मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कार्तिक १ देखि ललितपुरमा जोरविजोर प्रणाली लागु हुने

मङ्गलबार, ३१ असोज २०७४, १३ : ४६
मङ्गलबार, ३१ असोज २०७४

ललितपुर । जाममुक्त ललितपुरको अभियान शुरु गरेको ललितपुर ट्राफिक प्रहरीले जिल्लाको सार्वजनिक यातायातमा जोरविजोर प्रणाली लागु गर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको निर्देशनमा ललितपुर ट्राफिक प्रहरीले कार्तिक १ गतेदेखि जोरविजोर प्रणालु लागु गर्न लागेको हो ।

यो प्रणाली लगनखेलदेखि गोदावारी र तौखेल जाने सार्वजनिक यातायातमा लागु हुनेछ ।

ललितपुर ट्राफिक प्रहरीका अनुसार सो क्षेत्रमा सवारी साधानको अत्याधिक चापको साथै नयाँ बस्ती बढ्ने क्रम तीव्र रहेको हुँदा त्यसक्षेत्रमा दैनिक जाम हुने र दुर्घटनाको संख्या पनि बढ्को हुँदा यस्तो कदम चाल्न लागिएको हो ।

यो क्षेत्रमा ९६ वटा सार्वजनिक यातायात गुड्ने गरेका छन् । कार्तिक एक गतेदेखि एक हप्तासम्म बिजोर नम्बर मात्र सो क्षेत्रमा सञ्चालन हुनेछन् । हरेक हप्ता यो परिवर्तन हुनेछ ।

ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुले यसले सो क्षेत्रमा ट्राफिक जाम कम गर्ने र गन्तव्यसम्म पुग्न यात्रुहरुलाई सजिलो हुने आशा व्यक्त गरेका छन् ।
लखनखेलबाट गोदावारी र तौखेल जाने यात्रुहरुले सधैँ सास्ती बेहोर्दै आउनुपरिरहेको थियो । साँझ परेपछि गोदावारीसम्म जाने गाडीले गन्तव्यसम्म जान नमान्ने गरेका थिए । तौखेल वा बीचबाटोमै रोकेर उनीहरुले गाडी फर्काउने गरेका थिए । कहिलेकाहीँ यात्रुहरु ५ किलोमिटरसम्म हिँड्न बाध्य हुन्थे ।

‘माइक्रोहरुले जहाँ यात्रुको भीड देख्यो, त्यहाँसम्म मात्र गाडी लाने र बीच बाटोबाटै गाडी फर्काउने गरेको गुनासो थियो,’ हाछेथुले रातोपाटीसँग कुरा गर्दै भने, ‘यसले गर्दा यात्रुहरु ट्यांकरमाथि बसेर वा मोटरसाइकल वा अन्य सवारीसँग लिफ्ट मागेर र हिँडेर जाने बाध्यता थियो । विशेष गरेर महिला र जेष्ठ नागरिकालाई अप्ठ्यारो थियो ।’

उनका अनुसार माइक्राले गाडी बिग्रियो भन्ने जस्ता बाहना बनाउने गरेका थिए ।

अब भने बिहान ५ बजेदेखि सात बजेसम्म तोकिएको गन्तव्यसम्म अनिवार्य रुपमा सवारी चलाउनुपर्नेछ । बीच बाटोबाट गाडी फर्काउन पाइनेछैन ।

त्यस्तै, सार्वजनिक यातायात मान्छे भरिएपछि मात्र गन्तव्यतर्फ जाने गरेकाले बीचबाट चढ्ने यात्रुले कहिले पनि सिट नपाउने समस्या थियो ।

हाछेथुले भने, ‘अब प्रत्येक २ मिनेटको अन्तरालमा गाडीले स्टेसन छाड्नुपर्नेछ ।’

यी नियम पालना भए–नभएको अनुगमन यातायत व्यवसायी समिति र ट्राफिक प्रहरीले संयुक्तरुपमा गर्ने सहमति समेत भएको छ ।

ललितपुरलाई जाममुक्त शहर बनाउने प्रयास थालेको ललितपुर ट्राफिक प्रहरीले यसअघि ललितपुर बसपार्क सुधारको योजना कार्यान्वायन गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप