सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसाय दर्ता सरल र एकद्वार प्रणाली बनाउन पोखराका व्यवसायीको माग

बिहीबार, ०५ चैत २०७७, २० : १८
बिहीबार, ०५ चैत २०७७

पोखरा । सरकार उद्योग व्यवसाय मैत्री बन्नुपर्ने पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरू बताएका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना र पोखरा उद्योग वाणिज्य संघको समन्वयमा भएको कार्यक्रमा व्यवसायीले उद्योग व्यवसाय दर्ता तथा बन्द गर्ने प्रावधानहरु सरल रुपमा हुनुपर्ने बताएका हुन् ।

उनीहरुले यी कामहरु एकद्वार प्रणालीमार्फत हुनुपर्ने माग पनि गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले उद्योग÷व्यवसाय दर्ता र खारेज गर्दा राखिएका बाध्यकारी प्रावधानहरुलाई सरल बनाउनु पर्ने माग गरे । उनले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा व्यवसायीहरु दोहोरो करको मारमा पर्ने गरेको पनि जिकिर गरे ।

‘व्यवसायीहरु कर तिर्न र आफ्नो व्यवसाय दर्तालगायत खाता पाता चुस्त–दुरुस्त राख्न चाहन्छन्’,उनले भने,‘ तर,यसको लागि बाध्यकारी नियमहरु बाधक छन् ।’

व्यवसाय दर्ताको लागि अनिवार्य घर भाडामा लिएको सम्झौतापत्र चाहिने, एउटा कार्यालयबाट अर्को कार्यालयमा जाँदा नयाँ प्रक्रिया सुरु गर्नुपर्ने जस्ता प्रक्रियामा सुधार गरिए धेरैभन्दा धेरै व्यवसायीलाई करको दायरामा ल्याउन सकिने पनि उनले बताए । उनले पोखरा उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सहकार्य गर्न तयार रहेको पनि बताए । 

गण्डकी प्रदेश उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक नारायण आचार्यले गण्डकीमा हाल ४५ हजार २९ वटा साना व्यवसाय मात्र वैधानिक रुपले दर्ता भएको बताए ।

गण्डकीमा दर्ता भएका ठूला तथा मझौला उद्योग÷व्यवसायको संख्या ७५४ रहेको छ । उनका अनुसार औद्योगिक व्यवस्थापन नियमावली २०७६ अनुसार उद्योग दर्ता गर्ने निकाय संघ सरकारको उद्योग विभाग र प्रदेश मातहतको घरेलु तथा साना उद्योग कार्यालय नै हो । स्थानीय तहलाई उद्योग दर्ताको अधिकार छैन । स्थानीय निकायहरुले बजार व्यवस्थापन भने गर्न सक्छन् । 

निर्देशक आचार्यले अहिले पनि गण्डकी क्षेत्रमा धेरै व्यवसाय दर्ता नभएको बताउँदै प्रदेश सरकारले बनाएको औद्योगिक व्यवसाय ऐन २०७५ कार्यान्वयनमा आउनासाथ दर्ता प्रक्रिया सुरु गरिने जानकारी दिए ।
संघ सरकारले बनाएको औद्योगिक व्यवसाय ऐन २०७६ सँग बाझिएकाले प्रदेशले आफ्नो ऐन कार्यान्वयनमा ल्याउन नसकेको हो । 
उनले आउँदो आर्थिक वर्षमा कम्पनी रजिस्ट्रारको कार्यालय र गुणस्तर नाप्ने प्रयोगशाला संचालनमा आउने जानकारी पनि दिए । 

घरेलु तथा साना उद्योग कार्यालय पोखराका प्रमुख दिनेश प्रसाद आचार्यले घरेलु कार्यालयले वाणिज्यको २ करोडसम्म र उद्योगतर्फ १० करोड पूँजी भएको फर्म घरेलुमै दर्ता गर्न सकिने जानकारी दिए ।

उनका अनुसार आयात–निर्यात व्यवसाय दर्ताको अधिकार संघ सरकारसँग मात्रै रहेको छ भने साना व्यवसायहरु प्रदेशमै दर्ता गर्नुपर्छ । उनले पनि स्थानीय तहले व्यवसाय दर्ता गर्न नपाउने प्रष्ट पारे । 

यद्यपि, केही स्थानीय तह आफैले व्यवसाय दर्ता गर्ने गरेको भने उनले स्वीकारे । उनका अनुसार घरेलुमा दर्ता गर्नको लागि थोक व्यापारको हकमा ६० लाख रुपैयाँ पूँजी अनिवार्य गरिएको छ ।

फेन्सी चलाउने भए १० लाख पूँजी चाहिन्छ । व्यवसायीहरुले चाहँदा व्यवसायको पूँजी घटाउन पाउनुपर्ने माग सुनेपछि उनले भने,‘नीति नियममा केही अप्ठेराहरु छन् ।’  उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत प्रदीपकुमार रेग्मीले व्यवसाय मैत्री नभएका ऐन– कानून सच्याउन निजी क्षेत्रले नै पहल गर्नुपर्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप