केन्द्रीय संस्करण

कथा : स्वयंवर

person explore access_timeफागुन १७, २०७६ chat_bubble_outline0

–डा. राजु अधिकारी

आज मेरो स्वयंवर हुने दिन । मलाई पनि थाहा छैन खुशीको दिन या दुःखको दिन । त्यसैले म हाँस्न पनि सकेकी छैन अनि रुन पनि सकेकी छैन । वास्तवमा म भावनाविहीन भएकी छु । त्यही भावनाविहीनतामा रुमल्लिएकी मलाई उनीहरुले डोहोर्‍याएर स्वयंवर गर्ने स्टेजमा ल्याएका छन् । मलाई उनीहरुले कठघरामा उभ्याए जस्तो उभ्याएका छन्, मानौ एकछिनपछि कुनै न्यायाधीश आएर मेरो सुनुवाइ गर्नेछन् । हातमा वरमाला लिएर म तिनै न्यायाधीशको आदेशको पर्खाइमा उभिएकी छु । 

बिहे अर्थात् नयाँ जीवनको सुरुवात, एकबाट दुई हुने दिन । आफ्ना लागि मात्रै सोच्ने परिस्थतिबाट एक कदम माथि उठेर आफूभन्दा अर्को कसैका लागि पनि सोच्न सुरु गर्ने दिन । म एउटी केटीबाट आइमाई बन्ने दिन । एउटी छोरीबाट बुहारी बन्ने दिन अनि स्वच्छन्द बागमा निडर विचारण गर्ने पन्छीबाट एउटा पिजरामा बन्धित चरी हुन जाने दिन । हाम्रो समाज यस्तै यस्तै उपमा दिन्छ केटीको बिहेका लागि । मलाई पनि कताकता डर पनि लागिरहेको छ । आजबाट म आफू जन्मिहुर्केको घर छोडेर उसको घर जानेछु । तर समाजको रीति यस्तै छ । म एक्लैले विद्रोह गरेर हुने पनि हैन । समाज र समयले जता डोहे र्‍याउँछ उतै जानुबाहेक म अरू केही गर्न सक्दैन । त्यसैले त्यही समाजको लागि नै भए पनि मैले बिहे गर्नुपर्छ । 

म बाह्र वर्षकी हुँदा पहिलो पटक नजिकबाट बिहे देखेकी थिएँ । मेरी फुपूकी छोरी मभन्दा चार वर्षले जेठी भए पनि उनको र मेरो कुरा निकै मिल्थ्यो । हाम्रो घर पनि त्यति टाढा थिएन । हामी एउटै स्कुलमा पढथ्यौँ, सँगै स्कुल जान्थ्यौँ, सँगै फर्कन्थ्यौँ । तर उनको अलि छिटो बिहे भयो । दिदीको बिहेमा उनकी नजिककी बहिनी अनि मिल्ने साथी भएको नाताले उनलाई लिन आउने जन्तीहरुलाई स्वागत गर्ने कन्याहरुमा म पनि एक थिएँ । त्यहीबेला मैले निकै नजिकबाट बिहेको सबै कुरा विस्तारमा हेर्न पाएकी थिएँ ।

तेह्र वर्ष पुग्दा नपुग्दै मेरो जवानी चढिसकेको थियो । अलि छिट्टै बढेको हुनाले आफ्ना उमेरका केटीहरु भन्दा म जवान पनि देखिन्थेँ । शरीर मात्रै होइन त्यो बेला मेरो मन पनि जवान भइसकेको थियो । केटाहरु देख्दा म लजाउने गर्थें । त्यसमाथि मभन्दा पाँच महिनाले जेठी हाम्रो कक्षाकी पद्मा सात कक्षामा पढ्दा पढ्दै पोइल गएपछि त मलाई पनि बिहे गर्न पाए कस्तो हुँदो हो जस्तो लाग्न थालेको थियो । तर मैले बिहे गर्छु भन्ने सोचेर के हुनेवाला थियो र ? न त मैले आफ्नो कुरा बुवाआमासँग राख्न सक्थेँ न त आफूले नै कसैलाई प्रेम दर्साउन सक्थेँ । मेरा मनका ती रहर मनमै गुम्सिएर धेरै वर्षसम्म सुषुप्त रहेर बसिरहे कुनै दिन प्रष्फुटित हुन पाउने आशामा ।

त्यो डेढ दशकभन्दा पहिलेको समय, अहिले जस्तो थिएन । अहिलेको जस्तो आधुनिक बिहे हुँदैनथ्यो । भर्खर भर्खर मात्रै सहरमा सभाहलहरु लिएर बिहे गर्ने चलन चल्न थालेको थियो । अधिकांश बिहे घरबाटै हुन्थ्यो, मेरी ती दिदीको बिहे पनि घरबाट नै भएको थियो । केटाकेटीहरुले एकअर्कालाई चिनेका हुँदैनथे । सबै कुरा परिवारले नै मिलाएका हुन्थे । बिहे अगाडि भिनाजु दिदीलाई हेर्न गएको बेला दिदीले उनलाई हेर्न गएका पाहुनाहरुलाई चिया टक््रयाएकी थिइन् । त्यही एक पटक मात्र हो बिहे अगाडि उनीहरुको देखाभेट भएको । एकआपसमा कुरा गर्ने, एकले अर्कालाई चिन्ने अवसर नै दिइँदैनथ्यो । केटीले नबोलेकै राम्रो मानिन्थ्यो, त्यसैले भिनाजु आफूलाई हेर्न गएको बेला दिदी पनि केही बोलिनन् । उनलाई बिहे गर्दिनँ भनेर अस्वीकार गर्ने अधिकार पनि थिएन । त्यसैले मेरी दिदीले पनि केटो मन परे पनि नपरे पनि परिवारको भरोसामा आफ्नो भविष्य स्वीकार गरेकी थिइन् । 

बिहे भएर घर गएको तेस्रो दिन पहिलो पटक माइती फर्केकी उनलाई ‘बिहे गर्दा कस्तो अनुभव हुँदो रहेछ त दिदी ?’ भनेर मैले सोधेकी थिएँ । उनले पहिले त केही लाज मान्दै, ‘भन्दिनँ तँलाई, यस्तो कुरो पनि सोध्छेस् ? पछि तेरो बिहे हुँदा आफै थाहा पाइहाल्छेस् नि’ भनेर पन्छाउन खोजेकी थिइन् । तर मैले ‘भन न दिदी, तिमीलाई डर लागेन भिनाजुलाई वर माला पहिर्‍याउँदा ?’ भनेर जिद्दी गरेपछि उनले, ‘लागिहाल्छ नि, किन नलागोस् । तर डरभन्दा पनि निकै उत्सुकता र कौतुहल थियो’ भनेर उत्तर दिएकी थिइन् ।

तर मेरो उत्सुकता दिदीको त्यति उत्तरमै मरेको थिएन । त्यतिबेला नै मलाई पनि बिहे गर्ने हतार थियो । त्यसैले मैले ‘कस्तो कौतुहलता, भनन’ भन्दै उनीसँग अरू कुरा पनि खोतल्न खोजेकी थिएँ ।
‘त्यही त हो नि, ऊ कस्तो होला, बिहे भएर उसको घरमा गए पछि के गर्ने होला ? पहिलो रात कोठामा लगेर मलाई के गर्ला ? उसले मलाई छुँदा कस्तो अनुभव होला ? कसरी मेरो घुम्टो उठाउँला ? मलाई कसरी चुम्बन गर्ला, त्यस्तै त हो ?’ लजाउँदै उनले भनेकी थिइन् ।

‘अनि अरू केके सोचेकी थियौ दिदी भनन ?’ मेरो कौतुहलता झनै बढेकाले मैले उनलाई त्यत्तिकैमा छोडेकी थिइनँ ।

‘कति जान्नुपरेको होला यसलाई ?’

‘भनन ।’ मैले जिद्दी गरिरहे पछि उनको र मेरो निकै नजिकको सम्बन्ध भएकाले उनी अलिअलि लजाए पनि खुल्दै गएकी थिइन् ।

‘अनि कोठामा ओछ्यानमा बसेको बेला मतिर आएर उसले कसरी मेरो चिउँडो माथि उठाएर मेरा लोलाएका नजरहरुलाई हेर्ला अनि म लजाएर उसका नजरहरुमा सोझै हेर्न नसकेर मेरा नजरहरु लत्रिएलान् । कसरी माइती छोड्दा मेरा आँसुले भिजेका आँखाहरु उसले पुछ्ने प्रयत्न गर्ला अनि त्यही निहुँ बनाएर मलाई छोला ? कसरी म डर र लाजले भुतुक्कै हुँदै अर्कोतिर मुन्टो बटारुँला अनि उसले पुनः मलाई फकाउने प्रयत्न गर्ला ।

त्यस्तै त्यस्तै त हो नि । ‘अनि भिनाजुले के गर्नु भयो त ? हजुरले कल्पना गरेजस्तै गर्नुभयो ?’ मेरो खुल्दुली झन् पछि झन् बढ्दै थियो । शरीरका अङ्ग प्रत्यङ्गमा पनि अनौठो कम्पन पैदा भएको जस्तो हुँदै थियो ।
‘तेरो बिहे भएपछि आफै थाहा पाउँछेस्’ हाँस्दै भागेर उनले मलाई बाँकी कुरो खोल्न मानेकी थिइनन् ।

त्यसपछि म पनि त्यही रोमान्चित सोचाइमा डुब्दै कुनै दिन मेरो दुलाहाले पनि बिहे भएको पहिलो दिन मलाई पनि त्यसरी नै प्रेम गर्ला भनेर मेरो बिहेको दिन पर्खेर बसेकी थिएँ । 

उमेर बढ्दै जाँदा बिहेप्रति मेरो कौतुहलता पनि बढ्दै गएको थियो । कस्तो होला मेरो दुलाहा, कति पढेको होला, मलाई कति माया गर्ला, मैले उसलाई कति माया गरुँला, उसको हात समातेर घर माइती गर्दा कस्तो अनुभव होला, उसको चौडा छातीलाई सिरानी गराएर उसको न्यानो काखमा सारा पीडा बिर्सेर निदाउँदा सायद धर्ती पनि स्वर्ग जस्तै लाग्ने होला भनेर सोच्थेँ म । मैले कहिले नदेखेको केटो, जसको बारेमा मलाई केही पनि थाहा छैन । पूरै परिवारको भर र विश्वासमा उनीहरुले खोजिदिएको केटोसँग एकअर्कालाई जिन्दगीभर साथ दिने गरी म पनि एक दिन विवाह बन्धनमा बाँधिने छु भनेर कल्पना गर्थें । सोच्दै पनि कति रोमान्चित लाग्थ्यो । दुईवटा शुद्ध मनको मिलन । पूरै नयाँ सुरुवात । कस्तो कौतुहलता होला, कस्तो उत्सुकता होला, कस्तो रोमान्चित होला मन । पहिलो पटक उसलाई के भनेर सम्बोधन गर्ने, कसरी उसलाई छुने, कसरी आफ्नो प्रेम दर्साउने, कसरी आफ्नो विगतका रमाइला कुरा बताउने अनि कसरी ऊसँगै भविष्यको योजना बनाउने । 

तर फेरि आफूले नसोचेको जस्तो पर्‍यो भने के गर्ने ? जाँड रक्सी धोकेर आएर रात दिन कलह गर्ने, मलाई कुट्ने, काम पनि नगर्ने, पैसा पनि नकमाउने, नपढेको पर्‍यो भने के गर्ने ? त्यो सोच्दा चाहिँ म भित्रभित्र डराउँथे । तर बाबु आमाले पक्कै पनि सबै बुझेर बिहे गर्देलान नि भनेर फेरि चित्त बुझाउँथेँ । जन्ती बिदाइ गर्दा फुपूलाई अँगालो हालेर डाको छोडेर रुँदै गएकी दिदी तिन दिनपछि माइती आउँदा कति खुसी थिइन् । त्यसैले बुवाआमाको भरोसामा आफ्नो भविष्य छोडेर मैले पुनः आफ्नो मन शान्त पार्दै रोमान्चकतामा डुब्थेँ ।

तर हाम्रो समाजले निकै छोटो समयमा निकै ठूलो फड्को मार्‍यो । नसोचेको सामाजिक परिवर्तन भयो । सञ्चार सुविधा, विश्वव्यापीकरण र सामाजिक सञ्जालको विकाससँगै, सहरतिर मागी बिहे गर्न चलन लगभग सकियो नै भने पनि हुन्छ । अधिकांशले त पहिले नै आफ्नो लागि केटाकेटी खोजिसकेका हुन्छन्, अनि केही वर्षको प्रेमपछि घरमा भनेर तामझामका साथ बिहे गर्छन् । आफ्नो जीवनसाथी आफै खोज्न नसक्नेले चाहिँ बाबु आमाले पहिले चिनाएपछि केही समय एक अर्कालाई चिनेर, बुझेर, दुवैको चित्त बुझ्यो भनेपछि मात्रै बिहे गर्छन् । पूर्णरूपले पहिलेको जस्तो मागी विवाह त केही गर्न नसक्ने हुतिहाराहरुले मात्र गर्ने चलन चलेको छ ।

निकै राम्रो कुरो हो यो । बिहे जस्तो कुरा, जिन्दगी बिताउने कुरो, कसरी अर्काको भरमा परेर गर्न सकिन्छ र ? एकअर्कालाई बुझेर गर्नु नै उत्तम हो ।

त्यसैले बिहे अगाडि सबै बुझ्नु पर्‍यो, केटो कस्तो छ, के गर्छ, कहाँको हो ? बानी व्यहोरा कस्तो छ, जाँड रक्सी निकै पो धोक्छ कि अथवा पिउँदै पिउँदिन कि ? धेरै रक्सी धोक्ने केटाहरु केही केटीहरुलाई स्वीकार्य नहुन सक्छन् तर पिउँदै नपिउँने त आजभोलि अधिकांश केटीहरुलाई स्वीकार्य हुने कुरै भएन नत्र आजभोलिका आधुनिक र सहरियाहरुको जमघटहरुमा आफूले पिउँदा आफ्नो श्रीमानले पिएन भने आफैलाई अप्ठ्यारो लाग्न सक्छ । 

अनि परिवार कस्तो छ । त्यो पनि थाहा पाउनु पर्‍यो । केटा र केटीले एकअर्कालाई मात्रै मन पराएर बिहे गर्नुभन्दा दुवैका बाबुआमातर्फका दुवैले मन पराए भने झन् सुनमा सुगन्ध । बिहे भनेको एउटा केटा र केटीको मात्र मिलन होइन दुई परिवारको पनि नाता जोडिने बन्धन हो । त्यसैले त्यो पनि टुङ्गो लगाउनुपर्‍यो । 

त्यतिले मात्रै अझै पुग्दैन । उसको विगत कस्तो थियो, अनि भविष्यको योजना के छ ? त्यसमा पनि सबै कुरा मिल्नु पर्‍यो । पछि बिहे भइसके पछि त्यही विगतका सम्बन्धहरुलाई लिएर दिनहुँ झगडा हुने पो हो कि । आजभोलि अधिकांश केटाकेटीहरुको केही न केही विगत हुन्छ नै त्यसैले दुवैले आफ्ना विगतहरु खुलेर बताउनु पर्‍यो अनि त्यसलाई एकअर्काले स्वीकार गर्न सक्नु पर्‍यो । हुन त कतिपय कुरामा सम्झौता गर्न सकिन्छ तर कतिपय कुराहरु कसैका लागि निकै संवेदनशील हुन्छन् अनि सम्झौता नगर्ने स्थिति पनि हुन सक्छ । त्यसैले पहिले जानिराखे त्यसलाई व्यवस्थापन गर्न सजिलो हुने भयो ।

त्यतिले मात्रैले पनि पुग्दैन । त्योभन्दा पनि अरू केही कुराहरु हुन्छन् । बाहिरी आवरण मात्रै बुझेर भएन, आजभोलि धेरै कुरो बुझ्नु जरुरी हुन्छ । शारीरिक, मानसिक सबै कुरा मिलेर पछि दाम्पत्य जीवनलाई सोझै असर पार्ने यौन जीवन पनि राम्रो भएन भने त्यसले पनि पछि समस्या ल्याउँछ त्यसैले त्यो पनि बुझ्नै पर्‍यो । ‘लौ अब बेहुला बेहुली स्वयंवरका लागि तयार हुनु पर्‍यो’, बिहे गराउने पण्डितको तिखो स्वरले मेरो सोचाइ भङ्ग गरिदियो । म त पहिले नै माला समातेर तयारी अवस्थामा थिएँ । पण्डितले ‘मङ्गलम भगवान विष्णु, मङ्गलम गरुड़ ध्वज । मङ्गलम पुण्डरीकाक्ष, मङ्गलाय तनो हरि ।।’ भनेर मन्त्रोच्चारण गर्दै मलाई वरमाला पहिराउन भने । त्यो मन्त्रको के मतलब थियो मैले बुझ्ने कुरो थिएन । मेरो वरमालाको प्रतीक्षा गर्दै मेरो हुनेवाला श्रीमान पनि मेरो अगाडि ठिङ्ग उभिएको थियो । मैले उसलाई पुलुक्क हेरेँ । ऊ पनि मतिर हेरेर मुस्कायो । तर मेरी दिदीले मलाई भनेजस्तो मेरो मनमा कुनै उत्सुकता थिएन । मेरो मन शान्त थियो । मेरा लागि त्यो समारोहमा न केही कौतुहलता थियो न केही रहस्य अनि न केही नौलोपन नै । 

जीवन रहस्यले गर्दा रमाइलो हुन्छ । हाम्रो जीवनमा केके हुन्छ भन्ने पहिलेदेखि नै थाहा हुने हो भने जीवन कति निरस हुँदो हो । जीवनको मात्रै के कुरो ? पहिले नै कथा थाहा भएको अथवा पहिले हेरिसकेको सिनेमा हेर्दा हामीलाई कति नमज्जा हुन्छ, सबैलाई थाहा छ । 

मेरा लागि पनि मेरो बिहे त्यस्तै थियो । आधुनिकताको अगाडि लम्पसार परेर आत्मसमर्पण गरेका अधिकांश युवायुवतीहरु जस्तै हामीले पनि एकअर्कालाई बुझ्ने बहानामा बिहे अगाडि र बिहे पछाडि गर्ने सबै काम कुरो पहिले नै पूरा गरिसकेका थियौं । म न त उसको छातीको सिरानीको अनभिज्ञ थिएँ न त उसले बिहेको पहिलो रात मलाई कसरी प्रेम गर्ला भन्ने कुरामा उत्सुक नै थिएँ । न त उसले मलाई लुकेर हेर्दा लाजले मेरा नयन झुक्थे न त उसले स्पर्श गर्दा मेरो तनमा झङ्कार पैदा हुन्थ्यो । बिहे त हाम्रा लागि खालि मेरा परिवारले उसका परिवारसँग सम्झौता गरेर हामीलाई समाजमा श्रीमान श्रीमतीको अनुमतिपत्र दिने समारोह मात्रै थियो । कसैलाई नछिपाएर निर्धक्कसँग एउटै कोठामा सुत्न जाने सक्ने अनुमति मात्रै थियो । 

मैले उसलाई फेरि एकपटक हेरेँ । उसमा पनि कुनै उत्सुकता, कुनै कौतुहलता केही थिएन भन्ने कुरा उसको मुख मण्डलले प्रष्टै पारेको थियो । 

पण्डितको आज्ञा शिरोपर गर्दै मैले पनि त्यहीँ एक पटक हेरिसकेको सिनेमा हेर्न जान लागे जस्तै मनोभावले चुपचाप उसको गलामा वरमाला पहिर्‍याइदिएँ– मेरो स्वयंवर भयो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.