सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
खेल

‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’

नेपाली टोलीमा चार खेलाडी थपिए
शुक्रबार, १४ वैशाख २०८१, १८ : २३
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु मैदानमा खेलिने शृङ्खला निकट भविष्यमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका लागि महत्त्वपूर्ण अवसर भएको बताएका छन् ।

कप्तान रोहितले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल भ्रमणमा आएको वेस्ट इन्डिजको ‘ए’ टोलीमा राम्रा खेलाडीहरूको उपस्थिति रहेकाले विश्वकपको तयारीमा त्यसले सहयोग पुर्‍याउने धारणा पनि व्यक्त गरे । 

West Indies-Nepal  (7)

उनले हालै ओमानमा सम्पन्न एसीसी प्रिमियर कपमा भने आफ्नो टोली सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताए । ‘हामीले एसीसी प्रिमियर कपमा सोचेजस्तो प्रदर्शन गर्न सकेनौँ । तर, आईसीसी टी-२० विश्वकपअघि हामीले उत्कृष्ट टोलीसँग अभ्यास खेल खेल्ने मौका पाएको छौँ ।’

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाइले वेस्ट इन्डिजको नेपाल भ्रमणलाई लिएर आफूहरू उत्साही भएको बताए । उनले यसअघि आफूले लामो समय वेस्ट इन्डिजमा काम गरेको स्मरण पनि गरे । उनले वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेल नेपाली खेलाडीका लागि आफूलाई प्रमाणित गर्ने राम्रो अवसर भएको प्रतिक्रिया पनि दिए । 

West Indies-Nepal  (6)

यसैगरी वेस्ट इन्डिज ‘ए’ टोलीका कप्तान रोस्टन चेजले आफ्नो टोली पहिलो पटक नेपाल भ्रमणमा आएको बताउँदै पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाली खेलाडीसँग खेल्न आफूहरू पनि उत्साही भएको प्रतिक्रिया दिए । 

West Indies-Nepal  (9)

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले वेस्ट इन्डिज ‘ए’ विरुद्ध यसअघि घोषणा गरिएको १६ सदस्यीय नेपालीमा चार खेलाडी थप जानकारी दिए । उनले टोलीमा लोकेश बम, सागर ढकाल, विनोद भण्डारी र कमलसिंह ऐरीलाई थपिएको बताए । 

West Indies-Nepal  (4)1

कप्तान चेजले वेस्ट इन्डिज वेस्ट इन्डिजको सिनियर टोलीका खेलाडी हुन् । कप्तान चेजले वेस्ट इन्डिजको सिनियर टोलीबाट टेस्ट, एकदिवसीय र टी-२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ टोलीका अन्य केही खेलाडीले पनि सिनियर टोलीबाट विभिन्न प्रतियोगिता खेलिसकेका छन् ।

नेपाल र वेस्ट इन्डिजबिचको पहिलो खेल शनिबार र दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ । खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।  

West Indies-Nepal  (1)1

पाँच टी-२० खेलको शृङ्खलामा सहभागी हुन वेस्ट इन्डिजको टोली बुधबार काठमाडौँ आइपुगेको हो । वेस्ट इन्डिजको टोलीले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नियमित अभ्यास पनि गरेको थियो ।

वेस्ट इन्डिजविरुद्धको शृङ्खलाका लागि घोषित टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल रहेका छन् ।

यसैगरी वेस्ट इन्डिजको टोलीमा रोस्टन चेज (कप्तान), एलिक एथनाज (उपकप्तान), फाबियन एलन, कादिम एलिन, जोशुआ बिशप, केसी कार्टी, जोन्सन चार्लस, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हेडेन वाल्श रहेका छन् ।

West Indies-Nepal  (1)

आगामी जुनमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो । वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो । नेपालसँगै वेस्ट इन्डिजसले पनि आगामी टी-२० विश्वकप खेल्दैछ । 

आईसीसी टी-२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । आगामी आईसीसी टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । 

उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने टी-२० विश्वकपको समूह ‘सी’ मा रहेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् ।

West Indies-Nepal  (2)

यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो । सो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो । नेपालले आगामी टी-२० विश्वकपको अन्तिम तयारी पनि वेस्ट इन्डिजमै गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप