केन्द्रीय संस्करण
स्वास्थ्य–वार्ता

‘९५ प्रतिशत मुटु रोगको उपचार नेपालमै सम्भव छ’

तर, धेरै नागरिक मुटु बिग्रेर थैलो भइसकेपछि मात्रै अस्पताल आउनुहुन्छ : वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईसँगको अन्तरवार्ता

person explore access_timeभदौ २६, २०७६ chat_bubble_outline1

डा. अनिल भट्टराईनेपालको चिकित्सा क्षेत्रमा मुटुको उपचारमा अग्रपंक्तिमा आउने नाम हो । उनी चिकित्सा क्षेत्रको सम्पूर्ण अध्ययन विदेशमा गरेर नेपालमा सेवा दिने चिकित्सकमध्येमा पर्छन् । उनले नेपालको मुटुरोगसम्बन्धी उपचारमा योगदान दिन थालेको २ दशक भयो । उनले धेरै नेपाली नागरिकलाई नयाँ जिवन प्रदान गरिसकेका छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भट्टराईको नजरमा अझै सम्म नेपाली नागरिक मुटु सम्बन्धी उपचारबाट बञ्चित छन् । जनसङ्ख्या अनुसार नेपालमा ३० वटा मुटु सेन्टर हुनु पर्नेमा अहिलेसम्म मात्रै ४ वटा सेन्टर छन्, त्यो पनि सहरी क्षेत्र केन्द्रीत । यस्तो अवस्थामा नेपालमा कसरी स्वास्थ्य सेवा प्रदान गरिएको छ, नेपालको मुटु रोगको अवस्था, उपचार, मुटु रोगसम्बन्धी समस्या, राज्य र नागरिकले ध्यानदिनुपर्ने लगायतका विषयमा वरिष्ठ डा. भट्टराईसँगको अन्तवार्ताः

तपाईं काखीमा प्वाल पारेर नेपालमै मुटुको अपरेशन सुरु गर्ने व्यक्तिको रुपमा पनि परिचित हुनुहुन्छ । विदेशमा अध्ययन गर्ने, नेपालमा सेवा दिने अनि आफ्नै लगानीमा उपकरण ल्याउन पनि सहयोग गर्ने चिकित्सकमा पर्नुहुन्छ । नेपालको चिकित्सा क्षेत्रमा तपाईंको अनुभव बताइदिनुहोस् ।

मैले स्वास्थ्य क्षेत्रमा सेवा सुरु गरेको सन् २००० देखि हो । अहिले १९ वर्ष भयो । सबै अध्ययन रुस र इटालीबाट गरे । अध्ययन विदेशमा भए पनि सेवा आफ्नो देशमानै गर्नुपर्छ भन्ने मेरो पहिला देखिकै सोच थियो । त्यसपछि यो क्षेत्रमा सानो—ठूलो जे भएपनि नयाँ कुरा योगदान गर्नुपर्छ भन्ने पनि सोच थियो । मुटुको उपचार त भइरहेकै थियो, त्यसैलाई निरन्तरता दिनको लागि नयाँ कुरा केही थपौँ भन्ने सोच भएको हुँदा र म आफैले पनि अध्ययन गरेको मुटु रोगको उपचारको नयाँ—नयाँ प्रविधिहरु अत्यधिक भएको हुँदा सोही ठाउँको चिकित्सकहरुसँग सल्लाह र सहयोगले नयाँ उपकरणहरु नेपालमा ल्याइएको हो ।

नेपालमा मुटु रोगसम्बन्धी उपचारको अवस्था अहिले कस्तो पाउनु हुन्छ ? केही परिर्वतनको महसुस गर्नुभयो ?

मलाई थाहा भएअनुसार नेपालमा मुटु रोगको उपचार सुरु भएको २५–२६ वर्ष भयो । उपचार राम्रोसँगनै हुन थालेको गंगालाल अस्पतालको निर्माण भएपछि हो । त्यसपछि गंगालालमा वार्षिक २ हजार २५ सय विभिन्न मुटुसम्बन्धी अपरेशन हुँदै आइरहेका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमानै वर्षमा १२ देखि १५ सय अपरेशन गर्ने गरेका छौँ । २० वर्ष पहिला र अहिले हेर्ने हो भने मुटु रोगको उपचारमा धेरै विकास भएको छ । 

तर, सबै काठमाडौँमा मात्रै सिमित भयो । अहिले अन्य केही ठाउँ धरान, वीरगञ्ज, चितवन, पोखरा, भैरहवालगायतका स्थानमा पनि मुटु रोगको उपचार थोरै भए पनि हुँदै आइरहेको छ । त्यहाँ मुटु रोगको सबै उपचार चै हुन्न । जसले गर्दा देशभरका नागरिक मुटु रोगको उपचारको लागि काठमाडौँ आउनु पर्ने बाध्यता भने अझै कायमै छ ।   

त्यसैले मैले भन्दै आएको कुरा के हो भने हिजो ५ विकास क्षेत्र थियो आज हामी ७ वटा प्रदेशमा छौँ । सबै नागरिकलाई समान सेवा प्रदान गर्ने हो भने सरकारले ७ वटै प्रदेशमा एउटा—एउटा मुटु सेन्टर सञ्चालन गर्नु पर्छ । मुटु रोग दिनप्रतिदिन बढ्दै गइरहेको छ । यसको उपचार खर्चिलो पनि छ । त्यसैले सबै नागरिक उपचारको पहुँचमा छैन । हुम्ला, जुम्ला, डोल्पाका नागरिकलाई काठमाडौँ आउन सम्भव छैन । त्यसैले ७ वटै प्रदेशमा मुटुको अस्पताल अथवा त्यहाँको केन्द्रस्तर तथा प्रदेशस्तरको अस्पतालमा मुटुको विभाग सञ्चाल गर्न आवश्यक छ जहाँ सबै खालको मुटुको उपचार सम्भव होस्  । त्यसरी सञ्चालन गर्ने हो भने आम नागरिकले मुटुसम्बन्धी उपचार सहज रुपमा पाउन सक्ने थिए ।

*****

शिविरमा धेरै नागरिकलाई मुटु कता हुन्छ भन्ने नै थाहा हुँदैन । पेटमा देखाएर मुटु दुख्यो भन्नुहुन्छ । मुटु त छातीको देब्रेतिर हुन्छ । नागरिकलाई यो कुरा जानकारी गराउनुपर्छ । अहिले रेडियो, टेलिभिजनलगायतका सञ्चार माध्यम धेरै हुँदा पनि मुटु रोग सम्बन्धी चेतना त फैलिएको छ । तर राज्यको स्तरबाट गर्नुपर्ने धेरै कामहरु बाँकी छन् ।

*****

मुटु रोगमा नागरिकको चेतना कस्तो पाउनुहुन्छ ?

मुटु रोगको सवालमा नागरिकको पनि चेतना बढेको देखिन्छ । जस्तो ‘सेभ द हार्ट’ भन्ने संस्थाबाट अहिलेसम्म ५५ वटा मुटुरोग सम्बन्धी निशुल्क शिविर पनि सञ्चालन गरिसकेका छौँ । कालिकोट, मुगु, डोल्पा, दैलेखजस्ता जिल्लामा मेसिन बोकेर निःशुल्क शिविर सञ्चालन गरेका छौँ । ५ वर्षको अवधिमा ६० देखि ६५ हजार नागरिकको निःशुल्क मुटु परीक्षण गरिसकेका छौँ । तीमध्ये ३ सय जनाको काठमाडौँमा ल्याएर निःशुल्क अपरेशन र उपचारनै गरिसकेका छौँ । शिविरको क्रममा विभिन्न ठाउँमा पुग्दा नागरिकले पनि मुटु रोग के हो भन्ने विषयमा चासो लिन थालेका छन् । 

शिविरमा धेरै नागरिकलाई मुटु कता हुन्छ भन्ने नै थाहा हुँदैन । पेटमा देखाएर मुटु दुख्यो भन्नुहुन्छ । मुटु त छातीको देब्रेतिर हुन्छ । नागरिकलाई यो कुरा जानकारी गराउनुपर्छ । अहिले रेडियो, टेलिभिजनलगायतका सञ्चार माध्यम धेरै हुँदा पनि मुटु रोग सम्बन्धी चेतना त फैलिएको छ । तर राज्यको स्तरबाट गर्नुपर्ने धेरै कामहरु बाँकी छन् । जनचेतना फैलाउने, शिविर सञ्चालन गर्ने कुरा हामी जस्ता व्यक्ति र संघ, संस्थाले पनि गर्न सकौँला । तर एउटा मुटु सेन्टरनै सञ्चालन गर्ने र त्यसलाई पुरा प्रविधियुक्त बनाएर सबै नागरिकको पहुँचमा पु¥याउने काम त राज्यले गर्नुप¥यो । यो कुरा अझै पनि टड्कारो र खड्केको विषय हो ।

मुटु रोगको उपचारमा के—के चुनौतीहरु देख्नुहुन्छ ? तपाईं आफैले जिम्मेवारी सम्हाल्नुभएको क्षेत्रमा क—कस्ता समस्या भोग्दै आइरहनु भएको छ ?

नेपालको मुटुको उपचारको क्षेत्रमा चुनौतीहरु नभएका होइनन्, छन् । तर, सरकारले मुटु रोगको उपचारमा धेरै सुविधा पनि दिएको छ । जस्तो मुटुको उपचारमा १५ वर्षभन्दा मुनि र ७५ वर्षभन्दा माथि निःशुल्क उपचार हुँदै आइरहेको छ । बाथ मुटु रोगले गर्दा मुटुको भाल्व बिग्रिएर मुटुको उपचार गराउँदा त्यो निशुल्क छ । सँगै त्यो समूहभित्र नपर्ने विपन्न नागरिकलाई सरकारले १ लाख रुपियाँ अनुदान पनि प्रदान गरेको छ ।

तर, मैले भोगेको कुरा, मुगु, डोल्पा, कालिकोटमा १५ वर्षभन्दा मुनिका बिरामी अपरेशन गर्नको लागि तयारी अवस्थामा छन् । सो बिरामीलाई काठमाडौँसम्म ल्याउने र काठमाडौँबाट घर पठाउने व्यवस्था त गर्नुप¥यो । त्यो खर्च त राज्यले दिँदैन । डोल्पाबाट बाबा, आमा र बच्चा उपचारको लागि काठमाडौँ आउनुप¥यो भने कम्तिमा पनि ५० हजार खर्च हुन्छ । बाटो छैन । हेलिकोप्टरबाट नेपालगञ्ज आउनै प¥यो, खानुप¥यो, बस्नुप¥यो । यस्ता खर्च त राज्यले दिने गरेको छैन । मुटुमा परेको प्वाल टाल्नको लागि एउटा परिवार काठमाडौँ आउँदा थप एक लाख खर्च हुन्छ । त्यसैले भौगोलिक अवस्थाले गर्दा मुटु रोगको उपचार महङ्गो भएको छ ।

त्यही भएर सात वटा प्रदेशमा एउटा—एउटा मुटु सेन्टर संचालन गर्न अत्याधिन जरुरी छ । त्यो भयो भने डोल्पाको नागरिकले नेपालगञ्ज अथवा राजधानी सुर्खेतबाट नै स्वास्थ्य सेवा पाउने छन् । यो एउटा समस्याको पाटो देखिन्छ । बाथ मुटु रोगको उपचार सरकारले निःशुल्क ग¥यो । तर यस्तो समस्या भएको व्यक्तिले ३५ वर्षसम्म कि नियमित औषधि खानुपर्‍यो कि सुई लगाउनु पर्‍यो । बाथ मुटु रोगको समस्या भएको बिरामीको लागि औषधि निःशुल्क उपलब्ध पनि छैन र कति ठाउँमा पाउँदा पनि पाइन्न । त्यो औषधि राज्यले निःशुल्क र सहज रुपमा उपलब्ध गराइदिनुपर्‍यो । यस्ता सानोतिनो कुरामा पनि सम्बन्धित विज्ञसँग बस्ने सल्लाह गर्ने र के गर्ने सकिन्छ भन्ने विषयमा छलफल गर्नुपर्नेमा त्यो पाटो चाहिँ हराएको जस्तो लाग्छ मलाई ।

*****

एक ९ महिनाकी गर्भवती महिलालाई मुटुबाट निस्कने मुल नली फुटेर अस्पताल ल्याइएको थियो । यो एक वर्ष अगाडीको कुरा हो । हामीले अपरेशनबाट आमा र बच्चा दुबै जनालाई बचाउन सक्यौँ । त्यो मलाई अहिलेसम्म सबैभन्दा खुशी लागेको क्षण हो । अहिले पनि वहाँहरु फलोअपको लागि आइरहनुहुन्छ ।

*****

सेवा प्रदान गरिरहँदा एकदमै दु.ख र खुसीका क्षणहरु पनि होलान् ?

मुटु रोग निकै जटिल रोग हो । उपचार गर्दा ९५ प्रतिशत सफल हुन्छ । ५ प्रतिशत सफल नहुन सक्छ । जस्तो हामीले ७ देखि ८ सय मुटुको ओपन हार्ट सर्जरी ग-यौँ भने ३५ देखि ४० जनाको मृत्यु हुन्छ । तर, ७ सय ७० जनाले नयाँ जीवन पाउँछन् । उपचारको क्रममा दुःखद घटना हुँदैहुन्न भन्ने होइन । हामीले पनि धेरै प्रयास गरेको हुँदा यस्तो घटना हुँदा हामीलाई पनि दु.ख लाग्छ ।

उपचारको क्रममा खुशीका कुराहरु पनि धेरै छन् । जसमध्ये एउटा कुराको भने मलाई सधैँ याद आइरहन्छ । एक ९ महिनाकी गर्भवती महिलालाई मुटुबाट निस्कने मुल नली फुटेर अस्पताल ल्याइएको थियो । यो एक वर्ष अगाडीको कुरा हो । हामीले अपरेशनबाट आमा र बच्चा दुबै जनालाई बचाउन सक्यौँ । त्यो मलाई अहिलेसम्म सबैभन्दा खुशी लागेको क्षण हो । अहिले पनि वहाँहरु फलोअपको लागि आइरहनुहुन्छ ।

नेपाली नागरिकहरु मुटुसम्बन्धी समस्या बोकेर कस्तो अवस्थामा अस्पतालमा आइपुग्छन् ?

मैले यूरोपमा अध्ययन गरे । त्यहाँ एउटा सिस्टम बसिसकेको छ । कुनै पनि बच्चा जन्मिनुभन्दा पहिलानै बच्चालाई मुटुसम्बन्धी समस्या छ कि छैन भनेर पेटमै उसको स्क्रिनिङ हुन्छ । कुनै पनि रोग लागेको बच्चा जन्मिदै छ, जन्मिने बित्तिकै अपरेशन भएन भने मृत्यु हुन्छ भन्ने छ भने पहिलानै चिकित्सकको टिम तयारी अवस्थामा हुन्छ । बच्चा जन्मने बित्तिकै बच्चालाई अपरेशन थिएटरमा लगेर बचाउँछन् ।

तर, हामी कहाँ के छ भने मान्छेलाई मुटु रोग लागेको १० वर्षदेखि थाहा हुन्छ तर वहाँहरु चिकित्सक कहाँ पनि नआउने समस्या छ । अनि मुटु बिग्रेर थैलो भइसकेपछि आउनुहुन्छ त्यो बेलामा ढिला भइसकेको हुन्छ । हामीले पनि बचाउन सक्दैर्नाैँ । त्यस्ता घटना धेरै छन् । त्यो हुनुको कारण जनचेतनाको कमी हो ।

नेपालमा मुटुसम्बन्धी सबै प्रकारको उपचार सम्भव छ भन्न सक्ने अवस्था छ कि छैन ?

९० देखि ९५ प्रतिशत मुटु रोगहरुको उपचार नेपालमै सम्भव छ । नेपालमा नहुनेमा मुटुको मांशपेसी कमजोर अथवा बुझ्ने भाषामा भन्नुपर्दा मुटुले फेल खायो भने त्यस्तोमा गर्न सकिने भनेको कृत्रिम मुटु राख्न सकिन्छ । त्यो उपचार भारतमा सम्भव छ । त्यो बाहेक मान्छेको मुटुनै फेर्ने यो दुई वटा प्रविधि नेपालमा छैन ।

अन्य सबै मुटुसम्बन्धी उपचारहरु नेपालमै हुँदै आइरहेका छन् । किन भने एउटा कृत्रिम मुटुको कम्तिमा पनि ३० देखि ४० लाख पर्छ । तर त्यो सधैभरी राख्न पनि मिल्दैन । एक दिन प्रत्यारोपण गर्नु नै पर्ने हुन्छ । अहिलेसम्म नेपालमा मुटुको प्रत्यारोपण कानुनी प्रावाधानहरु स्पष्ट रुपमा आइसकेका छैनन् । कानुन स्पष्ट भएको खण्डमा यो काम नेपालमा गर्नलाई गाह्रो छैन । हाम्रो टिम तयारी अवस्थामा छ ।

*****

चिकित्सकले रिफर नगरेसम्म उपचारको लागि अहिले विदेश जानु पर्ने अवस्था नै छैन । नेपालमै सबै किसिमको उपचार सम्भव छ र नागरिकलाई सेवा पनि प्रदान गरिरहेका छौँ । तर, अहिले सामान्य उपचारको लागि पनि नेपाली विदेश गइरहेका छन् । यो भनेको विश्वास नभएर हो भन्नुपर्छ । अर्काे हाम्रो नेतृत्व तहबाट पनि केही हदसम्म बढी विदेशमह देखाएको आमसञ्चार माध्ययम आएको र सबैलाई थाहा भएको कुरा हो ।

*****

नेपालमा मुटु रोग विशेषज्ञको अवस्था कस्तो छ ?

मुटु रोग विशेषज्ञ दुई किसिमका हुन्छन् । कार्डियोलोजिष्ट अर्थात मुटुको फिजिसियन र शल्यचिकित्सक । उनीहरु यति नै छन् भन्ने तथ्याङ्कबारे खासै जानकारी भएन । तर अनुमान गर्दा नेपालमा ५० देखि ६० जनाको हाराहारीमा होलान् । यो पर्याप्त सङ्ख्या भने होइन । जस्तै पश्चिमा देशहरुसँग तुलना गर्ने हो भने १० लाख जनसङ्ख्या बराबर एउटा मुटु सेन्टर हुनुपर्छ । हाम्रोमा ३ करोड जनसङ्ख्या भएको ठाउँमा कम्तीमा पनि ३० वटा मुटु सम्बन्धी रोगको उपचार गर्ने सेन्टर चाहिन्छ । अहिले त हामीसँग राम्रोसँग उपचार गर्ने २ वटा र उपत्यका बाहिरकालाई पनि गन्ने हो भने ४ वटा रहेको छ । तर सबै खालको उपचार हुने दुई वटा सेन्टर मात्रै रहेको छ । जनसङ्ख्या अनुसारनै जाने हो भने अझै २८ वटा मुटु सेन्टर चाहियो । यो पनि सम्भव नभए ५ देखि ७ वटासम्म त राज्यले सञ्चालन गर्न सक्छ नी । मुटुसम्बन्धी राम्रोसँग नागरिकलाई सेवा प्रदान गर्ने हो भने २५० देखि ५ सयसम्म सर्जन र कार्डियोलोजिष्टको आवश्यक छ ।

९० देखि ९५ प्रतिशत मुटुको उपचार नेपालमै हुन्छ भनेर तपाईंले भनिरहँदा अझैसम्म विदेशमा गएर उपचार गर्नेको सङ्ख्यामा खासै कमी आउन सकेको छैन । नेपालमै उपचार सम्भव हुँदाहुँदै पनि विदेश जानुको कारण के पाउनु हुन्छ ? के नेपालको उपचार र चिकित्सकलाई नेपाली नागरिकले विश्वास नगरेका हुन् ?

चिकित्सकले रिफर नगरेसम्म उपचारको लागि अहिले विदेश जानु पर्ने अवस्था नै छैन । नेपालमै सबै किसिमको उपचार सम्भव छ र नागरिकलाई सेवा पनि प्रदान गरिरहेका छौँ । तर, अहिले सामान्य उपचारको लागि पनि नेपाली विदेश गइरहेका छन् । यो भनेको विश्वास नभएर हो भन्नुपर्छ । अर्काे हाम्रो नेतृत्व तहबाट पनि केही हदसम्म बढी विदेशमह देखाएको आमसञ्चार माध्ययम आएको र सबैलाई थाहा भएको कुरा हो । सम्भव भएको उपचार नेपालमै गर्नको लागि नेपालको चिकित्सक, नेपालको अस्पतालप्रति विश्वास गर्न जरुरी छ ।

त्यसको लागि नेतृत्वतहका व्यक्तिहरुले बेला—बेलामा नेपालमै उपचार गर्नुपर्छ र सार्वजनिक रुपमा नेपालको स्वास्थ्य सेवा, कुन अस्पतालले कस्तो सेवा प्रदान गरिरहेको छ भन्ने बारेमा बोल्नु पनि आवश्यक छ । तर अहिलेसम्म खासै बोलेको पाइँदैन । राम्रोभन्दा नराम्रो कुरा धेरै आउँछ । उपचारको क्रममा एउटा मान्छेको निधन भयो भने त्यस्ता कुराले धेरै चर्चा पाउँछन् तर राम्रो कामको भने खासै चर्चा हुँदैन ।

त्यसैले नेपाली नागरिकलाई नेपालमै उपचार गर्न प्रेरित गर्न चिकित्सक, अस्पताल, सञ्चार माध्यम, सरकार सबैको सहयोग आवश्यक छ । विदेशमा उपचारलाई निरुत्साहन गर्ने हो भने देशको अर्बाै रकम विदेश जानबाट पनि जोगिन्छ ।

अहिले भारतको मेदान्त, एपोलोमा जानुभयो भने त्यहाँको एक अर्ब जनसङ्ख्या र हाम्रो ३ करोड जनसङ्ख्यामा ३० देखि ४० प्रतिशत नेपाली नै लाइनमा बसिरहेका हुन्छन् । ठूलो मुटु रोगको त कुरै छोडौँ सामान्य पित्त थैली, एपेन्डिसाइटिसको उपचारको लागि पनि भारत दौडिरहेका छन् । उपचारको क्रममा बिरामीको निधन भारतमा पनि हुन्छ ।  तर हाम्रो देशमा एउटा मान्छेको मृत्यु भयो भने हल्ला धेरै हुन्छ । त्यसले नागरिकको उपचारप्रति विश्वास घट्दै जान्छ । सबै पक्ष जिम्मेवार हुने हो भने सबैलाई फाइदा हुने हो । त्यसैले नेपाली नागरिक विदेश उपचार जानुमा सबैभन्दा ठूलो समस्या भनेको विश्वास नहुनु हो । विश्वास जित्नको लागि सबै पक्ष जिम्मेवार हुनुपर्छ ।

भारतमा गएर धेरै खर्च लागेर अपरेशन गरेर कम्प्लिकेसन भएपछि हामीले उपचार गर्नुपरेको पनि अवस्थाहरु छन् । खर्चले गर्दा किनभने त्यहाँ सधैँ त नागरिक बस्न सक्दैनन् ।  आर्थिक अवस्था कमजोर हुँदै गएपछि नेपालको सरकारी अस्पतालमा आउनुहुन्छ । हाम्रो देशको नागरिक हो सेवा दिन हामीलाई आपत्ति छैन । तर सम्भव भएको उपचार त आफ्नै देशबाट लिँदा सबैको लागि फाइदाको कुरा हो ।

*****

समग्रमा हाम्रो समाजको संरचना कस्तो भयो भने हामी शारीरिक व्यायम प्रति एकदम कन्जुस छौँ । शारीरिक व्यायम भनेको बिहान मात्रै गर्नुपर्छ भन्ने छैन । जतिबेला तपाईसँग समय खाली छ त्यो समयमा गर्न सकिन्छ ।

*****

मुटुसम्बन्धी कस्ता—कस्ता खालका समस्याहरु पाउनुहुन्छ ? १, २, ३ मा पर्ने समस्याहरु के–के हुन् ?

अहिले धेरै मान्छेहरु ज्यानै लिने मुटु सम्बन्धी समस्या भनेकोे मुटु बाथ रोग पहिलो नम्बरमा छ । यस्तै जन्मजात मुटुरोग र स्केमिक मुटु रोग, जसले हृदयघात गराउँछ, छन् । मांशपेसीसम्बन्धी समस्या, मुटुको चालको गडबडी (मु्टुको चाल सम्बन्धी रोगहरु ), मुटुबाट निस्कने नलीहरु र  रक्तनली लगायतका रोगहरु पनि देखिने गरेका छन् ।

मुटुमा आउने समस्याबाट बच्नको लागि व्यक्ति, परिवार र समाजको भूमिका कस्तो हुनुपर्छ ?

समग्रमा हाम्रो समाजको संरचना कस्तो भयो भने हामी शारीरिक व्यायम प्रति एकदम कन्जुस छौँ । शारीरिक व्यायम भनेको बिहान मात्रै गर्नुपर्छ भन्ने छैन । जतिबेला तपाईसँग समय खाली छ त्यो समयमा गर्न सकिन्छ । जिम गर्ने, व्यायम गर्ने, खेल्ने जस्ता सबैलाई फरक—फरक शारीरिक व्यायम गर्न सकिन्छ । दैनिक गर्न सक्नु हुन्न भने पनि एक दिनको फरकमा कमसेकम आधा घण्टा अनिवार्य गर्नुपर्छ । यसो गर्नुभयो भने धेरै हदसम्म मुटुरोगबाट बच्न सकिन्छ ।

अर्काे ३५ वर्षभन्दा माथि उमेरका नागरिकले वर्षमा एक पटक मुटुरोग विशेषज्ञलाई देखाउनुप¥यो । इसिजी मात्रै गर्नुभयो भने, कोलस्ट्रोल र सुगरको मात्रा ब्लडमा हेर्नुभयो भने पनि ठूलो रोग लाग्ने बारेमा समयमा थाहा हुन्छ । त्यसैले नियमित व्यायम र चेकजाँच र खानपिनमा परिवर्तन आवश्यक छ । त्यो भनेको मासुजन्य तारेको, भुटेको ,कार्बाेहाईट्रेड भएको कुराहरु कम खाने । यस्ता कुरालाई ध्यान दिनुभयो भने मुटुमा लाग्ने धेरै रोगबाट बच्न सकिन्छ ।

अन्तमा जन्मजात मुटुमा समस्या देखिने कारणहरु के–के हुन् ?

जन्मजात मुटुमा समस्या देखिनुमा एउटा वंशाणुगत कारण भए । वंशाणुगत भन्नाले कुनै पनि परिवारमा मुटु रोग लागेको थियो त्यो परिवारबाट जन्मिने बच्चाहरुमा मुटुमा प्वाल पर्ने,मुटुको नसाहरु उल्टो बस्नु ,कडा भन्दा कडा खालका मुटुरोग लाग्न सक्ने सम्भावना हुन्छ । गर्भवती महिलालाई कुनै ठूलो रोग लाग्यो, कडा औषधि सेवन गर्नुप¥यो, गर्भावस्थामा सन्तुलित भोजनको कमी, धुम्रपान, मध्यपान गर्ने आमाहरुबाट जन्मने बच्चाहरुमा जन्मजात मुटुको समस्या देखिनसक्छ । ३५ वर्ष उमेरभन्दा माथिका महिलाहरुले बच्चा जन्माएको खण्डमा डाउन सिन्ड्रोम भएको बच्चा जन्मन सक्ने सम्भावना रहन्छ ।

मुटु हाम्रो शरीरमा एउटा मात्रै भएको अंग हो जसमा हाम्रो जीवन निर्भर छ । मुटु स्वास्थ्य नभएसम्म जिन्दगी स्वास्थ र खुशी हुन सक्दैन । त्यसैले त्यो कुरा पाउनको लागि नियमित व्यायम गर्ने, मोटोपन घटाउने, ३५ वर्ष भन्दा माथिको मान्छेले नियमित मुटुरोग विशेषज्ञसँग सल्लाह लिनुभयो भने तपाईको मुटु स्वास्थ रहन्छ ।

 

कमेन्ट

  1. Sept. 12, 2019, 9:19 p.m. केशब राज शर्मा
    धन्यबाद डा. भट्टराइ वास्तविकता जनसमक्ष ल्याइदिएकोमा |
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...