मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

ओली–प्रचण्डबीच चार दिनमा चार भेट, के हुँदैछ छलफल ?

सोमबार, २३ भदौ २०७६, १४ : ५४
सोमबार, २३ भदौ २०७६

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली उपचार पश्चात भदौ २० गते सिंगापुरबाट स्वदेश फर्किए । प्रधानमन्त्री ओली फर्किए लगत्तै नेकपामा राजनीतिक सरगर्मी पनि बढेको छ । पछिल्ला चार दिनमा अध्यक्षद्वयबीचका भेटघाट बाक्लिएका छन् ।  र, तिनै भेटघाटका आधारमा अध्यक्ष ओलीले पार्टीका सन्दर्भमा केही महत्वपूर्ण निर्णय लिँदै छन् कि भन्ने अनुमान पनि नेता कार्यकर्तामा हुन थालेको छ । यद्यपी अध्यक्षद्वयबीच भएका त्यस्ता संवाद भने गोप्य नै छन् । 

भदौ ५ गते ओली सिंगापुर जानुपूर्व बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको अनुपस्थितिमा पनि एकीकरणका वाँकी काम टुङ्ग्याउने जिम्मा प्रचण्डलाई दियो । सोही अधिकार प्रयोग गर्दै भदौ ९ गते प्रचण्डले सचिवालय बैठक बोलाए । र, सागठनिक एकीकरण र पार्टी अनुशासनका सन्दर्भमा केही महत्वपूर्ण निर्णय गरे । पार्टी विधानले बैठकको अध्यक्षता दुवै अध्यक्षले आलोपालो गर्ने व्यवस्था गरेपनि एकताको १५ महिनासम्म दुवै अध्यक्षको अध्यक्षतामा निर्णय हुँदै आएको थियो । यद्यपि एक अध्यक्षको चाहनामा मात्रै सचिवालय, स्थायी कमिटी बैठक बोलाउन सक्ने अवस्था नेकपामा बनेको थिएन । 

ओली सिंगापुरमा रहँदै प्रचण्डले आफ्नो अध्यक्षतामा बस्ने सचिवालयको दोस्रो बैठक बोलाउने तयारी गरे । तर, अन्य नेताको व्यस्तताका कारण बैठक बस्न सकेन । तर, प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली स्वदेश फर्केसँगै नेकपामा धेरै खालका बहस र अनुमान हुन थालेका छन् ।

के अब एक अध्यक्षले सरकार र अर्का अध्यक्षले पार्टीको कमाण्ड सम्हाल्ने सहमति नेकपामा बन्ला ? अब बस्ने सचिवालय बैठक एक अध्यक्षको अध्यक्षतामा बस्ला ? ओलीले पार्टीको सवै जिम्मेवारी प्रचण्डलाई सुम्पिन तयार होलान् ? जस्ता प्रश्नको सामना नेकपाका अन्य तहका नेताहरुले गरिरहेका छन् । र, केही नेताहरुले त सार्वजनिक रुपमै ओलीले सरकार र प्रचण्डले पार्टी सञ्चालन गर्नुपर्ने अभिव्यक्ति दिन थालेका छन् । ओली सिंगापुर जानुपूर्व अध्यक्षद्वयबीचमा यसबारे केही सहमति भएको अनुमान पनि नेताहरुले गरेका छन् । तर, अध्यक्षद्वयचाहीँ यसबारे केही बोलिसकेका छैनन् ।

बरु ओली फर्केसँगै दुई अध्यक्षबीच भइरहेका बाक्ला भेटघाटलाई चासोको रुपमा हेरिएको छ । 

ओली–प्रचण्डका चार दिनमा चार भेट 

प्रधानमन्त्री ओली सिंगापुरबाट फर्किएकै दिन (२० गते) अर्का अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगे । उक्त दिन अध्यक्षद्वयबीच लामो छलफल भने भएन । भेटमा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे प्रचण्डलाई जानकारी गराएका थिए । तर, त्यो दिनको भेटमा पार्टी र अन्य समसामयिक बिषयमा भने छलफल नभएको स्रोतको दावी छ । पार्टी एकीकरणका बाँकी कामका सम्बन्धमा अर्को दिन छलफल गर्ने भनेपछि भेटघाट सकिएको थियो ।

अघिल्लो दिनको सहमति अनुसार २१ गते दिउँसो अध्यक्ष प्रचण्डले महासचिव विष्णु पौडेललाई अध्यक्ष ओलीको मानसिकता बुझेर खबर गर्न आग्रह गरे । ‘ओलीजीले रेष्ट गर्ने हो वा के हो उहाँको मानसिकता बुझेर खबर गर्नु । छलफल गर्ने मानसिकतामा हुनुहुन्छ भने साँझ ५.३० बजेलाई समय तय गरौँ ।’ प्रचण्डले महासचिवलाई भनेका थिए । ओलीले आफु रेष्ट गर्नुपर्ने अवस्था नभएको बताएपछि सोही दिन साँझ अ‍ोली प्रचण्डबीच दोस्रो भेट भयो । 

अध्यक्षद्वयबीच हुने अधिकाँश भेटमा महासचिव पौडेल पनि सहभागी हुने गर्छन् । वालुवाटार स्रोतका अनुसार सो दिनको भेटमा पनि ओलीले आफ्नो स्वास्थ्यका बारेमा नै प्रचण्डलाई ब्रिफिङ् गरेका थिए । र, उनले आफु पूर्णरुपले स्वस्थ रहेको र अब पार्टीका काम अगाडि बढाउने बताएका थिए । त्यसपछि एकीकरणका वाँकी कामबारे सामान्य कुराकानी भएको थियो । 

ओली प्रचण्डबीच तेस्रो भेट आइतबार साँझ भयो । स्रोतका अनुसार झन्डै २ घण्टा भएको भेटमा सचिवालय र स्थायी कमिटी बैठक बोलाउनेबारेमा छलफल भएको थियो । त्यसबाहेक अध्यक्षद्वयको कार्यविभाजनका सम्बन्धमा छलफल भएपनि ठोस निर्णय हुन सकेन । 

यस्तै सोमबार (आज) बिहान अध्यक्षद्वयबीच चौथो पटक भेट भयो । आजको भेटमा पनि एकीकरणका बाँकी काम टुङ्ग्याउनेबारेमा नै केन्द्रीत भएको बताइएको छ ।  सचिवालयका एक नेताका अनुसार अध्यक्षद्वयको आजको भेटमा सचिवालय बैठक बोलाउने र एकीकरणका बाँकी काम टुङ्ग्याउनेबारेमा नै छलफल केन्द्रीत भएको बताए ।

‘सचिवालय बैठक बोलाएर एकीकरणका वाँकी काम टुङ्ग्याउने । र, लगत्तै स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको छ ।’, सचिवालयका ती नेताले रातोपाटीसँग भने, ‘बुधबार सचिवालय बैठक बस्ने र अर्को हप्ता स्थायी कमिटीको बैठक बोलाउने भन्ने छ । त्यसबाहेक सरकारका काम र पार्टीलाई चलायमान बनाउने योजनामा समेत अध्यक्षद्वयबीच छलफल भएको बुझिन्छ ।’ बुधबार बस्ने सचिवालय बैठकले नै स्थायी कमिटीको मिति तय गर्ने बुझिएको छ ।

नेकपामा चासोका साथ हेरिएको दुई अध्यक्षको कार्यविभाजनबारे भने आज पनि ठोस निर्णय हुन नसकेको बालुवाटार स्रोतले बतायो । यसबारे अध्यक्षद्वयबीच मंगलबार फेरि छलफल हुने भएको छ । 

नेकपामा आयोग, प्रवास, जेष्ठ कम्युनिष्ट मञ्चलगायतका कमिटीको एकीकरण  टुँगिन बाँकी छ । केन्द्रीय विभागहरुको प्रमुख– उपप्रमुख तोके पनि विभागले पूर्णता भने पाउन सकेका छैनन् । केही महत्वपूर्ण विभागको सदस्य बन्ने आकांक्षी धेरै भएपछि विभाग प्रमुखले टुङ्ग्याउने जिम्मेवारी सचिवालयलाई दिएका छन् । पार्टी विधानले अधिकांश विभाग बढिमा ३५ सदस्यीय रहने व्यवस्था गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप