मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी

शुक्रबार, १४ वैशाख २०८१, २२ : ५३
शुक्रबार, १४ वैशाख २०८१

मनहरी । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनाल आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी भएका छन् । उनले पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा दिएका हुन् ।

उमेरले ५० वर्ष पूरा भएका खनालले हेटौँडा–११ स्थित निर्मल बहुमुखी क्याम्पस बस्तीपुरबाट परीक्षा दिएका हुन् । उनी विद्यालय पोसाक लगाएर आज बिहानै परीक्षाका लागि परीक्षा केन्द्रमा पुगेका थिए ।

उनले अब पढाइलाई निरन्तरता दिने बताए । उनले भने, “मेरो दुई छोरा, श्रीमती र आमाको साथमा बस्छु, परिवारको साथ सहयोगले नै मैले पढाइतर्फ लागेको हूँ ।” उनको जेठो छोरा सिभिल इञ्जिनीयर छन् र कान्छो छोरा विएस्सी सकेर बसेका छन् ।  

वडाध्यक्ष खनाल बाल जीवन ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका छन् । उनले अध्यक्ष भएपछि सो विद्यालयमा ११ र १२ कक्षा सञ्चालन गरेका हुन् ।  विसं २०५६ मा प्रवेशिका परीक्षा पास गरेका खनालले पढ्ने चाहना र इच्छा हुँदाहुँदै घरको परिस्थितिले गर्दा पढाइलाई निरन्तरता दिन नसकेर पढाइलाई बीचमै छाडेका थिए ।  

उनले भने ,“विसं २०७८ सालमा कक्षा ११ भर्ना भएँ, ११ पास पनि गरेँ, राम्रोसँग पढेर १२ पास पनि गर्छु । ” दोस्रो पटक पनि वडाध्यक्षमा निर्वाचित खनाल नेपाली कांग्रेसको क्रियाशील सदस्य हुन् । राजनीतिकसँगै सामाजिक कार्यमा क्रियाशील रहेका खनाल मनहरीमा लोकप्रिय नेता मानिन्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप