग्रेस देख्दा देशविदेशका शुभेच्छुकका छाती चिरिएका छन् । नेतादेखि कार्यकर्तासम्म प्रायः स्वार्थलम्पट सम्पत्ति तथा शक्तिप्रति तीव्र मोह राख्ने परिआएमा पैसा मिल्छ भने जोसित पनि घाँटी जोड्न तयार हुने विचौलिया प्रवृत्तिले काँग्रेसको चार तारामा औँसीले राज गरिरहेको छ ।

महाधिवेशन भएको वर्षौं हुँदा पनि केन्द्रीय समितिले पूर्णता प्राप्त गर्न नसक्नु विभागहरूको गठन नहुनु, सङ्घीय संरचना अनुरूप पार्टी विधान नबन्नु र पटक पटक महासमिति बैठक सारिहनु, योग्य र सक्षम कार्यकर्तालाई उत्तरदायित्वविहीन बनाउनु लोकतान्त्रिक आचरण, विधिविधान लत्याउनु बिडम्बना नै बन्न पुगेको छ । केन्द्र, प्रदेश र स्थानीय तहसम्मका सङ्गठन यतिखेर तहस नहस हुन पुगेका छन् ।

पार्टी साहित्यको प्रकाशन, सही कार्यदिशा, रणनीति, चिन्तन र विमर्शपूर्वक योजना तय गर्न नसक्नु जस्ता पक्ष लोकतान्त्रिक मूल्यलाई आत्मसात गर्ने पार्टीको लागि भयकारी स्थिति हो । यस्ता गैरलोकतान्त्रिक हर्कत बोकेकाहरूले बीपीको नाम लिँदा र अनुयायी हुँभन्दा यो दलको गौरवमय इतिहास नै हल्लिन्छ । अवसरवादी, हिजैका समाज उत्पीडक, सामन्ती जो रूपान्तरण हुन डराउँछ, तिनैलाई क्रियाशील सदस्यताको रसिद थमाएर अब काँग्रेस काँगे्रस बन्दैन ।

नयॉ पुस्तालाई सहभागी गर्न डराउने, असङ्ख्य शुभेच्छुक स्वाभिमानी बौद्धिक जमात जसले प्रतिबन्धित कालमा पार्टी सङ्गठन निर्माण र गति दिन ठूलो मद्दत गरे तिनीहरूलाई बिर्सिएर लडाकू एवम् क्षमतावानहरूलाई लखेटेर, महिला, जनजाति, पिछडावर्ग, सीमान्तकृत एवम् अपहेलितलाई पार्टीमा पर्याप्त मात्रामा नसमेट्नु लोकतान्त्रिक भनिने दलको सङ्कुचित मानसिकता हो । विचारको ब्रोकर, भावी सत्ताको योजक र राष्ट्रिय मेलमिलापको संयोजक हुनसक्छ आजको काँग्रेस ? यक्ष प्रश्न मडारिएका छन् यतिखेर ।

त्यसै भएर बीपीले पार्टीको लामो जीवन चक्रमा यस्तै दुर्दिन आउन सक्छ भनेर निर्देश गरेका छन्– ने.कां.का सदस्यले क्रमशः अनुशासन, इमानदारी, सादगीपन र निस्वार्थभाव अँगाल्नुपर्छ, स्थानीय भावना र गुटबन्दी यी दुई दुर्गुणलाई त्याग्नु अनिवार्य छ । उनले यस्ता स्वार्थलम्पट कार्यकर्ताप्रति चेतावनी दिँदै बोलेका छन्– ‘कठिन कार्य गर्नसक्ने क्षमता हामी सबैमा भए मात्र इतिहासको हतियार बन्न सक्छौँ, पार्टीका सदस्यले सानो–तिनो भावना, स्वार्थ, द्वेषलगायत घातक प्रवृत्तिबाट आफूलाई चोखो राख्नुपर्छ ।

दलका कार्यकर्तामा आवश्यकताभन्दा बढी आत्मविश्वास सिर्जना हुनुहुन्न । प्रत्येक प्रश्नमा वैयक्तिक दृष्टिकोण त अप्रजातान्त्रिक हुन्छ, आफ्नो पदीय गरिमा एवम् उत्तरदायित्वको बोध भएन भने त्यो सङ्गठनको अधिकारी हुँदैन । जनता र दलका कार्यकलाप अन्योन्याश्रित हुँदै सीमाङ्कन गरिनहुन्न हामीले आफ्नै पार्टीभित्र आफू बेग्लै तहको र अर्को साधारण तहको भन्ने सामन्त सोच राख्नै हुँदैन । 
त्यसैगरी उनले दलका नेताकार्यकर्ताले अध्ययन, रचनात्मक एवम् सिर्जनात्मक क्रियाकलाप निरन्तर जारी राख्न सल्लाह दिएका छन् । उनले एक कदम अगाडि बढेर भने उत्कर्ष र सङ्कट दुवै अवस्थामा नैतिक अभाव हुनुहुन्न । नैतिकताबिनाको राजनीति निरर्थक तथा अलिनो हुन्छ । यी गुरु वाणीभित्र आधुनिक राजनीतिका अभिनव अप्रोजहरू मुखर भएका छैनन् ? 

 बीपीका यी यथार्थवादी, व्यवहारपरक र आदर्शले उजिलिएको जनवादी चिन्तनलाई अभ्यासमा वा जीवन पद्धतिमा हालका कति नेताकार्यकर्ताले उतारेका छन् त ? अनि कसरी पार्टीको गौरव उचालिन्छ ? लोकतन्त्र जस्तो उदात्त प्रणाली के गरी संस्थागत बन्ने ? अनि देशमा सुशासन, आर्थिक उन्नति, सामाजिक एवम् सांस्कृतिक उन्नयन युगानुकूल शिक्षाले उत्कर्षको सोपान कसरी चढ्ने ? जहिले पनि विदेशी अनुदानमा बाँचेर यो भूमण्डलमा पछौटे नेपाली बनिरहने ? काङ्ग्रेस जस्तो पार्टीले त यहाँका विभिन्न धारका दलहरूलाई नयाँ मोडलको राष्ट्रिय एकतामा बाँध्न सक्नुपर्छ ।

के अहिलेको काङ्ग्रेस यसमा सक्षम छ ? आफ्ना नेता बीपीका त्यति सुन्दर दूरकालिक रोडम्याप, अगाध चिन्तन हुँदा पनि हामी टुहुरो बन्न पर्ने ? विडम्बनाकै विषय बनेको छ । संसारबाट जराजीर्ण भई ढलिसकेको उत्पीडनकारी कम्युनिस्टको एजेन्डामा लुरुलुरु हिँडाएर हिजोको क्रान्तिकारी काँग्रेस किन यस्तो रित्तो र चिन्तनहीन बन्दै गएको हो ? जनता प्रश्न गरिरहेका छन् । भूमण्डलीकरण र नवउदारवादको चक्रव्यूहमा फसेर आफ्नो भूराजनीति भुल्नु काँग्रेसको भाङ्गे्रसीकरण हो ।

यतिखेर काङ्ग्रेसले महासमिति भेला बोलाएर जल्दाबल्दा पार्टीभित्रका समस्या समाधान गरी तदर्थवादी रुग्ण मानसिकतालाई तिलाञ्जली दिन जरुरी छ । काङ्ग्रेस नेतृत्व यो कुरा बुझ्न नचुकोस् कि गुटीय तदर्थवाद र भागबण्डाको गलत चिन्तनले दल रिफ्रेस हुनै सक्दैन । जनता आलोचनामा भनिरहेका छन्– ‘काङ्गे्रसका शीर्षनेतृत्वले स्पष्ट विचार दिन सकेनन्, सत्ता लिप्सालाई मात्र प्राथमिकता दिन्छन् ।

सत्ताधारी नेकपालाई होसियारी दिन सकेनन् । धार्मिक स्वतन्त्रताको जुन बीपीको नेपालको सन्दर्भको महत्त्वपूर्ण चिन्तन हो । त्यसलाई छोड्दा देश कुन हविगतमा पुगेको छ । नेपालको एक मात्र लोकतान्त्रिक पार्टी अब आत्मसमीक्षासाथ आफ्ना विचार, सङ्गठन, रणनीति, कार्यदिशा चुस्त, दुरुस्त, ओजिलो र कालसापेक्ष बनाउँदै अगाडि नबढे इतिहासले मात्र सत्ताधारी हुने दिन सकिए । कालक्रममा काँग्रेसले सङ्गठनमा अभिनव विनिर्माणको बाटो लिनैपर्छ ।

सधैँ तदर्थवाद, पेलम्पेला र औपचारिक नाटीकुटीले मात्र सङ्गठन गठन हुँदैन । गरिब, मजदुर, किसानको झुपडीमा गएर यसको सदस्य अभियानलाई अगाडि बढाउनु पर्छ । सुकिलामुकिला, सामन्त र उत्पीडकहरूलाई अनि अवसरवादी, भ्रष्टाचारी वा एकाधिकारको सोेच बोक्ने चङ्खेहरूलाई पार्टीबाट बढार्नै पर्छ । मनी, मसल, नाता, चाकरी र जी हजुरीका सम्भ्रान्त एवम् अधिनायकी कुसोच भत्काएर काङ्ग्रेसमा विनिर्माणको बहार ल्याउने हिम्मतिला पात्र अगाडि आउनै पर्छ ।

बीपीले अवसानको केही अघि भनेका थिए ः समाजवाद भोलिको विश्व लहर हो । वास्तवमा बीपी सानो देशका भए पनि दूरदर्शी विचारका रहेछन् भन्ने प्रमाण विस्तारै पुष्टि हुँदै गइरहेको छ । अहिलेको नेपालको शासकीय स्वरूप न्याय प्रणालीलगायतका विवादमा वर्तमान नेताहरूले गहिरिएर बीपीका धारणा विनापूर्वाग्रह गम्भीर अध्ययन, मनन, विश्लेषण गर्ने हो भने यो सुकामले पूर्ण नेपालीकरणको मौलिक राजनीतिक संस्कृति हुर्कन्छ । किनकि यतिखेर त नेपालका वाम र दक्षिणमार्गी दुवैले मुटुदेखि नै बीपी सच्चा राष्ट्रवादी र समाजवादी रहेछन् भन्ने बुझेका छन् ।

हिजो भारतीय दलाल भनेर अल्लारे उफ्र्याइ गरेकोमा पश्चात्ताप पनि प्रकट गरिरहेका छन् । काँग्रेसजनले दिमागलाई आराममा हैन अभ्यासमा लगाएर पार्टी विनिर्माणमा लाग्नु आजको आवश्यकता हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बद्रीप्रसाद  दाहाल
बद्रीप्रसाद दाहाल
लेखकबाट थप