सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र

भीम रावल, वामदेव गौतम, बाबुराम भट्टराई, राजेन्द्र महतो र मीनेन्द्र रिजालको राजनीतिक भविष्य कस्तो होला !
शुक्रबार, १४ वैशाख २०८१, १९ : १९
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । एमालेका पूर्वउपाध्यक्ष भीम रावलले बिहीबार एमाले परित्याग गर्ने सङ्केत गरे । गोदावरीमा भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा आफूलाई परिचयपत्र समेत उपलब्ध नगराएको भन्दै उनले आफू नयाँ मोडमा पुगेको बताएका थिए ।

‘गोदावरीको अधिवेशनमा उहाँहरूले जुन प्रकारको व्यवहार गर्नुभएको छ । मैले के सोचेको छु भने राजनीतिक जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ । भविष्यमा त्यो मोड कस्तो हुनेछ भन्ने कुरा फेरि बताउने नै छु’, रावलले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा भनेका थिए ।

उनको यो अभिव्यक्तिले एमालेमा अब आफ्नो कुनै स्थान नभएको निष्कर्षमा उनी पुगेको देखिन्छ । कुनै बेला एमालेमा प्रभावशाली रहेका रावल माधवकुमार नेपालका विश्वासिला पात्र थिए ।

२०७५ साल जेठ ३ गते एमाले र माओवादीबिच एकता भई बनेको नेकपामा रावलले प्रचण्ड–माधव समूहमा लागेर अध्यक्ष केपी शर्मा ओलीविरूद्ध अन्तरसंघर्ष चलाएका थिए । २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरेपछि रावलले माधव–झलनाथ समूहसँग मिलेर समानान्तर समिति चलाएका थिए ।

२०७८ भदौ २ गते एमाले विभाजन हुँदा उनी माधव–झलनाथ समूहलाई साथ नदिई एमालेमै बसे । २०७८ साल मंसिरमा भएको एमालेको १० औँ महाधिवेशनबाट ओली सर्वसम्मत रुपमा नेतृत्वमा आउन चाहेका थिए । तर रावलको अडानका कारण पदाधिकारीको निर्वाचन भएको थियो । अध्यक्ष पदमा ओलीसँग प्रतिस्पर्धा गरेका उनी ओलीसँग पराजित भए । त्यही प्रतिस्पर्धा नै रावलका लागि भारी भएको छ ।

२०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा एमाले अछाम जिल्ला समितिले उम्मेदवारमा रावलको नाम सर्वसम्मत रूपमा पठाएको थियो । तर ओलीको ‘इगो हर्ट’का कारण रावलको टिकट खोसियो । ओली–रावलबिच देखिएको अन्तरविरोधका कारण सुदूरपश्चिममा एमालेलाई ठुलै झट्का लाग्यो ।

चुनावी परिणामले समेत यी दुई नेताबिच सम्बन्ध सुधार हुन सकेन । ओलीलाई चिढ्याएको परिणाम रावलले अहिलेसम्म भोगिरहेको विश्लेषण भइरहेको छ । पार्टी विभाजनअघि एमालेमा पटकपटक अवसर पाउने नेतामध्ये रावल एक हुन् । जीवनको उत्तरार्द्धमा उनले नयाँ दल खोल्छन् कि कुनै पार्टीमा प्रवेश गर्छन्, त्यसबारे मुख खोलिसकेका छैनन् ।

वामदेव गौतम

रावलजस्तै एमालेमा पटकपटक अवसर पाएका शक्तिशाली पूर्वउपाध्यक्ष वामदेव गौतम पनि यतिबेला एमालेको राजनीतिबाट किनारा लागेका छन् । तत्कालीन माले हुँदै एमालेको संगठन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका गौतम नेकपा विभाजनसँगै पार्टीबाट अलग भएका थिए । अहिले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक रहेका उनी पुनः नेकपा बिउँतिनेमा आशावादी देखिन्छन् ।

२०५४ सालसम्म वामदेवका शक्तिसामु ओलीसहित तत्कालीन महासचिव माधव र पूर्वअध्यक्ष झलनाथ खनाल हायलकायल थिए । महाकाली सन्धिमा ओली–माधवले सहमति गरेपछि आक्रोशित रहेका गौतमले एमालेका झण्डै आधा शक्ति लिएर पार्टी विभाजन गरी माले गठन गरेका थिए । तर २०५६ सालमा भएको आम निर्वाचनमा माले शून्य सिटमा समेटिएपछि उनी फेरि एमालेमै फर्किएका थिए । पुनरागमनपछि पनि पार्टीभित्र उनको शक्तिमा कुनै कमी आएन । उनले पार्टी र राजकीय पदमा पटकपटक अवसर पाए ।

एमालेको बुटवलमा भएको आठौँ महाधिवेशनमा ओलीलाई हराउन गौतमको महत्त्वपूर्ण भूमिका रह्यो । काठमाडौँमा भएको नवौँ महाधिवेशनमा ओलीसँग मिलेर माधवलाई हराउन उनी सफल भएका थिए । ओली शक्तिमा आएपछि निरंकुश शैली हावी भएको भन्दै फेरि माधव–झलनाथ खनालसँग सहकार्य गरेका गौतम नेकपा गठन भएपछि ओली र प्रचण्ड–माधव क्याम्पमा ओहोरदोहोर गरिरहे । नेकपा विभाजनपछि उनी ओली, प्रचण्ड, माधव–झलनाथ कुनै समूहमा पनि लागेनन् ।

गौतमको अभियानलाई उनीपक्षीय केन्द्रीय नेताहरूले समेत साथ दिएनन् । फागुन २१ गते बालुवाटारमा एमाले र माओवादीबिच फेरि नयाँ समीकरण बनेपछि हौसिएका उनले आगामी दिनमा के गर्ने भन्ने स्पष्ट योजना भने अघि सारेका छैनन् ।

बाबुराम भट्टराई

सशस्त्र माओवादी विद्रोहका योजनाकार रहेका पूर्वप्रधानमन्त्री एवं माओवादीका पूर्वउपाध्यक्ष डा.बाबुराम भट्टराईले वैकल्पिक नयाँ शक्ति बनाउने लक्ष्यसहित २०७२ साल असोज ९ गते पार्टी परित्याग गरेका थिए । त्यसयता ९ वर्षको दौरानमा भट्टराई जति बरालिए पनि जहाँको त्यहीँ छन् । युद्धकालदेखि शान्ति प्रक्रियासम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कहिले मित्रता र कहिले शत्रुतापूर्ण सम्बन्ध रहेका भट्टराई अहिले समाजवादी आन्दोलनको अभियानमा लागेका छन् ।

युद्धकालमा प्रचण्डसँग शक्ति सङ्घर्ष चर्किंदा उनी कारबाहीमा परेका थिए । २०६२ मा शान्ति प्रक्रियामा अवतरण भइसकेपछि पनि विचार, सिद्धान्त र कार्यदिशालाई लिएर प्रचण्ड–बाबुरामबिच निकै सङ्घर्ष भएको थियो । सङ्घर्षकै क्रममा २०६८ को धोबीघाट गठबन्धनले बाबुरामलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।

माओवादी छाडेपछि सङ्घीय समाजवादी, जनता समाजवादी हुँदै अहिले नेपाल समाजवादी गठन गरेका छन् । २०७९ को निर्वाचनअघि फेरि माओवादीसँग एकता गर्ने गरी भट्टराईले आफ्नो पार्टीलाई माओवादीकै चुनाव चिह्नका साथ निर्वाचनमा सहभागी गराएका थिए । निर्वाचनपछि प्रचण्डसँग बाबुरामको सम्बन्ध राम्रो हुन सकेन ।

चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी र नेसपाका अर्का अध्यक्ष महिन्द्रराय यादवबिच एकता गर्ने सहमति भएपछि उनी थप एक्लिएका छन् । आफूलाई बाइपास गरी एकताको सहमति गरेकोमा निकै आक्रोशित भएका बाबुराम यतिबेला माओवादीसँग एकता खारेज गरी महाधिवेशनको तयारीमा जुटेका छन् ।

राजेन्द्र महतो

लामो समय नेपाल सद्भावना पार्टीमा सक्रिय रहेका राजेन्द्र महतो जीवनको उत्तरार्द्धमा पार्टीविहीन भएका छन् । जसपा हुँदै पछिल्लो समय लोसपाका वरिष्ठ नेता रहेका महतोले अध्यक्ष महन्थ ठाकुरसँग विद्रोह गरी गत फागुन १४ गते पार्टी परित्याग गरेका थिए ।

पार्टी पार्टीजस्तो नै भएन, यसरी पार्टी नचल्ने भन्दै उनी मधेसदेखि पहाडसम्मका शोषण, उत्पीडन, अन्याय र अत्याचारमा परेका सबै वर्ग र समुदाय एकजुट पार्ने अभियानमा लागेका छन् । पार्टीबाट अलग भएपछि उनले राष्ट्रिय मुक्ति क्रान्ति अभियान सञ्चालन गरिरहेका छन् । २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–२ बाट उम्मेदवार रहेका उनी महिन्द्र राय यादवसँग पराजित भएका थिए ।

मीनेन्द्र रिजाल

डा. मिनेन्द्र रिजालले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा पराजित भएपछि नैतिकताको कारण देखाउँदै २०७८ पुस १ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा रक्षामन्त्रीबाट राजीनामा दिएका थिए । डा. शेखर कोइराला समूहबाट महामन्त्रीमा उठेका उनी भारी मतान्तरले पराजित भएका थिए ।

देउवालाई टक्कर दिएकै कारण उनले २०७९ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा टिकट नपाएको चर्चा चलेको थियो । महाधिवेशनमा पराजित भएको डेढ वर्षपछि गत वैशाखमा उनलाई देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । कांग्रेसभित्र प्रभावशाली नेता रहेका उनी धेरै समय देउवा निकट भएर काम गरेका थिए । कांग्रेसको १२ औँ महाधिवेशन ताका देउवा क्याम्प छोडी उनी कोइराला क्याम्पमा आएका थिए । २०७२ सालमा सभापति सुशील कोइरालाको निधन भएपछि उनी फेरि देउवा क्याम्पमै फर्किएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप