शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सजिलो छैन आंशिक लकडाउन नीति

उद्योग सञ्चालनको वातावरण तयार गरिदिन व्यवसायीको माग
शनिबार, २७ वैशाख २०७७, ०८ : ०९
शनिबार, २७ वैशाख २०७७

काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण न्यूनीकरणका लागि सरकारले घोषणा गरेको लकडाउनको  डेढ महिना बितेको छ ।

 गत चैत ११ गते औपचारिक रूपमा घोषणा गरिएको लकडाउन पटक पटक गरी चौथो पटक म्याद थप गरेको सरकारले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आगामी जेठ ५ गतेसम्मलाई लकडाउन कायम राख्ने निर्णय गरेको छ । तर यस पटकको म्याद थपमा भने सरकारले लकडाउनलाई केही खुकुलो बनाउने नीति लिएको छ । उद्योग र उत्पादनलाई गति दिई आर्थिक बजार सञ्चालन गर्न सरकारले आंशिक लकडाउनको नीति अवलम्बन गरेको छ ।

गत बुधबारको मन्त्रिपरिषदको निर्णयले शुक्रबारदेखि लागू हुनेगरी मानिसको धेरै चहलपहल र भीडभाड हुने क्षेत्र यातायात, बजार, शिक्षण संस्था लगायत अतिरिक्त सेवा सञ्चालनका संस्थाबाहेक कृषि, खाद्यान्न, औषधि तथा निर्माण क्षेत्रका सामग्री उत्पादन तथा वितरण गर्ने उद्योग, कलकारखाना तथा कम्पनीहरु खोल्न दिने निर्णय गरेको छ ।

त्यसमा स्वास्थ्य उपचारका सामग्री, दैनिक उपभोग्य सामान, खाद्यान्न, दाल, चामल, नुन तेल, ग्यासको उत्पादन बिक्रीवितरणदेखि विकास, निर्माण तथा आयोजनाका क्षेत्रहरुमा प्रयोग हुने ढुङ्गा, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको ढुवानी समेत गर्न पाइने भएको छ । 

यसको अलवा केन्द्रीय कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर र प्रदेश स्तरीय कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरसँग आवश्यक समन्वय गरी स्थानीय तहको रोहबरमा आवश्यक सामाजिक दूरी कायम गर्दै न्यूनतम बैङ्किङ तथा वित्तीय संस्था सञ्चालन गर्न र छापा र छापाखाना समेत खोल्न सकिने निर्णय सरकारले गरेको छ ।

तर यता उद्योगी व्यवसायीहरु भने अहिलेको अवस्थामा तत्काल उद्योग, कलकारखाना खोल्ने र उत्पादनमा गइहाल्ने मनस्थितिमा देखिँदैनन् । उद्योग, कलकारखाना सञ्चालन र उत्पादनका लागि आवश्यक वातावरण नभइसकेको र उत्पादनको बजार समेत बन्द भएको अवस्थामा उत्पादनमा जान नसकिने व्यवसायीहरुको भनाइ छ ।

यस कारण सजिलो छैन उद्योग, कलकारखाना मात्र सञ्चालन गर्न
अहिलेको स्थिर अर्थ बजारलाई गति दिन सरकारले उद्योग धन्दा, कलकारखाना खोल्न दिने निर्णय गरे पनि उचित वातावरणबिना सहज नहुने नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाल बताउँछन् । 
‘औद्योगिक क्षेत्रलाई खुला गरी उत्पादन गर्ने जुन नीति सरकारले लिएको छ त्यसलाई उद्योगी व्यवसायीहरुले स्वागत गरेका छन् । उद्योग व्यवसाय सञ्चालन गर्न व्यवसायीहरु पनि तयार छन् । तर अहिलेकै अवस्थामा व्यवसाय सञ्चालन गर्न आवश्यक वातावरण तयार छैन ।’ उपाध्यक्ष अग्रवालले भने, ‘उद्योगलाई आवश्यक कच्चा पदार्थ छैन, श्रमिकको व्यवस्था छैन । फेरि उत्पादन गरिहाल्यो भने पनि बजार छैन । अहिलेको लकडाउन रहेकै अवस्थामा थोक तथा खुद्रा बजार नभएको अवस्थामा व्यवसायीहरुले आफ्नो उत्पादन कहाँ बेच्ने ? उपाध्यक्ष अग्रवालले भने ।

यता निजी उद्योगी व्यवसायीहरुकै प्रतिनिधि संस्था नेपाल उद्योग परिसङ्घ (सीएनआई)ले पनि सरकारको उद्योग धन्दा कलकारखाना खोल्न दिने निर्णय स्वागतयोग्य भए पनि उचित वातावरणबिना सञ्चालन गर्न सकिने अवस्था नरहेको बताएको छ । 

परिसङ्घका महानिर्देशक यादव पौडेल अहिले (लकडाउन) कै अवस्थामा सहज वातावरणबिना उद्योगधन्दा खुले पनि त्यसको कुनै अर्थ नरहने बताउँछन् ।

‘उद्योगधन्दा, कलकारखाना खोल्नु मात्र ठूलो कुरा होइन । त्यसका लागि आवश्यक वातावरण तयार गर्नु महत्त्वपूर्ण कुरा हो । तर अहिलेको अवस्थामा उद्योगहरुले त्यो वातावरण पाउने छैनन् ।’ महानिर्देशक पौडेलले भने, ‘नत अहिले उद्योगले कच्चा पदार्थ पाउने अवस्था छ नत कामदार नै । जेनतेन उत्पादन भइहाल्यो भने पनि बजार पाउने अवस्था छैन । त्यसैले अहिलेको अवस्थामा तत्काल उत्पादनमा गइहाल्ने अवस्था छैन ।

हामी उद्योगी व्यवसायीहरु त तयार नै छौँ । सरकारले गरेको निर्णयप्रति कृतज्ञ नै छौँ । तर उचित वातावरणबिना व्यवसायीहरु उत्पादनमा जाने मस्थितिमा छैनन् । त्यसैले के गर्न सकिन्छ, कसरी जाने भनेर अहिले हामी गृहकार्यमै छौँ, महानिर्देशक पौडेलले भने ।

लामो समय बन्द रहेको गाडीलाई एकै पटक स्टार्ट गरेर कुदाउँभन्दा जसरी इन्जिनलाई धक्का पर्छ अहिलेको उद्योग क्षेत्रलाई पनि त्यस्तै भएको छ । करिब ४५ दिन लामो लकडाउन (बन्दाबन्दी) मा बन्द रहेको उद्योग सरकारको निर्णयपछि एक्कै पटक सञ्चालनमा ल्याइहाल्न सक्ने अवस्थामा छैन ।

व्यवसायीहरुले भनेजस्तै आंशिक लकडाउनको अवस्थामा उद्योग कलकारखाना मात्र सञ्चालन हुने अवस्थामा कसरी वातावरण मिलोस् । एक त लकडाउन रहेकै अवस्थामा उद्योगहरुले आवश्यक कच्चा पदार्थ पाउने अवस्था रहँदैन भने अर्कोतर्फ उत्पादन गरिएका वस्तुले बजार पाउने अवस्था छैन । साथै उद्योग कलकारखानामा श्रमिक  व्यवस्थापन गर्न समेत कठिन अहिलेको अवस्थामा उद्योग कलकारखाना सञ्चालन गर्न चुनौतीपूर्ण छ ।

उद्योग कलकारखाना बाहेक अन्य क्षेत्र लकडाउनमै भएको अवस्थामा उद्योग मात्र खोले व्यवसायी उल्टो घाटामा जान सक्ने खतरा रहेको चेम्बरका उपाध्यक्ष अग्रवाल बताउँछन् ।

‘सहज वातावरण नबनेसम्म अहिलेकै अवस्थामा उद्योग सञ्चालनमा जाने अवस्था छैन । यसो भए उल्टो व्यवसायीहरु घाटामा जाने खतरा बढ्छ । बजार नभई उत्पादनमा मात्र जाँदा व्यवसाय डुब्ने खतरा रहन्छ । अहिलेको अवस्थामा औषधि, खाद्यान्न तथा किराना सामग्री उत्पादनका उद्योगहरु त फाइदामा जालान् तर अरू उद्योगहरु जान सक्दैनन् । अरू उद्योगहरुलाई गाह्रो हुने उपाध्यक्ष अग्रवालले भने । 

निर्वाध उद्योग सञ्चालनका लागि व्यवसायीका तीन सर्त

उद्योगी व्यवसायीहरुले पहिलेझैँ पुनः उद्योगधन्दा सञ्चालन गर्न तीन तत्त्वको आवश्यकता रहेको र सरकारले सोही अनुरूप वातावरण बनाइदिनु पर्ने सर्त अघि सारेका छन् । अहिलेको लकडाउन रहेकै अवस्थामा उद्योगधन्दा कलकारखाना मात्र खुला गरेर उत्पादन नबढ्ने र यसले आर्थ बजारलाई समेत गति नदिने उनीहरुको निक्र्योल छ । त्यसका लागि सरकारले निम्न तीन तत्त्वलाई ध्यानमा राखी आश्यक वातावरण तयार गरिदिनुपर्ने व्यवसायीको माग छ ।

१. कच्चा पदार्थको सहज आपूर्तिः व्यवसायीहरुले अहिलेको अवस्थामा उद्योगहरुले कच्चा पदार्थ सहज रूपमा पाउन नसक्ने र यसले उत्पादनमा प्रतिकूल असर पार्न सक्ने औँल्याएका छन् । लकडाउन रहेको अवस्थामा अन्तरदेशीय आयात निर्यात र आन्तरिक ढुवानीका समस्याका कारण त्यस्तो समस्या आउन सक्ने औँल्याएका हुन् । यसका लागि सरकारले उचित वातावरण तयार गर्नुपर्ने उनीहरुको माग छ । 

२. उत्पादनको बजारः मुलुक आंशिक लकडाउन रहेकै अवस्थामा उद्योगधन्दा मात्र खुला गर्ने र उत्पादन मात्र गर्दा त्यसले बजार नपाउन सक्ने चुनौतीसमेत रहेको व्यवसायीहरुको भनाइ छ । सरकारले बजारमा थोक तथा खुद्रा पसलहरु बन्द नै राख्ने हो भने उद्योग र उत्पादनले बजार नपाउने र उल्टो घाटामा जाने खतरा रहेको व्यवसायीहरुको भनाइ छ । यसका लागि सरकारले बजार व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ ।
३. श्रमिक (कामदारहरु)को व्यवस्थापन : कोरोना भाइरस सन्त्रासकै बीच लकडाउन रहेकै अवस्थामा श्रमिकहरु कारखानासम्म जान डराउने, लकडाउनका कारण आवश्यक यातायात (पास) का कारण जानआउनसमेत नसक्ने अवस्थामा यसले उद्योगलाई प्रभाव पार्ने व्यवसायीहरुको भनाइ छ । त्यसमा पनि अधिकांश कामदार लकडाउनका कारण गाउँघर गएका र आउन नसक्ने अवस्थासमेत रहेकाले यसले लामो समयसम्म काममा प्रभाव पार्ने व्यवसायीहरुको निष्कर्ष छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप