सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

सरकार टिकाउने तीन नेताको के छ रणनीति ?

शुक्रबार, १४ वैशाख २०८१, १६ : ००
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । सरकारमाथि उत्पन्न हुने सङ्कट रोकथामका लागि सत्ता गठबन्धन विकल्पको खोजीमा छ । सत्ता समीकरण फेरिएको २ महिना नुग्दै गठबन्धन धरमराएपछि प्रमुख तीन दलले विकल्पबारे पनि बहस थालेका हुन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सरकार जोगाउने विषयमा छलफल भइरहेको छ ।

सत्ता साझेदार एकीकृत समाजवादीका नेताको बोली र व्यवहारले सरकारको आयुमाथि प्रश्न उठेपछि प्रचण्ड, ओली र लामिछाने सम्भावित कदमबारे सचेत देखिन्छन् । नेताहरूका अनुसार गठबन्धनभित्र अन्तरविरोध बढाउँदै लगेर सरकार छोड्ने एकीकृत समाजवादीको रणनीति छ । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा नयाँ गठबन्धनको बाटो समातेर प्रचण्ड र ओलीलाई दबाबमा राखेको थियो ।

नेपाली कांग्रेससहितको नयाँ गठबन्धनको प्रयास भएपछि नागरिक उन्मुक्तिलाई दिएको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन प्रचण्ड र ओली बाध्य भएका थिए । तर, पनि एकीकृत समाजवादी वर्तमान गठबन्धनसँग लामो सहकार्य गर्ने पक्षमा देखिएको छैन ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रचण्ड सरकार कति दिन टिक्छ भन्ने टुङ्गो नभएको सार्वजनिक रुपमा बोल्दै आएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नियमित संवादमा रहेका नेपालले नयाँ समीकरण निर्माणको परिस्थिति बनिरहेको पार्टीमा बिफ्रिङ गरेको बुझिएको छ ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रचण्ड सरकारको जग हल्लिसकेको बताए । उनले भने, ‘यो सरकारको जग हल्लिसकेको छ । कुनै पनि बेला यो ढल्न सक्छ भन्नेमा हामी जानकार छौँ ।’ एकीकृत समाजवादीले साथ छोडेका दिन प्रचण्डको सरकार नजोगिने उनको भनाइ छ ।

आफूहरूले सरकार छाड्दा सत्ता घटक जनता समाजवादी पनि बाहिरिने एकीकृत समाजवादीका नेताहरूको दाबी छ । लुम्बिनी प्रदेशमा २ जना मन्त्री दिने सहमतिबाट मुख्यमन्त्री ब्याक भएको भन्दै जसपाले प्रदेश सरकार छोडेको छ । जसपाका मन्त्री भण्डारीलाल अहिरले वैशाख ९ मा पदबाट राजीनामा दिएका थिए । यद्यपि उनको राजीनामा स्वीकृत भएको छैन ।

गत फागुन २१ मा गठबन्धन फेरिँदा सरकारबारे जसपाका अध्यक्ष उपेन्द्र यादवले एकीकृत समाजवादीको रणनीति पर्खेको देखिन्थ्यो । एमालेसहितको गठबन्धनमा एकीकृत समाजवादी नजोडिए मधेस प्रदेश गुम्ने भयले जसपाका अध्यक्ष यादव सरकारमा सहभागी हुनेबारे ‘पर्ख र हेर’को रणनीतिमा थिए ।

प्रदेशमा फरक गठबन्धनको अभ्यास गर्दा केन्द्र सरकारबाट बाहिरिनुपर्ने एकीकृत समाजवादीमाथि नैतिक दबाब पर्छ । जसपाले मधेस प्रदेशलाई बढी प्राथमिकता दिएर नयाँ गठबन्धन रोजेको खण्डमा फागुन ३० मा तेस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डकै सरकार जोखिममा पर्न सक्छ । तर, रास्वपा सभापति लामिछाने भने सरकार टिकाउन समस्या नरहेको बताउँछन् ।

‘प्रचण्डजी, केपी ओलीजी र हामी एक ठाउँमा उभिँदासम्म सरकार टिकाउन समस्या हुँदैन । हामीबिच कुनै मतभेद छैन,’ गत शनिबार इलाममा उनले रातोपाटीसँग भने, ‘बाहिर चलेजस्तो केही छैन । सरकार तत्काल तलमाथि हुँदैन ।’

गठबन्धनको बैठकमा माधव नेपालको निरन्तरको असन्तुष्टि रहे पनि त्यसको अर्थ नरहेको उनको भनाइ छ । ‘छलफलमा माधव नेपालजीले असन्तुष्टि पोख्नु हुन्छ । बाँकी सत्ता साझेदार दलमा समस्या छैन । माधव नेपालजीको पार्टीले सरकार छोड्दा सरकारलाई समस्या हुँदैन,’ उनी भन्छन्, ‘उपेन्द्र यादवजीको पार्टी रहेसम्म सरकारलाई बहुमतको कमी हुँदैन ।’

एकीकृत समाजवादी र जसपाले साथ छाडे पनि प्रचण्ड सरकार जोगाउने विकल्प लामिछानेले सुनाए । तर, गत फागुन ३० मा तेस्रो पटक विश्वासको मत लिँदा १५६ सांसदको समर्थन पाएका प्रधानमन्त्री प्रचण्डलाई सरकार जोगाउन एकीकृत समाजवादी र जसपाको साथविना कठिन छ ।

एकीकृत समाजवादीका १० र जसपाका १२ गरी २२ सांसदले साथ छोड्दा प्रचण्ड सरकार अल्पमत पर्छ । सरकार बनाउन १३८ सांसद चाहिनेमा एकीकृत समाजवादी र जसपा बाहिरिँदा वर्तमान गठबन्धनसँग १३४ सांसदमात्र रहन्छन् ।

रातोपाटीसँग उपप्रधानमन्त्री लामिछानेले यसको पनि विकल्प भएको सुनाएका थिए । उनले भने, ‘यहाँहरू बाहिरिँदा चार सांसद भए पुग्छ । जनमत पार्टी छ । लोसपा छ । सत्तामा हुँदा चार–पाँच जना सांसद सजिलै जुटाउन सकिन्छ ।’

कांग्रेसले समीकण भत्काउन प्रयास गरे पनि ओली वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेकोमा लामिछाने विश्वस्त छन् । एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि सरकारको स्थायित्वबारे भ्रम फैलाइएको बताएका छन् ।

पौडेलले भने, ‘सरकार अस्थिर छ भन्ने भ्रमपूर्ण हल्ला चलाइएको छ । संसदमा कसैको पनि एकल बहुमत छैन । यो सरकार अस्थिर छ भन्ने खालको जसरी प्रचार भइरहेको छ । त्यो प्रचारबाट प्रभावित हुनुपर्ने कुनै कारण म देख्दिनँ,’ उनी भन्छन् । एमाले अहिलेकै समीकरणको पक्षमा रहेको भन्दै आफूहरू कुनै दायाँबायाँ नगर्ने पौडेलको भनाइ छ ।

कांग्रेस नेताहरूले रणनीतिक ढङ्गले एमाले र एकीकृत समाजवादीका नेताहरूसँग संवाद थाल्दा प्रचण्ड सरकारको भविष्यमाथि सार्वजनिक रुपमा संशय पैदा भएको देखिन्छ । राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने मत दुवै पार्टीमा जबरजस्त सुनिन्छ ।

फागुन ३० मा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा नै एमाले अध्यक्ष ओलीले सरकारको भविष्यबारे अविश्वासको बिउ रोपेका थिए । कांग्रेससँग सहकार्यका लागि तयार रहेको सन्देश दिएका ओलीले पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठकमा त्यसलाई बल पुग्ने अभिव्यक्ति दिएका थिए ।

रास्वपाका सभापति लामिछानेको सहकारी ठगी प्रकरण र एकीकृत समाजवादीको अनुचित बार्गेनिङले एमालेलाई नयाँ ढङ्गले सोच्ने ठाउँमा पु¥याउँदै लगेको कांग्रेस नेताहरू बताउँछन् । कांग्रेसका एक नेताले भने, ‘पछिल्ला दिनमा एमाले नयाँ ढङ्गले सोच्नुपर्छ भन्ने ठाउँमा पुगेको पाएका छौँ । रविजीको सहकारीको विषय र माधव नेपालजीको बार्गेनिङले नयाँ समीकरण बनाउने विषयमा केही लचक हुनु भएको छ ।’

अध्यक्ष ओलीसँग शीर्ष तहमा कुराकानी भइरहेको बताउने कांग्रेसका एक नेता एमालेका दोस्रो तहका नेतासँग पनि अनौपचारिक संवाद चलिरहेको बताउँछन् । फागुन २१ मा सत्ता विमुख भएपछि एमालेसँग सत्ता सहकार्य गर्ने विषयमा कांग्रेस एकमत देखिन्छ । कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र रेमश लेखकले एमालेसँग सत्ता सहकार्यका लागि लबिङ गर्दै आएका छन् ।

कांग्रेस नेता शेखर कोइरालाले उपनिर्वाचनपछि राजनीतिले नयाँ कोर्स लिने सङ्केत गरेका थिए । सोमबार कोइराला निवास विराटनगरमा रातोपाटीसँग शेखरले उपनिर्वाचनपछि नयाँ परिस्थिति निर्माण हुने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप