शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तकमैया यसरी लागे सामूहिक माछापालनमा

शुक्रबार, २९ मङ्सिर २०७४, १९ : १०
शुक्रबार, २९ मङ्सिर २०७४

शेरबहादुर सिंह 

भीमदत्तनगर – कञ्चनपुरको बेलौरी नगरपालिका– ५ का मुक्तकमैया सामूहिक रुपमा माछापालन गरेर आम्दानी गरिरहेका छन् ।  यहाँ करिब आठ हेक्टरमा रहेको प्राकृतिक ताललाई व्यवस्थित गरेर सोभाताल मुक्तकमैया शिविरमा बस्दै आएका ७९ किसानले व्यावासायिक रुपमा माछापालन गर्दै आएका छन् । 

विसं २०६० देखि नै सोभातालमा माछापालन गरिए पनि व्यवस्थित नहुँदा आम्दानी मनग्य हुनसकेको थिएन । विभिन्न दातृ निकायले पोखरी स्तरोन्नती गर्न तथा डिल निर्माणलगायत प्राविधिक सहयोग गरेपछि मुक्तकमैयाले विगत केही वर्षयता समूहमार्फत माछापालन गर्न थालेका हुन् । 

सोभाताल व्यावसायिक माछापालन समितिका कृपाराम चौधरीका अनुसार पोखरीको डिल बनाउन र पानीका लागि मोटर, बोरिङका लागि दातृ निकायको सहयोग पाएपछि मुक्तकमैयाले श्रमदान गरेर तालमा माछापालन गर्न मन लगाएका हुन् । चौधरीले भने, ‘विगत वर्षमा वार्षिक रु तीन लाखसम्म नाफा भएको थियो ।’ 

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले समूहमार्फत मुक्तकमैया किसानलाई माछापालनमा सहयोग गर्दै आएको छ । ‘पहिले रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुन्थ्यो,’ चौधरीले भने, ‘यस याममा रु १० लाखको माछा बिक्री गर्ने योजना बनाएका छौंँ ।’

पोखरीको डिलमा कागती खेतीका लागि बाँस रोपिएको छ । स्थानीय माछापालन व्यवसायमा आवद्ध अर्का मुक्तकमैया राधेश्याम चौधरीले तालमा माछापालनका लागि मुक्तकमैया बस्तीमा किसान अग्रसर हुँदै गइरहेको बताउँछन् ।  

‘चैतसम्म माछा बेच्ने समय हो,’ उनले भने, ‘दैनिक माछा बिक्री भइरहेको छ ।’ माछापालनमा आवद्ध किसानले बजारको समस्या नरहेको बताएका छन् । अहिले माछा प्रतिकिलो रु २५० देखि रु ३०० सम्ममा बिक्री भइरहेको छ । 

आम्दानीको रकम समूहमा आवद्ध किसानलाई मुनाफा बाड्ने गरी उनीहरुले योजना बनाएका छन् । जिल्ला कृषि विकास कार्यालयले २६ हजार तथा एनएनएसडब्लुएले २१ हजार माछाका भुरा सो समूहलाई उपलब्ध गराएको छ । 

माछापालन गरेर आयमूलक काममा अग्रसर मुक्तकमैयाले बेलौरी नगरपालिकालाई तालको अत्याधिक भाडा तिर्नु परेको गुनासो गरेका छन् । उनीहरुले तालको ठेक्काबापत वार्षिक रु एक लाख ५० हजार नगरपालिकालाई तिर्दैआएका छन् । 

‘मुक्तकमैयाको आयस्तर उकास्न ताल समुदायलाई नै हस्तान्तरण गरिदिए हुन्थ्यो,’ स्थानीयवासी कृपाराम चौधरीले भने, ‘नगरपालिकाले वार्षिक रुपमा समूहलाई ठेक्का दिएर रकम लिइरहेको छ ।’

त्यसैगरी, बेलौरी नगरपालिका–३ का किसानले पनि समूह बनाएर व्यावसायिक माछापालन थालेका छन् । यहाँको कर्णाली टोलका स्थानीयवासीले कर्णाली व्यावसायिक माछापालन समूह बनाएर माछापालन थालेका हुन् । 

समूहका कोषाध्यक्ष सावित्रा रावलका अनुसार उनीहरुले समूहमार्फत डेढ बिघा खेतमा पोखरी निर्माण गरेर माछापालन गरिरहेका छन् । यसका लागि एनएनएसडब्लुएले प्राविधिक सहयोग गर्दैआएको छ । 

‘शुरुवातमा रु ६ लाख लगानी गर्यौँ’, उनले भने, ‘अब माछा बिक्रीका लागि तयार हुँदैछन् ।’ माछापालनका साथै किसानले सामूहिक रुपमा तरकारी खेतीसमेत गरिरहेका छन् । सो समूहमा ४५ परिवार आवद्ध छन् । उनीहरुले मासिक रु ५० बचत गर्दै आएका छन् । एनएनएसडब्लुएले बेलौरीमा किसानलाई व्यावसायिक बनाउन तरकारी खेती, माछापालन, बंगुरपालन र च्याउखेतीमा सहयोग गरिरहरहेको छ । 

एनएनएसडब्लुले समुदायमा आधारित जीविकोपार्जन तथा दिगो खाद्य सुरक्षा कार्यक्रमअन्तर्गत आर्थिक र प्राविधिक सहयोग गरिरहेको कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभयो । उनले सोभाताल र कर्णाली टोलमा माछापालन तथा च्याउखेतीका लागि बेलौरी नगरपालिकाका १३ वटा स्थानमा संस्थाले सहयोग गर्दै आएको बताए । 

‘हामीले गर्ने सहयोग आर्थिक अनुदानदेखि प्राविधिकसम्म हो,’ संयोजक सुनारले भने, ‘उत्पादित बस्तुको बिक्री वितरणका लागि सम्बन्धित निकायसित छलफल गरिहेका छौँं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप